मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेलिब्रेटी

यस्तो छ सङ्गीतबाट ‘ब्रेक’ लिने घोषणा गरेकी गायिका अभया सुब्बाको साङ्गीतिक उतारचढाव

काठमाडौँ– ‘मैले सङ्गीतबाट ब्रेक लिँदैछु । कहिलेकाहीँ एउटा जोश पनि आफैंलाई भारी पर्न सक्छ भनेर कहिल्यै महसूस गरिनँ ।’

नेपाली रक गीत जनरामा स्थापित गायिका अभया सुब्बाले सामाजिक सञ्जालमा यी शब्दहरु लेखेर एक्कासी सङ्गीतबाट ब्रेक लिने घोषणा गर्दै गर्दा उनका फ्यानहरु निकै आश्चर्यमा परे । उनले सञ्जालमार्फत नै अबको यात्रामा सङ्गीतको अलवा अन्य प्रेम र सङ्कल्पहरु खोज्ने बताएकी छिन् ।

उनको निर्णयप्रति कतिपयले आश्चर्य प्रकट गरेका छन् भने कतिपयले भने उनलाई ठिकै गरेको मिश्रित प्रतिक्रिया दिएका छन् ।

नेपाली रक गीत जनरामा अभयाको उपस्थितिलाई निकै महत्वपूर्ण रुपमा लिइन्छ । उनको गायन शैली र सिर्जना मात्र होइन, व्यक्तित्व समेत आम महिलाहरुलाई जागरण ल्याउने किसिमको छ ।

दार्जिलिङमा जन्मिएकी अभयालाई रकस्टार क्विन नै मानिन्छ । दिल्लीस्थित सेन्ट जेभियर्स कलेजबाट एलएलबी सकाएर उनी सन् २००१मा नेपाल आएकी थिइन् । त्यसपछि उनी यतै बसिन् ।

पाँचतारे होटलहरुमा अङ्ग्रेजी गीतहरु गाएर साङ्गीतिक यात्रा शुरु गरेकी अभया सानैदेखि सङ्गीतप्रेमी मात्र नभएर निडर र हक्की स्वभावकी थिइन् । लाइभ कन्सर्टमा अङ्ग्रेजी गीत नै गाएर अगाडि बढकी उनको स्वच्छन्द शैली नै आम दर्शकमा बेग्लै परिचय बन्यो ।

गायनमा उनको रक जनरा त छँदैछ, अझै त्यसमा उनको स्वतन्त्र शैलीले सङ्गीत प्रेमीहरुको ध्यान खिच्यो । यद्यपि शुरुवाती समयमा भने दर्शकको माया पाउन उनले ठूलो मेहनत गर्नुपर्‍यो ।    

‘वुमन इन कन्सर्ट’ कार्यक्रम होस् या ‘अभया एण्ड स्टिम इन्जन्स’ ब्याण्डमार्फत उनले प्रस्तुत गर्ने गीतसङ्गीतले नेपाली सङ्गीत क्षेत्रमा विशेष स्थान ओगटेको छ । सङ्गीतमार्फत महिलाको उपस्थितिलाई बढाउन ‘वुमन इन कन्सर्ट’ कार्यक्रमको भूमिका अहम् रहेको छ ।

स्टेजमा महिलाकाहरुको उपस्थिति बलियो र जबर्जस्त रहनुपर्छ भन्ने मान्यताका साथ उनले यक्त कार्यक्रमलाई अगाडि बढाएकी थिइन् । सङ्गीतबाट नै महिलाको स्वतन्त्रता र खुसी खोज्नु उनको कार्यक्रमको अर्को ध्येय थियो ।

‘बाँसको घारी’ जस्ता गीतहरु मार्फत उनले बाल विवाह गरी सानैमा घरपरिवारको बोझ थाम्नुपर्ने तमाम महिलाहरुको कथालाई उठान गरेकी छिन् । उनको गीतमा रक जनरा भएपनि त्यसमा मिसिने लोकलय र ग्रामीण भेगका कथाले आम सङ्गीतप्रेमीहरुको मन छोएका छन् । त्यसैले त उनको गीत ‘लैजाउ मलाई’ जस्ता गीतहरु आम जनजिब्रोमा बसेका छन् । जसमा लोकलय र मौलिकताको स्वाद समेत मिश्रण भएको पाइन्छ । अभयाले ‘अभया एण्ड स्टिम इन्जन्स’ दुई दशक अघि नै स्थापना गरेकी थिइन् ।

सन् २००३ मा स्थापना भएको ब्याण्डमा उनले स्वर मात्र नभएर आफैं गीत लेख्ने र कम्पोज समेत गर्ने गरेकी छिन् । केही समय अघि मात्र उनले सामाजिक सञ्जाल मार्फत नै अब आफूलाई प्रमाणित गर्नुपर्ने समय आएको बताएकी थिइन् ।

उनको धारणामा अब उनी गायिकाकै परिचयमा सीमित भएर बस्नुपर्ने अवस्था नरहेको उल्लेख थियो ।

अभयाले साङ्गीतिक यात्राको थालनी गर्दा अभियानकै रुपमा गरेकी थिइन् । जुन उनले ब्याण्ड मार्फत नै थालिन् । पछि यसलाई ‘वुमन इन कन्सर्ट’ कार्यक्रममार्फत अभियानकै रुपमा अगाडि बढाइएको थियो । सङ्गीत क्षेत्रमा समेत विभेद छ भन्ने मान्यता राख्ने उनी त्यसमा परिवर्तन हुनुपर्ने धारणासहित अगाडि बढेकी थिइन् ।

जसमा उनले रक जनरालाई छनोट गरेर रक स्टाइलमै आफूलाई प्रस्तुत गरिन् । रक सङ्गीतमा उनको आगमन नै छोरीहरु परिवर्तनका लागि विद्रोही हुनुपर्ने प्रतिकात्मक संकेत थियो । महिलाहरु प्राकृतिक रुपमै कोमल र लजालु स्वभावका हुन्छन् भन्ने मान्यता बोकेको आम समाजको अगाडि उनको रक स्टाइल नै शुरुवात समयमा नौलो थियो ।

त्यसैले शुरुवाती समयमा स्टेजमा उक्लिँदा कतिपय दर्शकहरुले ढुङ्गा हानेको र मार्नेसम्म धम्की आएको नमीठो अनुभव उनले केही अन्तर्वार्ताहरुमा सुनाएकी छिन् । त्यही दर्शकहरु माझ उनी कालान्तरमा लोकप्रिय बनेर आफूलाई प्रमाणित गर्न सफल भइन् ।

सङ्गीतको दुई दशकको यात्रामा उनी पत्नी र आमा भइन् तर आफ्नो साङ्गीतिक यात्रामा उत्तिकै सबल भएर अगाडि बढिन् ।  

उनले आफ्नो ब्याण्डमार्फत यसै वर्ष ‘बादल’ र ‘आत्तिन्छ किन’ लगायतका गीत सार्वजनिक गरेकी छिन् । अबको उनको यात्रा कस्तो रहला भन्ने बारे उनका फ्यानहरुमा निकै कौतुहलता छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?