मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म

‘पूर्ण बहादुरको सारङ्गी’ को प्रदर्शन नरोकिने, निर्माण टिमले भन्यो– फिल्म चलाउने अधिकार वितरकसँग छ

काठमाडौँ– चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ नियमित रुपमा हलमा प्रदर्शन हुने भएको छ । यसअघि निर्माण टिमले आज सोमवारदेखि आफ्नो फिल्म हलबाट उतार्ने घोषणा गरेको थियो ।

निर्माण टिमले हलबाट उतार्ने बताए पनि वितरकले भने नियमित रुपमा फिल्म प्रदर्शन गर्ने जानकारी दिएका थिए । वितरक कम्पनी टी फोक र ब्याङ्कटेस इन्टरटेनमेन्टले निर्माण टिमले भने पनि प्रदर्शन मिति नरोक्न भन्दै हललाई इमेल गरेका थिए । उनीहरुले फिल्मलाई हलबाट उतार्ने कुरामा वेवास्ता गर्न पनि हलवालालाई अनुरोध गरेका थिए ।

कानूनी रुपमा आफूहरुले फिल्म चलाउनेबारे निर्णय लिने अधिकार रहेको भन्दै निर्माण टिमको निर्णयलाई उनीहरुले अस्वीकार गरेका थिए । त्यसपछि निर्माण टिमले पनि आज (सोमवार) सूचना जारी गरेर फिल्म निरन्तर चल्ने बताएको हो ।

‘आज प्रदर्शनको ४० औँ दिनमा आइपुग्दा पनि आम दर्शकका साथै शैक्षिक संस्थाहरुबाट चलचित्र हेर्ने व्यग्र इच्छा व्यक्त भएका फोनकल तथा इमेलहरु हामीले प्राप्त गरिरहेका छौँ । यसले हामीलाई थप जिम्मेवार बनाएको छ । अघिल्लो सूचनालाई सच्याउँदै चलचित्र प्रदर्शन अधिकार वितरक कम्पनीसँग रहेकाले यसै सिलसिलामा हाम्रो चलचित्रका वितरकहरुसँग छलफल गरी चलचित्रलाई निरन्तर प्रदर्शन गर्ने निर्णय गरेका छौँ ।,’ विज्ञप्तिमा भनिएको छ ।

फिल्मले आक्रामक व्यापार गरिरहेका बेला काम शो पाएको भन्दै निर्माण टिमले फिल्म प्रदर्शन नगर्ने बताएको थियो । दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ रिलिज भएपछि यो फिल्मको शो निकै घटाइएको थियो भने कतिपय नेपाली फिल्मलाई हलबाट उतारिएको थियो ।

विजय बरालको केन्द्रीय भूमिका रहेको यो फिल्म एक बाबुले आफ्नो छोराका लागि गरेको सङ्घर्षको कथामा आधारित छ । फिल्ममा प्रकाश सपूत, माओत्से गुरुङ, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ ले नेपाली फिल्मकै इतिहासमा सबैभन्दा बढी कमाइ गर्ने फिल्मको रेकर्ड राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?