काठमाडौँ– आजभन्दा २० वर्षअघि मुस्ताङको यात्रा गर्नु र त्यहाँका दृश्यहरु तस्वीरहरुमा कैद गर्नु त्यति सहज पक्कै थिएन । तर दृश्यहरुमा जीवनका अनेकन रङहरु देख्ने किशोर कायस्थले त्यसलाई आफ्नो क्यामरामा कैद गरे र मुस्ताङ स्मरणको रुपमा संगालेर राखे ।
आफ्नो जीवनकै अमूल्य पाटोको रुपमा राखेको ती स्मरण उनले आम मानिसमाझ तस्वीर प्रदर्शनीमार्फत सार्वजनिक गरेका छन् ।
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गरिएको ‘मुस्ताङ नोस्टाल्जिया: अ टु डिकेट अडसी’ प्रदर्शनीमा उनले ३० वटा तस्वीरमार्फत मुस्ताङको स्मरणलाई अभिव्यक्त गरेका थिए ।
प्रदर्शनीको हिसाबले उनको यो चौथो एकल फोटो प्रदर्शनी हो । ३० वटा तस्वीरहरुमा आफ्नो जीवनको २० वर्षका अनुभूतिहरु आम मानिसमाझ बाँडेपछि अहिले कायस्थले सुन्तुष्टिको सास फेरेका छन् ।
भन्छन्, ‘तस्वीर मेरो लागि सम्झना र इतिहास पनि हो । फोटो त सबैले खिचिहाल्छन् । हरेक दिन हरेक मान्छेले फोटो खिचिरहेकै हुन्छ । तर मान्छेको मनभित्र बस्ने फोटोहरु कम हुन्छन् ।’
तीन दशकभन्दा लामो समयदेखि उनी तस्वीरसँग जोडिरहेका छन् । यात्रा होस् या फेसनको क्षेत्रमा उनले अलग्लै पहिचान बनाएका छन् ।
भक्तपुरमा रहेको फोटो स्टुडियोमा उनले आमालाई ब्ल्याक एन्ड ह्वाइट फोटोहरु प्रिन्ट गर्न सघाउथे । जतिबेला उनी नौ वर्षका मात्र थिए । यस बापत आमाले उनलाई पैसा समेत दिन्थिन् । औपचारिक रुपमा फोटोग्राफीमा सन् २००० देखि नै व्यावसासिक जीवन शुरु गरे । तर नौ वर्षको उमेरमा नै आमासँग फोटोको कामबाट पैसा लिने भएपछि त्यति बेला देखि नै व्यावसासिक जीवन शुरु भएको रहेछ भन्ने अहिले उनलाई ज्ञात भएको छ ।
मुस्ताङको परिवेशलाई समेटिएको तस्वीरहरुमा उनले जीवनको अर्थ, भोगाइ र सत्यतालाई खोजी गरेका छन् । तस्वीरमा कैद भएका दृश्यहरुलाई उनले बुद्ध दर्शनसँग जोडेर हेरेका छन् । त्यसकारा उनले प्रदर्शनी स्थलको ढोकाबाट नै त्यस्तै परिवेशलाई देखाएका थिए ।
उनको प्रदर्शनीमा सहभागीहरुले तस्वीरहरु हेरेर आध्यात्मिक यात्राको महसूस गरे । उनले त्यसैलाई आफ्नो फोटोग्राफीको लामो यात्राको सफलता मानेका छन् । किनकी त्यहाँ उनको सन् २००४ देखि २०२४ सम्मका समग्र भोगाइ र अनुभवहरु थिए । ती सबै केवल दृश्यहरुमा मात्र होइन, तस्वीरहरुमा देखिने रङ, प्रकाश, छायाका प्रतिविम्बहरुमा उनका जीवनहरु लयहरु उनिएका छन् ।
उनी भन्छन्, ‘मेरा लागि यी सबै तस्वीरहरू मेरा सम्झना हुन् । मैले २० वर्ष कसरी बिताएँ भनेर यी फोटोहरु हेर्दा ती दिनहरु याद आउँछ ।’
२० वर्षमा उनको जीवनमा भएका अनेकन उतारचढावहरु सबैलाई उनले तस्वीरहरुमा अभिव्यक्त गरेका छन् । उनका अनुसार प्रत्येक मान्छेले फोटोमा कैद गरिने वस्तुहरुमा हुर्काइको वातावरणले फरक पर्छ । उनकै शब्दमा ‘एउटै वस्तुमा पनि मान्छेको हेर्ने दृष्टिकोण फरक हुन्छ ।’
‘क्यामरा र यसको लेन्स सबैको एउटै हुन्छ । फोटो खिच्ने तरिका पनि एउटै हो,’ उनी अझै थप्छन्, ‘मुस्ताङ त मेरो लागि मात्र बनेको होइन । सबैका लागि हो । तर मेरो हेर्ने दृष्टिकोण मेरो कल्चर, सरसङ्गत, हुर्काइ, जीवनशैली अनुसार त्यो कुरालाई हेरेर मैले दृश्य कैद गरेँ ।’
यसलाई उनले आध्यात्मिक यात्राका रुपमा परिभाषित गरेका छन् । तस्वीर खिच्ने क्रममा नै उनले जीवनको आध्यात्मिक पाटो, सङ्घर्षहरु र सफलता के हुन् भन्ने ज्ञान सिके ।
‘मेरो काम त्यति धेरै ठूलो होइन । तर मेरो लागि यो लाइफको स्प्रिच्युअल जर्नी हो । जीवन के हो भन्ने कुरा यसैमा सिकेँ । आखिर सफलता भनेको केही होइन रहेछ, जहाँ पुगेपनि अर्को यात्रा फेरि शुरु हुने रहेछ । सामान्य अवस्थामा पनि खुसी हुन सकेमा त्यही जीवन हो,’ उनी भन्छन् ।
सन् २००४ मा उनी त्यतिकै मुस्ताङ घुम्न पुगेका थिए । तर त्यसैमा उनले जीवनको मूल्य बुझेर फर्किए । त्यसर्थमा दुई दशकमा उनले संकलन गरेर राखेका तस्वीरहरु उनको जीवनको अमूल्य अंश हो ।
उनको जीवनलाई बाँच्ने तौरतरिका परिवर्तन भयो तर फोटो खिच्ने लय परिवर्तन नभएको उनी सुनाउँछन् । उनका लागि फोटो खिच्नु भनेको कुनै पनि मेमोरी क्याप्चर गर्नु हो । कुनै कुरा साच्चै नै मनपर्छ भने त्यसको स्मरणका लागि पनि तस्वीर खिचिन्छ ।
उनलाई लाग्छ पछिल्लो समय तस्वीर लिनेहरु पनि सेल्फीको नाममा स्वार्थी भइरहेका छन् । सेल्फी खिच्नेहरुले समूहमा जोसुकै र जति जना भएपनि आफ्नो तस्वीर राम्रो आओस् भन्ने चाहन्छन् । अरुको मतलब गरिँदैन । त्यसकारण जुन तस्वीरमा आफू राम्रो देखिन्छ, त्यही मात्र सेयर गरिने परिपाटी छ । यो प्रवृत्तिलाई उनी राम्रो मान्दैनन् । सबैलाई समान र सबै राम्रो होस् भन्ने भावना सबैमा हुनुपर्ने उनको बुझाइ छ ।
उनको अनुरोध छ, ‘नकारात्मक भाव उत्पन्न गराउने नराम्रो चीज सकेसम्म कैद नगरौं । सबैजनालाई राम्रो होस् र सबै समान छन् भन्ने भाव सबैमा हुनुपर्छ । ती सबै चीजहरु तस्वीरले बोल्न सक्ने हुनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया