काठमाडौँ– सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)मा उपचारत कलाकार घनश्याम गौतमको स्वास्थ्य अवस्था सुधारान्मुख अवस्थामा रहेकाे पत्नी युगज्योतिले जानकारी दिएकी छिन्।
स्वास्थ्य अवस्था गम्भीर देखिएपछि उनलाई मङ्गलबार राती नै केएमसीमा पुर्याइएको थियो । पिसाब बन्द भएको अवस्थामा मृगौलामा कुनै क्षति नपुगोस् भनेर त्यसलाई खुलाउन बुधबार साँझ नै उनको तत्काल अप्रेसन गरिएको पत्नी युगज्योतिले बताइन् । अहिले उनको केएमसीको मेडिसिन हाइकेयर वार्डमा उपचार भइरहेको छ ।
‘उहाँलाई राती नै निकै गाह्रो भएको महसूस भएपछि यता अस्पताल ल्याइएको हो,’ उनले भनिन्, ‘पिसाब बन्द भएर उहाँलाई झन गाह्रो भएको रहेछ । त्यसले दिमागसम्म असर गरेर बुधबार दिउँसो मान्छे चिन्ने अवस्थामा समेत हुनुहुन्थेन ।’
उनका अनुसार तत्कालका लागि अप्रेसन गरेर पिसाब खुलाएपछि स्वास्थ्यमा निकै सुधार भएको छ । आन्द्रामा रगत बगिरहेको र अझै जटिलता देखिएकोले चिकित्सकहरुले अन्य अप्रेसन गर्नुपर्ने बताएका छन् । डेढ वर्ष अघि देखि आन्द्राको क्यान्सर देखिएपछि भक्तपुर क्यान्सर अस्पतालमा उनले उपचार गराइरहेका छन् ।
उनी थप उपचारका लागि केही महिनाअघि भारतमा गएका थिए । पिसाबमा समस्या देखिएपछि उनलाई भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा भर्ना समेत गरिएको थियो । त्यहाँ उनको मृगौलामा समस्या नभएको देखिएपछि अस्पतालले डिस्चार्ज गरिदिएको थियो ।
स्वास्थ्य अवस्था जटिल नै रहेपछि थप उपचारकै लागि उनलाई पुनः क्यान्सर अस्पतालमा पुर्याइएको थियो । अस्पतालमा चिकित्सकहरुले बिरामीलाई बेवास्ता गरेपछि केएमसीमा ल्याइएको पत्नी युगज्योतिले सुनाइन् ।
नक्कली प्रचण्डका रुपमा हास्य व्यङ्ग्य प्रहसनमा आफ्नो पहिचान बनाएका झापा, सुन्दरनगर गौरादहका गौतम नाटक, प्रहसन, टेलिश्रृङ्खला, फिल्म तथा सङ्गीत क्षेत्रमा तीन दशकदेखि लागिरहेका छन् ।
क्यान्सरसँग जुधिरहेकै अवस्थामा समेत उनले तीज गीत ‘मै अगाभी चेली खुसी छैन बरिलै’ र तिहार गीत ‘मौलिक देउसी भैलो’ गीत सार्वजनिक गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया