पक्षाघात अर्थात् प्यारालाइसिसका कारण कैयन् व्यक्ति शारीरिक रुपमा अशक्त बन्छन् । प्यारालाइसिस भयो भने शरीरका केही अङ्गले काम गर्दैनन् र एक हर मात्र चल्ने समस्या उत्पन्न हुन्छ । त्यसैले प्यारालाइसिस भएका बिरामीलाई दैनिक जीवन पनि कष्टकरपूर्ण हुन्छ ।
कतिपय व्यक्ति वयस्क अवस्थामा धेरै शारीरिक व्यायाम गर्ने तर बुढेशकालमा निष्क्रिय हुँदा पनि प्यारालाइसिस हुने जोखिम हुन्छ । जब हाम्रो शरीरको अङ्ग निष्क्रिय बन्छ या लरबराउँछ, त्यसलाई हामी प्यारालाइसिस भनेर बुझ्न सक्छौँ ।
‘के शरीरको अंग नचल्नु नै प्यारालाइसिस हो त ?, के कारणले हुन्छ प्यारालाइसिस ?,यस्तो समस्या हुन नदिन के गर्ने’लगायतका सन्दर्भमा ग्राण्डी अस्पतालमा कार्यरत न्युरोलोजिस्ट डा. सुवास फुयाँलसँग जोय नेपालकर्मी सुस्मिता फुयाँलले गरेको कुराकानी:
प्यारालाइसिस कस्तो समस्या हो ?
दिमागमा रगत पुर्याउने नसा बन्द भएर सिर्जित हुने समस्यालाई प्यारालाइसिस भनिन्छ । शरीरको सबै अङ्ग नियन्त्रण गर्ने भनेकै दिमागले हो । सोच्ने, बोल्ने, हातखुट्टा चलाउने, मुटुको धड्कन, श्वास फेर्ने सबै केन्द्र दिमागमा हुन्छ । यसलाई जीवित बनाएर राख्न रक्त सञ्चार भएर सबै केन्द्रमा पुग्न आवश्यक हुन्छ ।
दायाँ भागको दिमागमा लिएर जाने रगतको नसा बन्द भयो भने एक्कासी हातखुट्टा चल्दैनन् र प्यारालाइसिस हुन्छ । बोल्न सकिँदैन, आँखा धमिलो देख्ने, मुख बाङ्गो हुने हुन्छ । यसलाई नै सामान्य भाषामा प्यारालाइसिस भन्ने गरिन्छ ।
प्यारालाइसिस कसलाई र किन हुन्छ ?
४० वर्ष भन्दा माथि उमेरका व्यक्तिहरुलाई प्यारालाइसिस हुने सम्भावना हुन्छ । सुगरका बिरामीलाई पनि यो समस्या हुने सम्भावना हुन्छ । सुगरको औषधि सेवन गर्नु भएन भने पनि यो समस्या हुने देखिन्छ । रगतमा भएका सुगरको मात्रा दिमागको नसामा गएर जम्ने हुन्छ । यसले दिमागको नसा बन्द हुने समस्या आउँछ ।
प्रेसरका बिरामीलाई प्रेसर परीक्षण गरिएको छैन, प्रेसर परीक्षण गरेर पनि नियमित औषधि सेवन गरेका छैन भने पनि प्यारालाइसिस हुने सम्भावना रहन्छ । प्रेसर दिमागको नसामा पुग्छ । ती नसा खुम्चिँदै गएर बन्द हुन्छ । यसले प्यारालाइसिस गराउँछ ।
आजको भोलिभन्दा पनि लामो समयमा यो समस्या देखा पर्छ । यस्तै, मोटोपना भएका व्यक्तिमा यो रोग लाग्न सक्छ । त्यसैले मोटोपना बढी भएका व्यक्तिले नियमित रुपमा व्यायाम गर्नुपर्छ । धुम्रपान सेवन गर्ने, मादक पदार्थ सेवन गर्ने व्यक्ति, मुटुको समस्या भएका व्यक्तिमा यो रोग बढी हुन्छ । मुटुले रगत फालेर शरीरका विभिन्न ठाउँमा पुर्याउने गर्छ । तर मुटुमै समस्या भएमा रगत राम्रोसँग फ्याक्न सकेन भने रगत जमेर ढिक्का बन्छ ।
रगत ढिक्का बन्न नदिन मुटु रोगका बिरामीलाई रगत पातलो बनाउने औषधि दिइन्छ । त्यो औषधि नियमित सेवन नगरेमा रगत जम्छ । रगतको ढिक्का उछिट्टिएर दिमागका अन्य नसामा गएर बन्द भइदिन्छ । यिनै कारणले गर्दा प्यारालाइसिस, पक्षघात तथा स्ट्रोकको समस्या देखिन्छ ।
प्यारालाइसिस भएको कसरी थाहा पाउने ? यसका लक्षणहरु कस्ता हुन्छन्?
प्यारालाइसिसको लक्षण छिटो देखिन्छ । यद्यपि लक्षण देखिएको केही क्षणमै अवस्था गम्भीर बन्न सक्छ । ब्यालेन्स शरीरको सन्तुलत बिग्रने । हिँड्न, बस्न र उठ्न असहज हुने, आँखा धमिलो देख्नु, एउटा वा दुवै आँखाले हेर्नमा कठिनाइ हुनु, अनुहार र मुख बाङ्गिनु, हात लुलो हुनु, शरीरको एक भाग अचानक कमजोर महसूस हुनु, बोली लर्बराउनु आदि हुन्छ ।
यो रोग एक्कासी हुने हो । यसमा समय एउटा महत्वपूर्ण कुरा हो । यसमा गोल्डेन आवर भन्ने हुन्छ । यस्ता लक्षण भएका व्यक्तिको दिमागको नसा बन्द भएको हुन सक्छ । त्यो दिमागको नसा समयमै अर्थात् २४ घण्टाभित्र खोल्न सकेमा पहिलाजस्तै मान्छे निको हुन्छ । त्यही भएर समय एकदमै महत्वपूर्ण हुन्छ ।
कुन उमेर समूहलाई यस्तो समस्या हुने जोखिम बढी हुन्छ ?
पछिल्लो समय साना उमेरका व्यक्तिलाई पनि प्यारालाइसिसको जोखिम बढ्दो छ । पहिला बढ्दो उमेरमा स्ट्रोकको जोखिम हुन्छ भनिन्थ्यो । किनकि सुगर, प्रेसर लगायत रोगहरू बढ्दो उमेरमा देखिन्थ्यो तर पछिल्लो समय आएर मैले २० वर्षको मानिसलाई पनि उपचार गरेको छु । ९२ उमेरकालाई पनि उपचार गरेको छु ।
२०–२२ वर्ष उमेरकालाई पनि यो रोग हुन थालेको छ । किनभने कम उमेरका मानिसले पनि एकदमै तनाव लिन्छन् । सुत्ने–उठ्ने तालिका मिलेको छैन । सामान्यतया मानिस ७ देखि ९ घण्टा सुत्नु पर्छ । तर तनाव लिन्छौँ, यो सबै कुराले पनि प्यारालाइसिस गराउँछ । अहिले एकसय जनामध्ये १५ जना ४० वर्षभन्दा कम उमेरका व्यक्तिलाई पनि प्यारालाइसिस भएको पाइन्छ ।
यसको उपचार विधि कस्तो छ ?
सन् २०१५ पछि विश्वले नै नयाँ फट्को मारेको छ । २०१५ अगाडि नसामा जमेको रगत पगाल्न औषधि दिइन्थ्यो । तर विभिन्न अध्ययनले मोटो नशामा त्यो औषधिले खासै राम्रो काम गरेको देखिएन । त्यसपछि सन् २०१५ पछि गाइडलाइन नै परिवर्तन भयो ।
मोटो नशा बन्द हुँदा गर्नैपर्ने उपचार पद्धति मेकानिकल थ्रोम्बेक्टोमी हो । यो भनेको तारमार्फत बन्द भएका नसालाई खोल्न सक्ने प्रविधि हो । नेपालमा पनि २०१९ यता यो प्रविधि भित्रिएको छ । यसैलाई न्युरोइन्टरभेन्सन पनि भनिन्छ ।
यसको उपचार खर्च कम्तीमा ४ लाख रुपैयाँ हाराहारी हुन्छ । उपचार पद्धतिमा प्रयोग हुने सामग्रीहरू महङ्गो पर्ने भएकाले यो उपचार अलिक खर्चिलो छ । धेरै रोगमध्ये एकदम कम रोग हुन्छन्, जसलाई गोल्डेन आवरमा उपचार गर्नुपर्छ । यो रोग पनि २४ घण्टाभित्र उपचार गर्न सकिएन भने उपचार सम्भव नै हुँदैन ।
एकपटक प्यारालाइसिस भएको व्यक्तिलाई सामान्य व्यक्तिको तुलनामा पुनः प्यारालाइसिस हुन सक्ने सम्भावना बढी हुन्छ । त्यस्ता व्यक्तिले नियमित औषधि सेवन गर्ने, नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । यस्ता समस्याको पहिचान गर्ने र उपचार गर्ने प्रविधि नै न्यूरो इन्टरभेन्सन हो ।
टाउको नखोलिकन खुट्टाको नसाबाट सानो तार प्रवेश गराएर समस्या देखिएको भागसम्म पुर्याइ यो प्रविधिमार्फत उपचार गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया