मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दक्षिण एसियाली कला प्रदर्शनी शुरु

काठमाडौँ- दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी वृहत् कला प्रदर्शनी आजदेखि शुरु भएको छ । ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने प्रदर्शनीका परिकल्पनाकार डा अर्शिया लोखन्डवालाले बताइन् ।

तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा बौद्धस्थित तारागाँउ सांस्कृतिक केन्द्रमा सुरु प्रदर्शनी तीन महिनासम्म अवलोकन गर्न पाइने छ । प्रदर्शनीमा दक्षिण एसियाका १० जना महिला कलाकारका सृजना राखिएको छ । प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैङ्गिक राजनीति जस्ता विषय सम्बोधन गर्ने डा लोखन्डावाका भनाइ छ ।

प्रदर्शनीमा भारतका चार, नेपालका तीन र श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशका एक/एक कलाकारका सृजना राखिएका छन् । भारतीय कलाकारहरू अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला, नेपाली कलाकार अश्मिना रञ्जित, विधाता केसी र उमा विष्टसँगै श्रीलङ्काकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बङ्गलादेशकी तायबा बेगम लिपीले आफ्ना सृजना प्रदर्शनीमा राखेका छन् ।

कलाकारहरूले कलामार्फत पारम्परिक लैङ्गिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र सामाजिक संरचनाहरूको प्रभाव उजागरको प्रयास गर्ने जनाइएको छ । नेपालको महिला अधिकारसँग सम्बन्धित मुद्दालाई दक्षिण एशियाली देशका महिला अधिकारका विषयसँग सम्बन्धित संघर्षसँग जोड्ने प्रयास स्वरूप प्रदर्शनी आयोजना गरिएको सराफ फाउन्डेशन तथा तारागाउँ नेक्स्टकी संस्थापक निर्देशक नमिता साराफको भनाइ छ ।

प्रदर्शनीको पहिलो दिन अश्मिना रञ्जितको ‘सीता द आइडियल वाइफ २०२५’ मञ्चन गरिएको थियो । प्रस्तुतिले ब्राह्मण पितृसत्ताले महिलालाई कसरी गाँजेर राखेको छ भन्ने सन्देश दिन खोजिएको रञ्जितको भनाइ छ । उनले महिलाको अधिकार र स्वतन्त्रता खोस्ने परम्पराअनुसारको विवाहमा गरिने ‘कन्यादान’ प्रथाको आलोचना गरेकी छिन् । लैङ्गिकताको कुरा बुझ्नका लागि जात व्यवस्थाबारे बुझ्न आवश्यक रहेको प्रदर्शनीमा सहभागी लेखक तथा अभियन्ता सरिता परियारले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?