काठमाडौं- पृथ्वीको मौसम र वायुमण्डलको सबैभन्दा पुरानो प्रमाण कहाँ छ भन्ने तपाईंलाई थाहा छ ? पृथ्वीको मौसम र वायुमण्डलको सबैभन्दा पुरानो प्रमाण बरफको टुक्रामा बन्द छ । हो, वैज्ञानिकहरूले करिब १२ लाख वर्ष पुरानो बरफको अहिलेसम्मकै पुरानो नमूना पत्ता लगाएका छन् ।
यो बरफ अन्टार्कटिकाको गहिरो बरफको तहबाट निकालिएको हो र यस अनुसन्धानले विश्वभरको जलवायु परिवर्तन, हिमयुग परिवर्तन र पृथ्वीको पुरातन वायुमण्डलबारे बुझ्न मद्दत गर्ने जनाइएको छ ।
यो ऐतिहासिक खोजमा इटालीका वैज्ञानिकहरुले कडा मिहिनेत गरेका छन्, जसले ‘बियोन्ड एपिका’ नामक परियोजना अन्तर्गत यो काम गरिरहेका हुन् । यो अभियान युरोपेली संघ र अन्य युरोपेली देशहरूको सहयोगमा सञ्चालित छ । इटालीले यो परियोजनाको नेतृत्व गरिरहेको छ ।
यस्तो पुरानो हिउँबाट के पाउन सकिन्छ ?
यो बरफको अध्ययन गरेर वैज्ञानिकहरूले धेरै महत्त्वपूर्ण जानकारी पाउने छन् । यसबाट उनीहरूले विगत १२ लाख वर्षमा पृथ्वीको वायुमण्डल र जलवायुमा कस्तो परिवर्तन आएको छ भन्ने थाहा पाउन सकिने दाबी गरिएको छ । यसबाट हिमयुगको चक्रमा आएको परिवर्तन र वायुमण्डलमा हरितगृह ग्यासको स्तरमा भएका परिवर्तनहरू बुझ्न सजिलो हुनेछ । यस खोजले पृथ्वीको बढ्दो तापक्रम र जलवायु परिवर्तनमा कार्बनडाइअक्साइड र मिथेनजस्ता हरितगृह ग्याँसको भूमिका पनि उजागर गर्ने वैज्ञानिकहरू बताउँछन् ।
वैज्ञानिकहरुले चार वर्षको मेहनतपछि बरफको नमूना प्राप्त गरेका हुन् । इटाली र अन्य देशका १६ वैज्ञानिक र सहयोगी कर्मचारीहरूले अन्टार्कटिकाको कडा चिसो मौसममा (औसत माइनस ३५ डिग्री सेल्सियस) काम गरेका थिए । यसअघि सन् २०२० मा सोही टोलीले ८ लाख वर्ष पुरानो बरफको नमूना निकालेको थियो ।
यो ऐतिहासिक काम कसरी भयो ?
बरफको यो प्राचीन नमूना पत्ता लगाउन वैज्ञानिकहरूले धेरै सोचविचार गरेर ठाउँहरू छानेका थिए । सम्भावित स्थानहरू आइस सिटको मोडेलिङको आधारमा पहिचान गरिएको थियो, त्यसपछि आइसोटोप ड्रिल प्रयोग गरेर ड्रिलिंग प्रक्रिया सुरु गरिएको थियो । यी उपकरणहरूद्वारा हिउँको गहिराइ र उमेर सही रूपमा मूल्याङ्कन गरिएको थियो । ब्रिटिश अन्टार्कटिक सर्वेक्षण (बीएएस) रडारहरूको सहयोगमा स्थानीय बरफ गतिविधिको डाटा सङ्कलन गरियो, जसले वैज्ञानिकहरूलाई सही स्थान पत्ता लगाउन मद्दत गर्यो।
यो खोज किन महत्त्वपूर्ण छ ?
यस परियोजनाले अब पृथ्वीको पुरानो जलवायु ढाँचा र हरितगृह ग्याँसहरू बीचको सम्बन्धमा गहिरो जानकारी प्रदान गर्नेछ। हरितगृह ग्याँसहरू जुन आइसकोर भित्र फसेका हावाका फोकामा सुरक्षित हुन्छन्, तिनीहरूको अध्ययन गरेर, वैज्ञानिकहरू तापमानको उतार चढ़ाव र जलवायु परिवर्तनले पृथ्वीलाई कसरी असर गर्छ भनेर बुझ्न सफल हुन सक्छन्। वैज्ञानिकहरूले यो खोज पृथ्वीको वातावरणीय परिवर्तनहरू बुझ्न कोसेढुङ्गा सावित हुने आशा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया