मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जदौ हजुर : कर्णालीको पीडा

‘छिमेकी देश चन्द्र पुगे, कति छ र दूरी

थाकेको छ कर्णाली, सिटामोल कुरी ।’

राजनीतिक हिसाबले हेर्ने हो भने देशमा ठूला ठूला परिवर्तनहरु भए । समय फेरियो, सत्ता फेरियो सँगै थुप्रै नीति नियमहरु पनि फेरिए । माथिका गीतका हरफहरुले भनेझैं कर्णालीको दुःख र पीडा फेरिएनन् । आम नागरिकहरुलाई अझै सिटामोल पाउन कठिन छ । झाडापखालामा समेत सामान्य स्वास्थ्य उपचार नागरिकले पाइरहेका छैनन् ।

राजधानीले नदेखेको कर्णालीको पीडालाई राज्य सत्तासम्म पुर्‍याउन गायक, सङ्गीतकार तथा गीतकार रतन देवकोटाले सङ्गीतको बाटो समाएका छन् । उनकै शब्दमा भन्दा ‘जदौ हजुर’ एउटा गीत मात्र नभएर कर्णालीको पुकार हो । हालै मात्र सार्वजनिक भएको गीतमा देवकोटाकै शब्द, सङ्गीत र स्वर समावेश छ । उनलाई स्वरमा साथ सङ्गीता बडुवाल, लक्ष्मी नेपाली, रोहित देउवा र जेपी रेग्मीले दिएका छन् । भिडियोको परिकल्पना तथा निर्देशन पनि उनकै रहेको छ । हुड्के प्रस्तुतिमा भने कलाकार मिलन कार्की छन् । उनको प्रस्तुतिमा कर्णालीको हुड्केली संस्कृति मात्र होइन, त्यहाँको पीडा समेत झल्केको छ ।

देवकोटाले आफ्नो साङ्गीतिक कोसेलीमार्फत अभाव र दुःख झेलिरहेको कर्णालीको न्याय, एकता र परिवर्तनको आशा राखेका छन् । यस अघि पनि साङ्गीतिक फिल्म ‘हिरुलाल’मा पनि उनले विदेशिन बाध्य कर्णालीको पीडालाई सुनाएका थिए । सुदुरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित रहेको ठाडी भाका र देउडालाई सम्मिश्रण गरेर प्रस्तुत गरिएको उक्त साङ्गीतिक फिल्मले धेरैको मन छोयो । यस पटक भने देवकोटा कर्णालीको दुःखको कथा मात्र नभएर सुदूरपश्चिमको लोकप्रिय नाच हुड्केलीलाई पनि साथै बोकेर आएका छन् ।

आम सङ्गीतप्रेमीहरुले गीतमार्फत कर्णालीको दुःख त बुझ्छन् नै साथै हुड्केको भाका र शैलीलाई समेत नियाल्न पाउँछन् । विशेषत सुदूरपश्चिमी भेगमा नाचिने हुड्केली त्यहाँको मौलिक नृत्य हो । जसमा राजामहाराजाको वीर गाथा, पौराणिक कथालाइ विभिन्न उत्सव तथा पर्वहरुमा सुनाउने गरिन्छ । देवकोटाका अनुसार कर्णालीको सुख र दुःख सबैलाई हुड्केलीमा सुन्न र हेर्न सकिन्छ । ‘हुड्को बाजाको धुनमा हुड्के भाका र लयमै जदौ हजुर किन त ?’ भन्ने जिज्ञाशामा देवकोटा भन्छन्, ‘हुड्के त कर्णालीको पहिचान हो । यसमा मनोरञ्जन मात्र होइन हाम्रो दुःखसुखको सबै कथाहरु आउँछन् । तर यसलाई बजाउन धेरैले छोडिसके । लोपोन्मुख अवस्थामा रहेको यसैमार्फत कर्णालीको कथा भन्ने प्रयास गरेको हुँ ।’

आमाले बाल्यकालमै हुड्को बजाएर विवाह गर्नुपर्छ भन्ने उनी सम्झन्छन् । सानैदेखि उनले हुड्केको भाका सुने । यसप्रति उनको विशेष प्रेम छ । साङ्गीतिक फ्युजनकै लयमा हुड्केली संस्कृतिलाई आम मानिसमाझ पस्कन पाएकोमा उनी निकै सन्तुष्टि छन् । उनी चाहन्छन्, ‘कर्णालीको दुःखमा पनि मौलिक संस्कृति नमरोस् र सधैं कालजयी बनोस् ।’ उनी भन्छन्, ‘जदौ हजुरकै लयमा कर्णालीको कथा भन्दैछु । यसलाई सुन्नुपर्ने राज्यको निकाय र सत्ताले सुनोस् । समृद्ध कर्णालीका लागि राज्यको ध्यानाकर्षण र आर्थिक लगानी निकै आवश्यकता छ ।’

कर्णालीमा जति विकास र प्रविधि पुग्यो, त्यसलाई समयले पुर्‍याएको देवकोटाको बुझाइ छ । कर्णालीबासीहरु अझै काला पहाड धाइरहेका नै छन् । काला पहाडको भोगाइ र अनुभूतिहरु उनको बाजेबराजुदेखि उनीसम्म पनि छ । 

काला पहाडबाट केही माथि स्तर बनाएकाहरु साउदी, कतार, मलेसिया जस्ता खाडी मुलुकहरुमा धाउन थालेका छन् । दलित, निम्न आर्थिक स्थिति भएका किनारात्कृतहरुको अवस्था उनी उस्तै देख्छन् । केही सङ्ख्यालाई छोड्ने हो भने तुलानात्मक रुपमा कर्णालीमै दुःख नै रहेको उनी सुनाउँछन् । उनका अनुसार विभेद, गरिबी, भोक, रोग र शोकमा अझै पनि कर्णाली माथि उठ्न सकेको छैन । 

बाल्यकालदेखिका समग्र भोगाइलाई आधा वर्ष भन्दा पनि बढी समय लगाएर ल्याएको उनको साङ्गीतिक कोसेलीका परिवेश कर्णाली नै होस् भन्ने उनी चाहन्थे । तर यसमा लाग्ने आर्थिक लगानीकै कारण उनले यसको परिवेशलाई शहरकै एउटा कोठामा सीमित गरे । शहरभित्रै पसेर शहरकै एउटा कोठामा बसेर सुनाएको हुड्केको ध्वनी सत्तासम्म पुगोस्, उनको ध्येय यति मात्र छ ।

भिडियाे :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?