मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘मध्यपुर महोत्सव’ अवलोकन गर्नेको घुइँचो

काठमाडौँ- मध्यपुरथिमि नगरपालिकाले २६ वर्षपछि आयोजना गरेको तीनदिने ‘मध्यपुर महोत्सव’ मा अवलोकनकर्ताको घुइँचो लागेको छ । महोत्सवको आज दोस्रो दिन शङ्खधर साख्वाः चोकबाट बालकुमारी, चपाचो, बाहाखाबजारसम्म अवलोकन गर्न आउनेको घुइँचो लागेको हो । योमरी, बारा, चटामरी, नेवारी खाजालगायत स्थानीय परिकारका स्थल राखिएका कक्षमा अवलोकनकर्ताको बढी उपस्थिति देखिन्थ्यो ।

महोत्सवमा आउनेहरूको आकर्षण अ‍ैँला, छ्याङका साथै नेवारी परिकारका खानाका स्टलमा बढी देखिएको थियो । आज अवलोकनका लागि सांसद दूर्लभ थापा, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, विभिन्न दलका नेता तथा जनप्रतिनिधिलगायत आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य उपस्थिति थियो । महानगरप्रमुख महर्जनले मध्यपुर महोत्सवमा अवलोकनकर्ताको घुइँचोले यहाँको कला, संस्कृति, स्थानीय परिकारलगायत यहाँको परिवेशले आकर्षण गरेको स्पष्ट हुने धारणा राखे ।

उनले कला, संस्कृति, परम्परासहित धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न यस किसिमका महोत्सव बेलाबेलामा आयोजना गर्नु आवश्यक रहेको बताए । यहाँका सम्पदाको संरक्षण र प्रचारप्रास गर्दै पर्यटन र आर्थिक विकासमा टेवा पुग्नेगरी महोत्सव आयोजना गरिएको जनाइएको छ । महोत्सव हेर्न आएका अवलोकनकर्ताको घुइँचो र उत्साहले पर्यटन प्रवर्द्धनमा सकारात्मक उर्जा थपेको बताउँदै यसले यहाँका धार्मिक तथा ऐतिहासिक सम्पदा, कला र संस्कृतिको महत्वलाई दर्शाएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले उल्लेख गरे ।

मध्यपुरथिमिको सम्पदालाई रोजगारी र आयसँग जोडेर अर्थतन्त्रलाई थप गतिशील बनाउने अवधारणाका साथ शुक्रबारदेखि सुरु भएको महोत्सव आइतबारसम्म सञ्चालन हुने जनाउँदै उनले महोत्सवले यहाँको आर्थिक समृद्धि हासिल गर्न र पर्यटकीय गतिविधि बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

“नगरमा दीर्घकालीन रूपमा आर्थिक समृद्धि हासिल गर्न, मध्यपुरको पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउँदै स्थानीय मौलिकतालाई केन्द्रमा राखेर महोत्सव सञ्चालन गरिएको हो”, नगरप्रमुख श्रेष्ठले भने, “यसले स्थानीयको जीवनस्तर उकास्न टेवा पुर्‍याउनुका साथै नगरको दिगो विकासमा सहयोगी बन्नेछ ।”

महोत्सव अवधिभर नगरको ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व र सम्पदाको प्रदर्शन गरिने, स्थानीय मौलिक खाना, पेसा र उत्पादनको प्रवर्द्धन गर्दै मध्यपुरलाई स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यका रूपमा परिचित गराउने उद्देश्य रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?