काठमाडौँ– यतिबेला इलाम चुलाचुली गाउँपालिका–३ स्थित शिवओरकमा नाटक महोत्सवको रौनक छाइरहेको छ ।
चुलाचुली रङ्गमञ्चले सोमबारदेखि शुरु गरेको दुई दिने ‘तेस्रो चुलाचुली पाठशाला नाट्य महोत्सव २०८१’मा नाटक मञ्चनसँगै, नाट्य क्षेत्रकै विषयमा बहस तथा खुल्ला प्रस्तुतिहरु भएका छन् ।
महोत्सवको यो तेस्रो संस्करण हो । वि.सं. २०७६ मा शुरु गरिएको नाट्य महोत्सव दाेस्रोपटक २०७९ मा गरिएको थियो ।
सोमबार उद्घाटन सत्रमा चार वटा नाटक मञ्चन र एक खुल्ला प्रस्तुति गरिएको थियो ।
सोमबार चुलाचुलीकै नाटक ‘भुमरी’, हेटौँडाबाट कलाक्रान्ति नाट्य समूहले ‘डार्क स्याडो’ चुलाचुली गाउँपालिकाबाट पञ्चबुद्ध एकाडेमीले ‘मणी लुगा’ र मोरङबाट सुविजिमुर मेरमोरियल माविले ‘उ जुनेली’ मञ्चन गरिएको थियो ।
त्यस्तै, मङ्गलबार खुला प्रस्तुतिहरुसँगै र ‘रङ्गमञ्चको विश्वव्यापीकरणमा ग्रामीण सौन्दर्यको खोजी’ विषयमा रङ्गकर्मीहरु सोमनाथ खनाल, अनिल सुब्बा, सुमन कुइकेलबीच अन्तरसंवाद कार्यक्रम हुने जनाएको छ ।
संवादको सहजीकरण अर्का रङ्गकर्मी सिजन दाहालले गर्नेछन् । मङ्गलबार नै बालज्योति माविले ‘द रुट’, जनता माविले ‘वातावरण’ चुलाचुली गाउँपालिकाबाट अमृत बोर्डिङ स्कूलले ‘द ल्याण्ड अफ मङ्की’ र मोरङबाट रियालन्स माविले ‘मौनताको कथा’ मञ्चन गरिनेछन् ।
महोत्सवमा आर्ट, फोटो, नाटक कार्यशाला, प्रदर्शनी र मौलिक सांस्कृतिक झाँकी प्रदर्शन समेत गरिएको छ ।
भूमि, कला र पर्यावरणलाई मिश्रण गरेर खुल्ला ठाउँमा नाट्य उत्सव गरिएको हो ।
तस्वीरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया