काठमाडौँ– यतिबेला मुक्कुमलुङ (पाथिभरा) र मुक्कुमलुङबासीहरु पीडामा छन् । आफ्नै लय र सभ्यतामा ठडिएको मुक्कुमलुङको काख रक्ताम्मे भएको छ । मुक्कुमलुङमा विकास पुर्याउने योजनाकर्ताहरु विकासे सपना देखिरहेको यो समयमा मुक्कुमलुङको शिरलाई ढाक्नेहरु कोही छातीमा गोली बोकेर अस्पतालको शैयामा छटपटिएका छन् भने कोही सडकमा उभिएका छन् ।
मुक्कुमलुङको अस्तित्वलाई बचाइराख्नुपर्छ भन्ने बाँकी योद्धाहरु भने यतिबेला थापागाउँस्थित मण्डला थिएटरमा कलाकारको रुपमा उभिएका छन् । यी योद्धाहरु भने मुक्कुमलुङको अस्तित्व रक्षाका लागि सांस्कृतिक स्वरुपमा उपस्थित भएका हुन् । राज्यको विकासे रणनीतिलाई तत्काल रोकेर मुक्कुमलुङको शिर जोगाउन लडेकाहरु सडकमा आवाज बुलन्द गरिरहँदा मण्डलामा उपस्थित भएकाहरुले भने नाटक ‘मुक्कुमलुङ : चो–त्–लुङ अफ याक्थुङ’मार्फत हजारौं वर्षको सभ्यतालाई बोकेको याक्थुङहरुको सभ्यता, इतिहास र संस्कृतिको सृष्टि कथालाई सुनाइरहेका छन् । एक थिएटर नेपालकाे सहकार्य र चुलाचुली रङ्गमञ्चको प्रस्तुतिमा माघ ४ गतेदेखि नाटक मञ्चन शुरु गरिएकाे हाे ।
याक्थुङहरुको चोत्लुङमाथि नै राज्यले अतिक्रमण शुरु गरेपछि यसलाई कसरी जोगाउने, किन जोगाउने, राज्यको दमनकारी नीति कसरी आदिवासी भूमि र संस्कृतिमाथि लागू भइरहेको छ भन्ने पक्षलाई नाटकले देखाउने जमर्को गरेको छ ।
मुन्धुम अनुसार पृथ्वीको पहिलो मानव मुजिङना खेयङनाबाट सृष्टिको शुरुवात हुन्छ । उनै पहिलो नारी मुजिङना खेयङनाबाट जन्मिएको छोरा सुसुवेन लालावेन नै जेठो सिकारी हुन् । कुकुरहरुसँग सिकार गर्न आमासँग बिदा मागी हिँडेका सुसुवेनको विभिन्न युवतीहरुसँग प्रेम हुन्छ र तिनै युवतीहरुबाट जन्मेका सन्तानहरु नै लिम्बूहरु हुन् भन्ने मुन्धुमले बताउँछ ।
मुजिङना खेयङनाले थालेको सृष्टिमा सुसुवेन ढलेपछि उनका डाढ पहाडहरु बने । टाउकोले ढुङ्गाको स्वरुप लियो । तिनको दर सन्तानहरुले ती सबै कुराहरुलाई आफ्नो पितृ, माटो, बाटो, सम्पत्ति, संस्कृति र सभ्यता सम्झेर मुक्कुमलुङलाई जोगाइ राखेका थिए । हजारौं वर्षदेखि आफ्नो सभ्यता र इतिहासमाथि उनीहरुले गरिराखेको तपस्यामाथि अचानक राज्यको नजर पर्यो ।
आफ्नो मुक्कुमलुङलाई राज्यले उनीहरुलाई जबर्जस्ती ‘पाथिभरा’भन्न लगायो । त्यसपछि नै मुक्कुमलुङ र मुक्कुमलुङ बासीहरुको पीडाको शुरुवात भएको थियो । यो पीडा शुरु भएको लामो समयसम्म हुँदा पनि मुक्कुमलुङ र याक्थुङ लिम्बूहरु चुपचाप सहन बाध्य भए ।
तर मुक्कुमलुङको छाती चिरेर शिरमाथि केबलकार हिँडाउने निर्णय भएपछि याक्थुमहरु मात्र होइन, ‘मुक्कुमलुङ’को अस्तित्वलाई जोगाउन चाहने सबैजना ‘नो केबलकार’ भन्ने बुलन्द आवाजका साथ राज्यको सांस्कृतिक अतिक्रमण विरुद्ध उठे । कोही कलम लिएर उठे, कोही कुची लिएर उठे भने अहिले मण्डलामा उठेकाहरु नाटकको स्वरुपमा रङ्गमञ्चमा जुर्मुराएका छन् ।
नाटकका लेखक रङ्गकर्मी विष्णु मोक्तानको शब्दमै भन्ने हो भने नाटक मुक्कुमलुङ ‘नलेखिएको कथा हो । तर लेख्नैपर्ने भएकोले लेखिएको हो । उनको मान्यतामा जरा बगरको रुख र संस्कृति बेगरको मान्छे उस्तै हो । अर्का लेखक गीलु रातोसले ‘जति नै सुन्दर भएपनि शिरबिनाको शरीर अर्थहीन हुन्छ’ भनी मुक्कुमलुङको महिमालाई अथ्र्याएका छन् । अर्थात् मुक्कुमलुङको जुन मौलिक सभ्यता र इतिहास छ त्यसलाई ढालेर नयाँ स्वरुपको कल्पना गर्न सकिँदैन भन्ने नाटकको मूल सन्देश छ ।
नाटकका परिकल्पनाकार तथा निर्देशक अनिल सुब्बाले यस पटक खुल्ला रङ्गमञ्चको अवधारणालाई जोडेर मुक्कुमलुङको मूल मुद्दालाई जोड्ने जमर्को गरेका छन् । सधैं मण्डलाको ब्ल्याकबक्सभित्रको मञ्चमा सिधै नाटक हेरेका दर्शकहरुले यसपल्ट भने मण्डलाको प्राङ्गणदेखि नै नाटकका दृश्यहरु नियाल्न पाउँछन् । शुरुवाती दृश्यमै आम दर्शकहरुले किराती परिवेश र सांस्कृतिक लयलाई नियाल्दै लिम्बू संस्कृति र जीवनलाई ठम्याइहाल्छन् ।
तङसिङकका लागि जम्मा भएका झाँक्रीहरु, गाउँले, बीचमा ठडिएको ‘याग्राङ्गसिङ’(भुइँमा गाडिएको बाँस)को दृश्यमा अचानक विकास चाहने हो कि संस्कृति भन्ने दुई धार छुट्टिएपछि नाटक थिएटरभित्र प्रवेश हुन्छ । थिएटरभित्र भने नाटकले सृष्टिकथालाई अगाडि बढाउँछ । मुजिङना खेयङनादेखि छोरा सुसुवेनको जन्म र उनको सिकार यात्रासम्मका कथा जोड्दै जाने क्रममा नाटक धिमा गतिमा अगाडि बढ्छ ।
बाहिर तङसिङको दृश्य अनि त्यसैमा विकास चाहने लिम्बू दाजु र गाउँको संस्कृति चाहनेहरुको रस्साकस्सीको चूरो कुरो के हो भन्ने जान्नलाई दर्शकले सृष्टि कथालाई निकै धैर्य गरेर हेर्नुपर्छ । मुक्कुमलुङलाई किन जोगाउने भन्ने मूल कुरा बुझाउन नै दर्शकलाई लामै सृष्टिकथाको पाटोलाई देखाएको नाटकको उद्देश्य हुनसक्छ । यद्यपि मुक्कुमलुङलाई किन जोगाउने भन्ने पाटोतिर बढी तानिदा मुक्कुमलुङमा खासमा के भइरहेको छ भन्ने पाटो नाटकले सारांसमा बुझाउनु परेको छ ।
नाटकका लेखक, निर्देशक तथा परिकल्पनाकार अनिल सुब्बाले मुक्कुमलुङमाथि हाल जारी भइरहेको मूल मुद्दालाई राजनीतिक प्रतिशोध भन्दा कलात्मक रुपमा सांस्कृतिक प्रतिरोधको पाटोलाई भने शालिन तरिका रोजेका छन् । जसरी खुल्ला ठाउँमा जुन विवादको दृश्यबाट नाटक शुरुवात हुँदै थिएटर भित्र प्रवेश गरेको थियो, त्यसरी नै त्यसैलाई निरन्तरता दिएको भए नाटकका दृश्यहरुले कुनै सडकमा भइरहेको आन्दोलनको स्वरुप पनि लिन सक्थ्यो ।
बाहिर उग्र भएको नाटक भित्र पुगेपछि शान्त देखिए झैं दर्शकहरु पनि एकाग्र हुन्छन् र मुक्कुमलुङको सृष्टिकथाको महिमालाई एकोहोरो हेरिरहन्छन् । उनीहरु सुसुवेनको सिकार यात्रामा सँगसँगै लाग्छन् । सुसुवेनको अन्त्यसँगै मुजिङना खेयङनाको वेदनामा उसैगरी भाव विभोर हुन पुग्छन् । यही क्रममा फेरि तङसिङ टोली मञ्चमा आइपुग्छन् र दर्शक पनि जर्याकजुरुक्क भएर तङसिङ टोलीको कुरा सुन्न तम्तयार हुन्छन् । टोलीले पुनः उही बाहिरकै कुरा जोड्छ ।
मुक्कुमलुङमाथि भइरहेको ज्यादतीका कुरा उठ्छन् । आफ्नो शिर, माटो, बाटो, रुख, जङ्गल, पानी, सबै कुरा अर्कैको भएपछि चित्त दुखाएको वेदना पोखिन्छ । मुक्कुमलुङलाई हाम्रो भन्नेहरु नै काटिनुपरेपछि याक्थुङबासी प्रश्न गर्छन्, ‘अरुको घर भत्काएर, मान्छे मारेर विकास हुन्छ ? एक जना मान्छे कसरी सरकार हुन्छ ?’ यी प्रश्नहरु केवल नाटकका मात्र होइनन्, आदिम लयमा बाँचेका तमाम आदिवासीहरुको पनि हो ।
जसको आफ्नै भूमि, संस्कृति र सभ्यतामा राज्यले आफ्नो नीति नियम लागू गरेर उनीहरुमाथि दमन गरिरहेको छ । राज्यको नीतिमा कतिपय आदिवासीहरुको समर्थन पनि छ । उनीहरु संस्कृतिभन्दा विकास चाहन्छन् । नाटकमा विकास चाहने लिम्बू दाजु र आधुनिक युवाहरु तिनकै प्रतिनिधि पात्रहरु हुन् । ‘तिम्रो गाउँ बाच्नुपरेन, संस्कृति बाच्नु परेन ?’ नाटकमा बाहुन पात्रले परिवर्तन मात्र भएर हुँदैन भनेर लिम्बू दाजुलाई प्रश्न गरेका छन्, यो केवल प्रश्न मात्र नभएर आफ्नो मूल जरो बिर्सिरहेका समग्र आदिवासीहरुमाथि व्यङ्ग्य पनि हो ।
त्यसकारण निर्देशक सुब्बाका लागि यो केवल नाटक मात्रै होइन । सुब्बाहरुले रङ्गमञ्च मार्फत मुक्कुमलुङको मुद्दालाई उठाइरहँदा जब्बर बनेको राज्यको पाइलाले याक्थुङहरुको अनुनय विनय र आग्रह केही पनि सुनेको छैन । नाटक हेर्दै गर्दा र नाटक हेरिसकेपछि आम दर्शकको मनमा प्रश्न उठ्छ, ‘के सांस्कृतिक प्रतिरोधले मुक्कुमलुङमाथिको ज्यादती रोकिएला ? यदि नरोकिएको खण्डमा मुक्कुमलुङको अस्तित्व कसरी जोगाउने ?’
मञ्चमा
विष्णु मोक्तान, वेदना राई, सुरज तमू, प्रतिना राई, मानहाङ लावती, शोभा लिम्बू, सौजन सेनेहाङ, मणि के.राई, भूमिका थारु, पवन कुमार गोले, अजय लामा, डेविड सुवेदी, संजीत थुलुङ राई, सम्पदा राई, रमिता राई, प्रवीन मगर, अन्जना राई, नुमा राई, अमर बाबु बुढाथोकी, आकाश सुहाङ लिम्बू र इशा सिंजाली ।
प्रकाश परिकल्पना- सुरज तमू र मानहाङ लावती
प्रकाश परिचालन- संजय विश्वकर्मा
भेषभुषा- वेदना राई, प्रतिना राई शोभा लिम्बू
परिकल्पना, निर्देशन, सङ्गीत/शब्द, मञ्च परिकल्पना- अनिल सुब्बा
प्रत्यक्ष गायन- प्रवृत्ति राई, युकेश राई, आशिष माझि, तृष्णा नेम्बाङ
मञ्च निर्माण- झकेन बि.सी. मानहाङ लावती, जयप्रकाश ताजपुरिया र निराजन डोटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया