काठमाडौँ– नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौँमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ ।
ठमेल स्थित छायाँ सेन्टरको क्युएफएक्समा पुस २५ गते (जनवरी ९) मा उक्त कार्यक्रम आयोजना हुँदैछ । कार्यक्रम आयोजना गर्नुको मुख्य उदेश्य भनेको दुई देशबीच आगामी दिनमा चलचित्र निर्माण, प्रबर्धन र बजारिकरणमा सहकार्य हुने लक्ष्य लिएको आयोजकले जनाएको छ ।
साथै यस्ता खालका कार्यक्रमले दुई देशबिच सांस्कृतिक आदान प्रदानमा सहयोग पु¥याउने छ । चाइना फिल्म एडमिनिस्ट्रेशन, नेपाल स्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ, र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी द्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा तीन चर्चित चिनियाँ चलचित्र प्रदर्शन गरिनेछ ।
प्रदर्शन पश्चात चलचित्रका निर्माता, निर्देशक तथा कलाकारहरुसँगको अन्तरक्रियामा दर्शकले पनि सहभागिता जनाउन पाउनेछन् ।
कार्यक्रममा ‘हर स्टोरी’, ‘मिडसमर्स भ्वाइस’ र ‘जीफर ग्याप’ चलचित्रहरु देखाइनेछन् । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार, निर्देशक, प्राविधिकहरू, र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने कार्यक्रममा नेपालस्थित चिनियाँ दूतावास, नेपाल चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डका विशिष्ट पदाधिकारीहरुले समेत सहभागिता रहनेछ ।
दुई देशका चलचित्रकर्मीहरूबीचको सहकार्यलाई अगाडि बढाउने अपेक्षा गरिएको कार्यक्रममा पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुनको प्रमुख आतिथ्यता रहने जनाएको छ । चलचित्रका निर्माता, निर्देशक र कलाकार गरी १४ जनाको टिमको नेतृत्व चाइना फिल्म एडमिनिस्ट्रेशनको अन्तर्राष्ट्रिय विभागका निर्देशक सुयाङले गर्नेछन ।
‘चाइना फिल्म डे’ को महत्वबारे नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले यो केवल चलचित्र प्रदर्शन गर्ने कार्यक्रम मात्र होइन, दुई जीवन्त संस्कृतिलाई जोड्ने पुल पनि भएको बताए । उनले भने, ‘यसले चिनियाँ चलचित्रहरूको सिर्जनशीलता र गहिराई प्रस्तुत गरेर, हामी नेपाली चलचित्रकर्मीहरूलाई सिक्न, सहकार्य गर्न र आफ्नो क्षितिज फराकिलो बनाउन अवसर प्रदान गर्नेछ ।’
‘चाइना फिल्म डे’ ले २०२५ र त्यसपछिका दिनहरूमा नेपाल–चीन सांस्कृतिक कूटनीतिक र चलचित्र सहकार्यलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
यो ऐतिहासिक अवसरले नेपाल र चीनबीचको चलचित्र र सांस्कृतिक सम्बन्धमा नयाँ पाटो थप्दै दुवै राष्ट्रबीच थप गहिरो सहकार्य र सहभागिताको आधार तयार गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया