मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सामाजिक सञ्जालमा भाइरल भइरहेको मेटाको ‘वेरएबल’ चश्माले कसरी काम गर्छ?

काठमाडौँ- पछिल्लो समय आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङको नाम विवादमा आएको छ । उनले सरसफाइ, पानीको मूल्य, पार्किङ शुल्क लगायतका विषयमा सामाजिक सञ्जालमा भिडिओ पाेस्ट गर्दै आएकी थिइन् ।

पशुपति क्षेत्र विकास कोषका कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेपछि उनी चर्चामा छिन् । केही दिनअघि तामाङले पशुपति क्षेत्रमा प्रहरीसँग चर्काचर्की गरेको भिडिओ भाइरल भएको थियो ।

तर, आशिका तामाङको पक्राउसँगै अर्को एक नयाँ विषय पनि चर्चा भइरहेको छ । त्यो हो- उनले लगाउने चश्मा । झट्ट हेर्दा सामान्यजस्तै लाग्ने उनको चश्माको रहस्य भने बेग्लै छ । उनका विभिन्न फोटोहरु हेर्दा उनले लगाउने चश्मामा क्यामेरा देख्न सकिन्छ । यसबाट उनले लगाउने चश्मा अत्याधुनिक स्मार्ट चश्मा रहेको प्रतित हुन्छ ।

सामाजिक सञ्जालमा भाइरल भएका केही भिडियोहरु उनले यही चश्माले खिचेजस्तो देखिन्छ । यसले एकातिर आम जनताको गोपनियताको अधिकारबारे बहस सिर्जना गरेको छ भने अर्कोतर्फ नवीन प्रविधिको प्रयोग र यसले समाजमा पार्नसक्ने प्रभावको विषयलाई पनि सतहमा ल्याएको छ ।

इन्टरनेटमा यस्तो चश्माबारे निकै रोचक जानकारी भेटिन्छ । यो प्रविधि सार्वजनिक भएको पनि धेरै लामो समय भएको छैन । चश्माको विशेषताबारे कुरा गर्दा यो चश्माको प्रयोजन भिडिओ खिच्नेमा मात्रै सीमित छैन । यो चश्माको मद्दतले फोन गर्ने, सामाजिक सञ्जालको चलाउने जस्ता कार्य पनि गर्न सकिन्छ । यस कारण पनि आम मानिसमा यो चश्माबारे जिज्ञासा पैदा भएको छ ।

तामाङले प्रयोग गर्ने स्मार्ट चश्मा अमेरिकी प्रविधि कम्पनी मेटा र विश्वप्रसिद्ध चश्मा निर्माता रेबनले मिलेर तयार गरेको हो । यो चश्माले ‘वेरएबल’ स्मार्ट डिभाइसका रूपमा काम गर्दछ ।

यो चश्मामा १२ मेगापिक्सेलको क्यामेरा जडान गरिएको छ । यस क्यामेराको माध्यमबाट प्रयोगकर्ताले सजिलैसँग भिडिओ र फोटो खिच्न सक्छन् ।

सामान्यतया, यो चश्माले ‘पोट्रेट ओरिएन्टेसन’ मा तीन मिनेटसम्मको भिडिओ खिच्न सक्छ, जुन सामाजिक सञ्जालमा सजिलै सेयर गर्न सकिन्छ । यसका साथै चश्मामार्फत मेटाका एपहरु मेसेन्जर र ह्वाट्सएपहरू चलाउन तथा सङ्गीत सुन्न पनि सकिन्छ । त्यसबाहेक प्रयोगकर्ताहरुले यो चश्माको मद्दतले भिडिओ कल गर्न र लाइभ स्ट्रिम गर्न पनि सक्छन् ।

चश्मामा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रणाली पनि समावेश गरिएको छ । यसले प्रयोगकर्ताले दिने आवाजको कमाण्डमार्फत काम गर्छ । यो चश्माको कानतर्फको भागमा ’ओपन एअर’ स्पिकर जडान गरिएको छ । यसबाट स्पष्ट र शुद्ध रूपमा आवाज प्रवाह हुन्छ । प्रयोगकर्ताले चश्माको माइकलाई भ्वाइस कमाण्ड दिन सक्छन् । यसका माध्यमबाट फोन कल गर्न, म्यासेज पठाउन, या अन्य कार्यहरू गर्न सक्छन् । यसमा माइक भने नाकतर्फको भागमा राखिएको छ ।

यस चश्माको एउटा विशेषता निकै रोचक छ । यो चश्मा एन्ड्रोइड १० वा आईओएस १४.४ अथवा सो भन्दा नयाँ अपरेटिङ सिस्टम भएको स्मार्टफोनसँग जडान गर्न सकिन्छ । साथै चश्मा प्रयोग गर्न स्मार्टफोनमा मेटा स्मार्ट भ्यू एप्लिकेशन इन्स्टल गर्नु पर्छ । यसबाट प्रयोगकर्ताले चश्मालाई फोनमा कनेक्ट गरी स्मार्ट फिचरहरूको प्रयोग गर्न सक्छन् । साथै, चश्मामा पानी र वर्षाको प्रभावबाट जोगाउनका लागि आईपीएक्स ४ वाटर रेजिस्टेन्ट सिस्टम पनि उपलब्ध छ ।

यसमा डाक्टरको परामर्शअनुसार पावरवाला लेन्स पनि जडान गर्न सकिन्छ, जसले दृष्टि कमजोर भएका मानिसहरुलाई चश्मा प्रयोग गर्न अझ सहज हुन्छ । मेटाका अनुसार एक पटक चार्ज गर्दा यो चश्मा ४ घण्टासम्म लगातार चल्न सक्छ । चश्मा किन्दा सँगै आउने खोलमार्फत् यो चश्मा चार्ज गर्न सकिन्छ ।

खोलमा राख्दा चश्माको दुई लेन्सलाई जोड्ने भागमा राखिएको विद्युतीय पोर्टले चश्मामा ऊर्जा प्रदान गर्छ । र, चार्ज गर्दा वा खोलमा राख्दा खोलमा रहेका बटमबाट संकेत देखिन्छ । चश्माको खोलमा रहेको यूएसबी–सी पोर्टमार्फत चार्ज गर्न सकिन्छ ।

यसको मूल्य अमेरिकामा २९९ डलर (करीब ४१ हजार नेपाली रुपैयाँ) देखि ३२९ डलर (करीब ४५ हजार नेपाली रुपैयाँ)सम्म पर्छ । यो चश्मा विभिन्न स्टाइलमा उपलब्ध छ र आशिका तामाङले लगाएको चश्मा ’हेडलाइनर’ स्टाइलको जस्तो देखिन्छ । तामाङले प्रयोग गर्ने चश्माले अहिले सामाजिक सञ्जालमा निकै चर्चा कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?