काठमाडौँ- चीनले हालै उपग्रह र रोबोटको प्रयोग गरेर १.५ लाख किलोमिटर टाढाबाट अल्ट्रा–रिमोट सर्जरी सफलतापूर्वक सम्पन्न गरेको छ ।
चिनियाँ जनमुक्ति सेनाको जनरल अस्पतालका डाक्टरहरूले एपस्टार–६डी ब्रोडब्यान्ड उपग्रहको सहयोगमा तिब्बत, युनान र हाइनानका पाँच बिरामीको शल्यक्रिया गरेका हुन् ।
भू उपग्रहको सहायताले कलेजो, पित्त थैली र प्यान्क्रियाजका रोगहरूको उपचार गरिएको थियो । यी सबै अपरेशनहरू चीनले स्वदेशमै उत्पादन गरेको सर्जिकल रोबोटिक प्रणालीको सहयोगमा गरिएको जनाइएको छ । सो शल्यक्रिया पछि बिरामी पूर्ण रूपमा निको भएर भोलिपल्टै अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
शल्यक्रियाको क्रममा डाटा स्थानान्तरणले १,५०,००० किलोमिटरको दूरी कभर गरेको थियो, जुन चिकित्सा इतिहासमा पहिलो हो। यो प्रविधिले युद्ध क्षेत्र र दुर्गम क्षेत्रहरूमा घाइते सैनिक र नागरिकहरूको उपचारमा क्रान्ति ल्याउन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया