काठमाडौँ– रातमा राम्रोसँग निद्रा नपर्ने समस्या धेरैको साझा समस्या हो । हामीमध्ये कतिलाई राम्रोसँग निद्रा पर्दैन, मनमा कुरा खेलिरहन्छ । कसैलाई धेरै समय सुत्नुपर्छ भने कसैलाई थोरै समय सुत्दा पनि निद्रा पुग्छ ।
राति पटकपटक निद्रा खुल्ने, निद्रा खुलेपछि फेरि निदाउन नसकिने समस्या पनि हुन्छ । कहिले रातभरि, दिनभरि सुत्ने, कहिले सुत्दै नसुत्ने बानी पनि धेरैको हुनसक्छ । लामो समय निद्रामा समस्या भयो वा राति पूरा समय निदाउन सकिएन भने समस्या हुनसक्छ ।
लापरबाही गरेर पूरा समय नसुत्दा शारीरिक र मानसिक समस्या ल्याउन सक्छ । त्यसैले जुनसुकै समयमा पनि शरीरलाई आवश्यक पर्ने निद्रा पूरा गर्नुपर्छ । हाम्रो शरीरमा विभिन्न अंग छन्।
त्यसमध्ये मस्तिष्कको एउटा प्रमुख काम हो, निद्रा । मानिसको वृद्विविकासमा निद्राको भूमिका महत्वपूर्ण हुन्छ । उमेरअनुसार मानिसको सुत्नुपर्ने समय फरक हुन्छ । बच्चाहरु धेरै समय सुत्छन्। उमेर बढ्दै जाँदा निद्राको समय घट्दै जान्छ ।
सामान्यतया: मानिसलाई ६ देखि ७ घण्टा सुत्नैपर्छ । रात्रिकालीन काम गर्ने मानिसहरु दिउँसो सुत्छन्। । सामान्य अवस्थाबाहेक मानिस कम सुत्छ वा चाहिनेभन्दा बढी अवधि सुत्छ भने त्यसका विभिन्न कारण हुन सक्छन्।
के हो त निद्रा नलाग्ने कारण?
तनाव
अहिलेको व्यस्त समयमा मानिसलाई विभिन्न किसिमको तनाव हुन्छ । तनावका कारणले निद्रा नपर्ने हुन्छ । राति छटपटी हुने, मनमा धेरै कुरा खेल्ने, तर्सिने, सुतेको केही घन्टामै निद्रा खुल्ने, सपना राम्रो नदेखिने कारणले पनि निद्रा पर्दैन ।
एन्जाइटी डिसअर्डर
निद्रा नपर्नुको अर्को कारण एन्जाइटी डिसअर्डर हो, जसका कारण सुतेको बेला तर्सिने समस्या हुन्छ । जस्तोः भूकम्प गएपछि धेरैलाई फेरि भूकम्प आउँछ कि भनेर तर्सिने समस्या भएको थियो । कसैलाई डिप्रेसनका कारणले निद्रा पर्दैन । डिप्रेसनले जाँगर नचल्ने, ओछ्यानमा पल्टिरहन मन लाग्ने, बढी सुत्ने, आलस्य हुने लक्षण देखिन्छ । अल्कोहल सेवनका कारणले पनि निद्रामा असर पर्छ ।
मेनिया
कसैलाई मेनिया भन्ने रोग छ भने उसलाई एक÷दुई घण्टाभन्दा धेरै निद्रा पर्दैन । तर, पनि बिहान उठ्दा उनीहरु फ्रेस नै देखिन्छन्, फूर्तिलो महसुस गर्छन्। यस्तो समस्या भएकाहरुमा ठूलोठूलो गफ गर्ने, धाक लगाउने, राति निद्रामा हिँडिरहने जस्ता लक्षण हुन्छन्। ।
निद्रा गडबडी भएमा देखिने समस्या
निद्रा गडबडी हुँदा मनोवैज्ञानिक र शारीरिक समस्या बढ्छ । निद्रामा गडबडी भएमा टाउको दुख्ने, बिहान फ्रेस अनुभव नहुने, दिनभर अल्छी लाग्ने, जीउ भारी भएर आउने, स्मरण शक्ति घट्दै जाने, कुनै पनि काममा एकाग्रपन नहुने, खान मन नलाग्ने जस्ता समस्या देखिँदै जान्छन् ।
तनाव बढ्दै गएपछि दिमागले पनि नियमित काम गर्न सक्दैन । हामीले देख्दै आएका छौँ, चाडबाडको समयमा कति मानिसहरु रातभर–दिनभर जुवातास खेल्ने, अल्कोहल खाने गर्छन्।
रातभर नसुती तास खेल्दा स्वास्थ्य समस्या निम्त्याउँछ । पर्वको समयमा हाम्रो शारीरिक अभ्यास गर्ने बानी हुँदैन । खानपानमा समेत सन्तुलन नहुने र लामो समय निद्रा नपुग्दा खराब नतिजा निम्तिन सक्छ ।
यस्तै अरु मानसिक तनाव हुँदा पनि निद्रा नपर्ने हुन्छ । कसैलाई निद्रासम्बन्धी नै समस्या हुनसक्छ । जसलाई स्लिप डिसअर्डर भनिन्छ । यो धेरैथरीको हुन्छ । बिनातनाव, डिप्रेसन नभई निद्रासम्बन्धी मात्र समस्या पनि हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया