काठमाडौँ – विश्व खाद्य वस्तुको मूल्य अघिल्लो वर्षको तुलनामा २०२४ मा २.१ प्रतिशतले घटेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन ‘एफएओ’ ले शुक्रबार बताएको छ । यद्यपि यो कोभिड–१९ महामारीअघिको तुलनामा उल्लेख्य रूपमा माथि छ ।
एफएओको समग्र खाद्य मूल्य सूचकाङ्क औसत १२२.० अङ्क रह्यो । यो सन् २०२३ को औसत मूल्यभन्दा २.६ अङ्क अर्थात २.१ प्रतिशत कम हो ।
यद्यपि खाद्य मूल्यहरू यस वर्षको अवधिमा बढेको छ । सूचकाङ्क जनवरीमा ११७.६ अङ्कबाट डिसेम्बरमा १२७.० मा पुगेको छ । मुख्य रूपमा मासु, डेरी र खाद्य तेलको वृद्धिका कारण सूचकाङ्क डिसेम्बर २०२३ देखि २०२४ सम्म ६.७ प्रतिशतले बढ्यो ।
संयुक्त राष्ट्रसङ्घको खाद्य एजेन्सीले विश्वव्यापी रूपमा कारोबार हुने वस्तुहरूको अन्तर्राष्ट्रिय मूल्यमा हुने मासिक र विश्वव्यापी परिवर्तनको अनुगमन गर्छ । खाद्यान्नको मूल्य पनि पाँच वर्ष अघिको तुलनामा उल्लेखनीय रूपमा उच्च अर्थात करिब २६ प्रतिशत रहेको छ ।
कोभिड–१९ महामारीको समयमा विश्वव्यापी व्यापारमा आएको अवरोधले सुरुमा खाद्यान्नको मूल्यमा गिरावट ल्याए पनि पछि विश्वव्यापी अर्थतन्त्रमा पुनरुत्थान भएपछि मुद्रास्फीति बढेकाले ती उच्च भए ।
सन् २०२२ फेब्रुअरीमा युक्रेनमा रुसले आक्रमण गरेपछि मूल्य रेकर्ड स्तरमा पुग्यो किनकि दुवै देश प्रमुख गहुँ निर्यातक हुन् । यद्यपि ढुवानी अवरुद्ध नभएको सुनिश्चित गर्ने प्रयासहरूले सन् २०२४ को सुरुआतसम्म मूल्य घट्दै गयो ।
सन् २०२३ र २०२४ का बीचमा सूचकाङ्कको औसत मूल्यमा आएको गिरावट मुख्यतया खाद्यान्न र चिनीको मूल्यमा आएको गिरावटका कारण थियो ।
सन् २०२३ को तुलनामा अन्न १३.३ प्रतिशतले घटेको छ भने एफएओको चिनीको मूल्य सूचकाङ्क १३.२ प्रतिशतले घटेको छ । वनस्पति तेलको मूल्य सूचकाङ्कमा ९.४ प्रतिशतले वृद्धि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया