एनपीएलमा सुदूरपश्चिमको लगातार तेस्रो जित, शनिबारको खेलमा लुम्बिनी ४५ रनले पराजित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिमले फराकिलो जित निकालेको हो ।

सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४२ रनमा समेटियो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रन बनाएको हो । सुदूरपश्चिमका लागि ओपनर सेफ अलि जेबले सर्वाधिक ९० रनको योगदान दिए ।

यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले नट आउट ३९, ब्रेन्डन मक्मेलनले २३ तथा विनोद भन्डारीले १७ रन जोडे । लुम्बिनीका लागि रेमन सिमोण्डले दुई तथा रोहित पौडेल र विवेक यादवले एक–एक विकेट लिए । जारी एनपीएलमा सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो ।

यसअघि सुदूरपश्चिमले विराटनगर किंग्स र काठमाडौं गुर्खाजलाई हराएको थियो । लुम्बिनीले भने लगातार तेस्रो पटक हारेको छ । यसअघिका खेलमा लुम्बिनी विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?