काठमाडौँ– आधुनिकताको फड्कोमा आफूलाई तीव्र गतिमा दौडाइरहेका समकालीन समाज र तिनका संवेदनाहरु बोकेका हृदयहरु कता छन् ?
आमाबुवालाई भगवान्को श्रेय दिने पूर्वीय दर्शनलाई आजका पुस्ताहरुले कसरी भुल्दै गए ? पश्चिमा आधुनिक शिक्षाको जगमा हिँडिरहेका कलिया पुस्ताहरु कसरी परिवारभित्रै एक्लिएका छन् ? यिनै प्रश्नहरुको उत्तर खोतल्दै नाटक ‘यशस्वी भव’ मञ्चन शुरु भएको छ ।
थापागाउँस्थित शिल्पशाला कुञ्ज थिएटरमा पुस ३ गतेदेखि मञ्चन शुरु गरिएको नाटकको लेखन तथा निर्देशन रङ्गकर्मी राम के.ए.सी.ले गरेका छन् । बालबालिका केन्द्रीत नाटकले पछिल्लो समयमा आमाबुवालाई आफ्नै सन्तानले वृद्धाश्रम पुर्याउने प्रवृत्तिलाई उजागर गरेको छ ।
घरमा अग्रज पुस्ताको आवश्यकता कति र किन छ भन्ने औचित्यलाई खोतल्दै नाटकले बाल मनोविज्ञानलाई समेत प्रस्तुत गरेको छ । नाटकमा हजुरआमा, आमाबुवा र नातिनी गरी तीन पुस्ताहरु प्रस्तुत गरिएका छन् ।
यी तिनै पुस्ताको सम्बन्धमा आएको उत्तारचढाव र त्यसले नातिनी पुस्तामा पारेको मानसिक प्रभावलाई नाटकले मुख्य विषयवस्तु बनाएको छ ।
यस मार्फत अभिभावकहरुबाट भौतिक दूरीमा रहेका बालबालिकाहरुलाई कस्तो वातावरण दिनुपर्छ भन्ने सन्देश समेत दिने जमर्को गरिएको छ । पुस ६ गतेसम्म मञ्चन हुने नाटकमा बाल कलाकारहरु मनसुन फुँयाल, सद्भावना थापा, रेशिका श्रेष्ठ, मञ्जुरी श्रेष्ठ, दीपिका श्रेष्ठ, एन्जल श्रेष्ठ, सदिक्षा श्रेष्ठ, इरा श्रेष्ठ, अनुष्का श्रेष्ठ, प्रान्तिका श्रेष्ठ, रवानी श्रेष्ठ, मेलिसा श्रेष्ठ र राजन रानामगरको अभिनय रहेको छ ।
नाटकलाई सद्भाव थिएटर नेपाल र पिक प्वाइन्ट एडुकेशन नेटवर्कको सहकार्यमा निर्माण गरिएको हो ।
तस्वीरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया