मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकाबाट ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ अडिसन सुरु

काठमाडौँ – सबैभन्दा धेरै पुरस्कार राशि भएको विश्वस्तरीय नेपाली गायन र नृत्यका रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन–२ को अडिसन अमेरिकाको ओहायोबाट सुरु भएको छ ।

विश्वका पाँच महादेशअन्तर्गत १२ देशका विभिन्न  १४ सहरमा तय गरिएका यी अडिसनको सुरुआत अमेरिकाको कोलम्बसबाट जनवरी २५ र २६ मा भएको छ । अमेरिका र क्यानडाका नेपाली गायन तथा नृत्यका प्रतिभा सम्मिलित एक समारोहबीच आयोजक संस्था इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले शुभारम्भ गरेका थिए ।

विश्वभर छरिएर रहेका नेपाली कलाकारबीच प्रतिस्पर्धा गराइने यी दुवै शोका विजेताले रु एक करोड, उपविजेताले रु २५ लाख र तेस्रो हुनेले रु १० लाख पुरस्कार पाउनेछन् । शुभारम्भका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै फाउन्डेसनका अध्यक्ष अधिकारीले संसारको जुनसुकै कुनामा बसे पनि आफ्नो मौलिक संस्कृतिलाई जीवन्त राख्न प्रयत्न गरिरहनुपर्ने बताए। उनले नेपालीको अमूल्य संस्कृतिले नै आफूहरुलाई नेपाली बनाएको भन्दै यसलाई जोगाउन विश्वस्तरीय दुई शो सुरु गरिएको जानकारी गराए ।

नेपालीको संस्कृतिलाई गीत, सङ्गीत र नृत्यका माध्यमबाट अर्को पुस्तासम्म पुस्तान्तरण गर्ने, यही माध्यमबाट नेपालीको एकतालाई संसारभर मजबुत पार्ने र जहाँसुकै बसे पनि नेपालीलाई नेपालसँग जोड्ने उद्देश्यले गैरनाफामूलक संस्था फाउन्डेसनले यी शो आयोजना गर्दै आएको उनले जानकारी दिए । 
    
अमेरिकाबाट सुरु भएको अडिसन युरोपका लन्डन र पोर्चुगल, जापानको टोकियो, चीनको हङकङमा फेब्रुअरी १५ र १६ मा हुँदैछ भने अष्ट्रेलियाको सिड्नीमा फेब्रुअरी २३, थाइल्यान्डको बैङ्कक, युएईको दुबईमा फेब्रुअरी २२ र २३ मा हुने जानकारी  दिइयो । त्यसैगरी, कतारको दोहामा फेब्रुअरी २१ मा तथा भारतको मुम्बईमा मार्च १ र २ मा अडिसन हुनेछन् । 

यस्तै भारतको सिलगडीमा मार्च ८ र ९ मा अडिसन सम्पन्न गरेपछि नेपालका विभिन्न चार सहर विर्तामोड, पोखरा, नेपालगञ्ज र काठमाडौँमा अडिसन सम्पन्न गरी संसारभरबाट छानिएका प्रतिभालाई फाउन्डेसनले आफ्नै खर्चमा नेपाल लैजाने र बाँकी प्रतिस्पर्धालाई अघि बढाउने छ । दुवै शो नेपाल टेलिभिजनबाट प्रसारण गरिने जानकारी पनि कार्यक्रममा दिइएको थियो ।

अमेरिका र क्यानडाका गीत तथा नृत्यका ६० भन्दा बढी प्रतिभाले भाग लिएको सो अडिसनबाट गीततर्फ छ र नृत्यतर्फ पाँचजना छनोट गरिएको छ । अमेरिकाको फिल्ड अडिसनका लागि निर्णायकमा गायनतर्फ वरिष्ठ सङ्गीतकार सुशील विश्वकर्मा, गायकहरू केशव पौडेल, अर्जुन रसाइली र सङ्गीतकार मुस्कान बलम्पाकी मगर तथा नृत्यतर्फ नायक दिलीप रायमाझी, शङ्कर विसी, रुपेश उप्रेती र पार्वती राई रहेका छन् । 

कार्यक्रममा अध्यक्ष अधिकारीले फाउन्डेसनको संस्कृति विभागको प्रमुखमा पेन्सिलभेनिया निवासी ओमराज गुरुङलाई नियुक्त गरिएको जानकारी पनि दिए । मेरो डान्स युनिभर्सको अमेरिका अडिसनका दिन इन्ट्रा डान्स स्कुल कोलम्बसका विद्यार्थीले समेत आकर्षक नृत्य देखाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?