मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नाटक रिभ्यू

नाटक ‘द स्ट्रङ्गर’ : पितृसत्ता भर्सेज मातृसत्ता

काठमाडौँ– ‘महिलाहरु कोमल हुन्छन् । सुन्दरताले भरिपूर्ण महिलाहरुमा सुन्ने र सहने क्षमता हुन्छ, अर्थात् महिलाहरु सहनशील हुन्छन् ।’ यी त समाज र सामाजिक नीति नियमभित्रका परिभाषाहरु भए । तिनै परिभाषाहरुले नै कालान्तरमा परम्परा अनि संस्कृतिको स्वरुप लिएर महिला सत्तालाई एकोहोरो डोहोर्‍याउने काम गर्‍यो । परम्परा अनि संस्कृतिको डोरीमा सदिऔंदेखि बाँधिएका महिलाहरुको अस्तित्व के हो ? के महिलाहरु कोमल र सहनशील मात्र हुन्छन् ? महिलाहरु आफ्नो लागि लड्न तयार छैनन् ? आफ्नो लय समातेर महिलाहरु कसरी निर्बल बन्न सक्छन् ?’ यिनै प्रश्नहरुको उत्तर खोतल्दै नाटक ‘द स्ट्रङ्गर’ले मातृसत्ता अर्थात् समग्र महिलाको हुङ्कार बोकेर आएको छ ।

महालक्ष्मीस्थान, थसिखेलस्थित थिएटर भिलेज नेपाल (वर्किङ स्पेश)मा मञ्चन जारी रहेको नाटकले मुख्यत पितृसत्ताको मुखुण्डो उतार्दै मातृसत्ताको शक्तिलाई प्रदर्शन गरेको छ । सत्ता, शक्ति, पहिचान र महिलामाथिका सामाजिक अपेक्षाहरुलाई केलाउँदै मिहीन रुपमा अगाडि बढेको नाटकले पितृसत्तामाथि महिलाको अस्तित्व हुनुको बोध गराउँदै सतर्क समेत गरेको छ ।

दुई पात्रको शारीरिक अभिव्यक्ति नै नाटकको मुख्य पाटो हो । नबोलीकनै दुई पात्रहरुका माध्यममा आम दर्शकले पितृसत्ताको संरचनामा बाँचेका आम महिलाहरुको प्रतिनिधित्व गरेको छ । चुपचाप मौनतामा नै शारीरिक लय र अभिव्यक्ति मार्फत बुलन्द आवाज निकाल्नु नाटकको बलियो पक्ष हो ।

समकालीन समयमा महिलाहरु पुरुष सरह नै समानताको आवाज निकालेर सडकदेखि सदनसम्म पुगेका छन् । महिला हिंसाका घटनाक्रम जारी नै रहेको छ । पीडितको आवाज घरदेखि सडकसम्म, सडकदेखि न्यायलयसम्म पुगि नै रहेको छ । प्रेमी, सहकर्मी, श्रीमान् जस्ता अनेकन सम्बन्धहरुमा महिलाहरु प्रताडित बनिरहेको आजको समयमा महिला स्वयं नै बलियो किन नबन्ने ? नाटकले आम महिला जमातलाई प्रश्न चिन्ह खडा गरेको छ ।

नाटकमा रातो र सेतो रङको द्वन्द्व छ । रातो र सेतो रङको  पछ्यौरी ओढेका दुई पात्रहरुको आपसी द्वन्द्वमा केन्द्रित भएर नै नाटक अगाडि बढेको छ । द्वन्द्वको शुरुवातमा नै मैनबत्तीहरु बल्छन् र निभाइन्छ । यो क्रम नाटकभरी चलिरहन्छ । मैनबत्तीको उज्यालोमा देखिने दुई पात्रको द्वन्द्वमा पितृ र मातृसत्ताको लडाइँ देखिन्छ ।

उज्यालो–अँध्यारो, फेरि उज्यालो र अँध्यारोको गतिमा लडिरहेका दुई पात्रहरुले पितृसत्तामा मातृसत्ताको सङ्घर्ष त झल्काउँछ नै मान्छेको जीवनको आशा र निराशाहरु समेत प्रतिबिम्वित गर्छन् । जीवनको दौडानमा निभ्नु, बल्नु त्यसैमा अँध्यारो र उज्यालो अनुभूति गर्नु आम मानिसको नियतिलाई नाटकले परिभाषित गर्ने जमर्को गरेको छ । तथापि यसले महिलाको कठिनाइ र उल्झनहरुलाई बढी केन्द्रित गरेको छ ।  

नाटकले रातो रङसहितको पात्रलाई पितृ र सेतोलाई मातृसत्ताको रुपमा प्रस्तुत गरेको छ । अर्थात् महिला र पुरुषको सत्ता । महिलाको सौन्दर्यमा सामिप्यता बढाउने पुरुष प्रवृत्तिले उनको सुन्दरतालाई समाप्त गर्ने चेष्टा गर्छ । शुरुमा त्यसलाई प्रेमका रुपमा स्वीकार्ने महिलाले पुरुषकै लयमा आफूलाई समाहित गर्छिन् । पितृसत्ताको अहमतासहित महिलाको कपाल लुछिन्छ अनि उनको सौन्दर्यलाई आफ्नो काबुमा नियन्त्रण गर्न खोज्छ । आमाको रुपमा महिलाको मातृत्वलाई कमजोर ठानिन्छ ।

त्यसलाई पनि हरण गर्ने प्रयास गरिन्छ । महिलाको खुशी, सौन्दर्य र कोमलतालाई कमजोरीको संज्ञा दिँदै त्यसलाई कुल्चने प्रयास जारी रहन्छ । तर उनको हिम्मत डक्दैन र पुरुषसत्ताको अगाडि झुक्दिनन् । अन्याय र थिचोमिचोमा रुन्छिन्, बिलौना गर्छिन् तर पुरुषको अगाडि उनी उठेरै प्रतिकार गर्छिन् । पुरुषका पैतालाहरुले थिचेका उनका खुट्टा र पिठिउँहरु झनै जब्बर हुन्छन् । पितृसत्ताले बनाएको चौघेराको सीमिताहरुमा मात्र होइन उनी खुल्ला आकाशको परिवेशमा आफैं उज्यालो बालेर यात्रामा निरन्तर लाग्छिन् ।

यी सबै दृश्यहरुमा केवल एकोहोरो बजिरहेको सङ्गीतको  धुन, रातो प्रकाश र दुई पात्रबिचका उतारचढावहरुमा आम दर्शकमा पनि मौनताले प्रवेश त पाउँछ, तर मानसिक रुपमा पितृसत्ताको संरचनाहरुमा पाइला अगाडि बढाएका आम महिलाहरुको छविहरु झलझली अगाडि उभिन्छन् ।

शब्दभन्दा पनि दृश्यहरु नाटकको सशक्त पक्ष हुन् । दृश्यहरुमा पनि बिम्वहरु अझै बढी सशक्त लाग्छन् । रातो र सेतो रङका दुई पात्रलाई देखाउनु आफैंमा बलियो बिम्व हो । रातो रङले शक्तिलाई केन्द्रित गर्दै अहमता र द्वन्द्वलाई प्रतिकात्मक रुपमा प्रस्तुत गरेको छ । नाटकभरी प्रयुक्त रातो रङको प्रकाशले यसैलाई दर्शाउँछ ।

महिला र पुरुष सत्तालाई दर्शाउन प्रयोग गरिएको रातो र सेतो पहिरनको पात्रहरुले शारीरिक अभिव्यक्त दिइरहँदा आम दर्शकले शब्दहरुको अपेक्षा गर्दैनन् । अमूर्त शैलीमा अभिव्यक्त भएका दृश्य र भावहरुमा समेत सरल रुपमा पितृसत्ताको संरचनामा महिलाले आफ्नो अस्तित्व कायम गर्न गरेको सङ्घर्षलार्ई बुझाउन नाटकले गरेको प्रयत्न आम दर्शकले बुझ्छन् । यही नै नाटकको सफलता मान्न सकिन्छ ।

‘टाला टुली बाटुली’ र ‘ता थै ता ता थै’को लयमा पितृसत्ताको गन्धलाई समावेश गरेर दृश्यहरुमा देखाउनु नाटकको बलियो बिम्व हो । पुतलीको लयमा बाँचेका आम महिलाहरुले जीवनको आफ्नै लयमा कसरी नृत्य गर्न सकिन्छ भनेर नाटकले आत्मविश्वास जगाउने काम गरेको छ । नाटकमा दुई पात्रहरुलाई मात्र नियालिरहने हो भने मुहार अभिव्यक्तिहरुमा पितृ र मातृसत्ताको झलक स्पष्ट देखिन्छ । मञ्चमा पात्र जुत्तासहित देखिनु, जुत्ताको आवाज बज्रनु, उसको गर्जन र अहमता मञ्चभरी पोखिनु, पुतलीलाई फ्याक्नु, गुलाफको फूललाई धुजाधुजा पार्नु यी सबैले पितृसत्ताको प्रवृत्तिलाई देखाएको छ ।

अगस्ट स्ट्राइन्डबर्गले सन् १८८९ मा लेखेको नाटक नेपालसम्म आइपुग्दा आज पनि उस्तै सान्दर्भिक लाग्छ । नाटक सिर्जनाको इतिहासलाई केलाउँदा भूगोलले फरक भएपनि समयले लामो कालखण्ड तय गरेपनि महिलाको अवस्था अझै किन उस्तै छ ? नाटकले पितृसत्तामाथि व्यङ्ग्य मात्र होइन, समकालीन समयलाई प्रश्न समेत गरेको छ ।

निर्देशक जेनी सुनुवारले नाटकको मूलसारलाई समाउँदै आफ्नो मौलिकतालाई समावेश गर्ने भरपूर प्रयास गरेकी छिन् । उनको निर्देशनको पाटो त छँदैछ, रङ्गमञ्चीय स्वरुपमा उनको उपस्थिति समेत उत्तिकै लोभलाग्दो छ । प्रस्तुतिमा उनीसँगै देखिएकी सरगम राईको प्रस्तुतिले नाटकलाई जीवन्त बनाएको छ । उनीहरुसँगै सञ्जिव राई र बालाहाङ राईको सहभागिताले नाटकलाई अझै बलियो बनाएको छ । 

माघ १२ गतेसम्म मञ्चन हुने नाटकको परिकल्पनाकार र निर्माता पनि निर्देशक सुनुवार नै हुन् । त्यस्तै, कलामा कृपा खड्गी, श्रृङ्गारमा पूर्णिमा आचार्य र भेषभुषामा अम्बिका श्रेष्ठ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?