मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आधुनिक नाटकका प्रणेता हेनरिक इब्सन

काठमाडौँ– नर्वेजियन नाटककार हेनरिक इब्सनलाई आधुनिक नाटकका प्रणेताका रुपमा मानिन्छ । इब्सेनलाई यथार्थवाद र आधुनिक नाटकका पिता भनेर पनि चिनिन्छ ।

मार्च २०, १८२८ मा स्किन, नर्वेमा जन्मिएका इब्सन १९औं शताब्दीको उत्तरार्धमा आधुनिक यथार्थवादी नाटककारका रुपमा उदाएका थिए । उनले १९ औं शताब्दी उत्तरार्धमा मेलोड्रामा आधुनिक यथार्थपरक नाटक सिर्जनाहरु गरेर नाटक विधालाई नयाँ धार दिने काम गरे ।

उनले नाटककै माध्यममा तत्कालीन समाजको यथार्थता, आम मानिसको दृष्टिकोण र विचारहरुलाई प्रस्तुत गरे । जुन उनका सिर्जनाहरु आजसम्म नेपाली समाजका लागि पनि उतिकै समय सान्दर्भिक छन् ।

कलेज अध्ययनको क्रममा नै नाटक लेखनतिर झुकाव राखेका इब्सन पाठ्यक्रममा पढेका केही नाटकहरु अध्ययनपछि अझै प्रभावित भएका थिए ।

सन् १८५० मा उनी कलेजको अध्ययनकै सिलसिलामा नै क्रिस्टियानिया (ओस्लो)  पुगेका थिए । त्यही क्रममा उनी बर्गनको नयाँ थिएटरमा निर्देशक र नाटककारका रुपमा नियुक्त भएका थिए ।

उनी २३ वर्षको उमेरमा नै उनी औपचारिक रुपमा नाटक लेखन र निर्देशतिर लागेका थिए ।

नाटकमा लाग्न राम्रो अवसर भएपनि उनलाई परम्परागत धारमा चलेको नाटक परम्परामा रहेर काम गर्न कठिन नै थियो । तथापि उनले नाटकमा स्वतन्त्रता र यथार्थवादलाई खोजी शुरु गरे ।

१८६०को दशकमा उनले सिर्जना गरेका रोमान्टिक पद्य नाटकहरूबाट युरोप हुँदै अमेरिकन रङ्मञ्चसम्म ठूलो प्रभाव परेको थियो । उनको नाटक ‘डल्स हाउस’ युरोप र  अमेरिकामा मात्र होइन, नेपालसम्म पनि ठूलो प्रभाव पारेको छ ।

आरोहण गुरुकुलमा नेपाली अनुवादसहित रङ्गकर्मी सुनील पोखरेलको निर्देशनमा ‘पुतलीको घर’ नाममा सयौंपटक यस नाटक मञ्चन गरिएको थियो भने झण्डै तीन वर्षअघि थापागाउँस्थित कुञ्ज थिएटरमा गुरुकुलको पुनरागमनमा औपचारिक शुभारम्भ यही नाटक मञ्चनबाट गरिएको थियो ।

जुन नाटकले वैवाहिक जीवनपछि परिवारभित्र पतीपत्नीको सम्बन्ध, विवाहपछि महिलाको अवस्था र महिला सशक्तिकरणको पक्षलाई जोडदारका साथ उठान गरेको छ ।

आफ्नो करिअरको शुरुवाती समयमा इब्सनले नर्वेजियन इतिहासका विषयवस्तुहरूमा नै आधारित भएर पद्य नाटकहरू लेखे । उनी नाटक लेखन मात्र नभएर मञ्च व्यवस्थापक, प्रबन्धक, थिएटरको निर्देशकका रूपमा समेत थिए । इब्सन ३६ वर्षको उमेरमा सन् १८६४मा नर्वे छोडेर रोममा पुगे । त्यहाँ उनले नाटकहरु ‘ब्रान्ड(१८६६)’ र ‘पियर गिन्ट(१८६७)’ लेखे । जुन नाटकहरुले उनलाई युरोपभरि स्थापित गरायो । पद्यमा लेखिएको दुवै नाटकहरुमा युरोपेली रोमान्टिक नाटकको परम्परालाई पछ्याइएको छ ।

नाटक ‘ब्रान्ड’मा एक पारिवारिक विरहको कथा छ । जसमा एक जना पास्टरले प्रेम र कर्तव्यको प्रचार गरेपनि परिवारप्रति भने उनको बेवास्ता र कठोर हृदयका कारण उनकी पत्नी र छोराको मृत्यु हुन्छ ।

नाटकको अन्त्यमा पास्टर ब्रान्डको पनि हिमपहिरोमा मृत्यु हुन्छ । ‘पियर गिन्ट’मा भने मिथक र लोक कथा समावेश गरिएको छ ।

उनका दुवै नाटकहरूले मानव कर्तव्य र आनन्द, वा कर्तव्य र प्रेम, वा अरूप्रतिको कर्तव्य र आफैंप्रतिको कर्तव्य बीचको द्वन्द्वलाई प्रस्तुत गरेको छ ।

इब्सनभन्दा अघिका नाटकारहरुले वास्तविक जीवनभन्दा पर रहेर पौराणिक र अलौकिक पक्षहरुलाई बढी जोड दिए । ती नाटकले काव्यात्मक लयमा बढी प्रतीकवादलाई जोड दिएका थिए ।

यद्यपि इब्सनले आधुनिक जीवन र जगतलाई नियाल्दै यथार्थवादी गद्य नाटकहरू लेखनको परम्परा बसाले । आधुनिक धारमा लेखिएका ‘अ डल्स हाउस (१८७९) र घोस्ट्स (१८८१) जस्ता नाटकहरुले उनलाई सफलता दिलायो ।

एमिल जोला र अगस्ट स्ट्राइन्डबर्ग जस्ता नाटकहरुले वकालत गरेका प्रकृतिवादी, वैज्ञानिक विश्व दृष्टिकोणलाई विषयलाई केही मात्रामा समावेश गरेपनि इब्सनले बढी सामाजिक यथार्थवादलाई नै जोड दिए ।

इटलीबाट जर्मनीको बसाइँपछि नै उनले गद्य नाटक लेखनलाई अगाडि बढाएका थिए । जहाँ उनी बीस वर्षसम्म बसे । १८९०मा लेखिएको ‘हेड्डा ग्याब्लर’ इब्सनको अन्तिम बहुचर्चित यथार्थवादी नाटक हो ।

जुन नाटक उन्नाइसौं शताब्दीको अन्तिम दशकमा सम्पूर्ण युरोपभरि उनको नाटक लेखन र मञ्चनमा प्रसिद्धिको उचाइ चुमिरहेको समयमा प्रकाशित भएको थियो ।

महिला, सामाजिक, यौनिक, मनोविज्ञानजस्ता विषयलाई उठान गरिएको नाटकलाई नेपाली अनुवाद गरी रङ्गकर्मी प्रवीण खतिवडाको निर्देशनमा १० वर्षअघि बत्तीसपुलतीस्थित शिल्पी थिएटरमा मञ्चन गरिएको थियो । 

१८९१ मा नर्वे फर्केपछि इब्सनले अर्को नाटक ‘द मास्टर बिल्डर(१८९२)लेखे । यस नाटकमा उनले यथार्थवाद र प्रतीकवादको आधारमा मनोवैज्ञानिक पक्षलाई केलाउने जमर्को गरे ।

यस नाटकबाट नै उनले मानिसको मानसिक अवस्था र अचेतन दिमागको नयाँ खोजतर्फ आफ्नो नयाँ लेखन दायराको शुरुवात गरे । उनको अन्तिम कृति मानिएको ‘व्हेन वी डेड अवेकन (१८९९)’मा उनले रहस्यवादलाई अझ खुला रूपमा प्रस्तुत गरेका छन् ।

बीसौं शताब्दीमा सिर्जना भएका उनका अन्तिम लेखनहरुमा सपना, भूत, विभिन्न प्रतीकहरुमा चाखलाग्दा विषयहरु छन् । यद्यपि युरोप र अमेरिकाको आधुनिक नाटक र थिएटर विकासको श्रेय उनैलाई जान्छ ।

इब्सनको निधन २३ मे, १९०६मा स्ट्रोकका कारण क्रिस्टियानिया(हाल ओस्लो)मा आफ्नै घरमा भएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?