काठमाडौँ– काभ्रे भुम्लु–६, कोलातीकी गीता ढलकुटीले कर्नाल बाजा जम्माजम्मी ६ दिन मात्र सिकिन् । ६ दिन बाजा सिक्दै गर्दा उनमा ठूलो उत्साह र साहस आएको छ ।
अब बाजा बजाएर भए पनि आफैं केही गर्न सक्छु भन्ने आत्मबल उनमा बढेको छ ।
त्यस्तो आत्मबल उनमा मात्र होइन, पञ्चेबाजा बजाउन सिक्दै गरेका सविना ढलकुटी, सरिता सार्की, पार्वती सार्की, भगवती नेपाली, राधिका ढलकुटीलगायतमा समेत बढेको छ । उनीहरु दमाहा, ट्याम्को, झ्याली, सहनाई, ढोलक र नरसिंगा फुक्न र बजाउन सिकिरहेका छन् ।
पञ्चे बाजा बजाएर आत्मनिर्भर बन्छु भन्ने उद्देश्यले ‘कोलाती महिला पञ्चेबाजा समूह’की अध्यक्ष ढलकुटीसहित अहिले १७/१८ जनाको टोलीमा कोही बाजा सिक्दै छन् भने कोही त्यही धुन सुन्दै छन् ।
भुम्लु गाउँपालिकाको सहयोगमा महिला पञ्चेबाजा समूहको आयोजनामा मङ्सिर ११ गतेदेखि पञ्चेबाजा प्रशिक्षण शुरु गरिएको हो । प्रशिक्षकका रुपमा सिन्धुली कला घरका उपाध्यक्ष पवित्रा रम्तेल, कलाकै घरकै सचिव रीता थिङ र सदस्य रीता बिक छन् ।
घरधन्दा र चुलोचौको मात्र नभएर सीप सिकेर आत्मनिर्भर पनि बन्ने उद्देश्य लिएर बाजा सिक्ने निर्णय गरिएको अध्यक्ष ढलकुटीले बताइन् । उनका अनुसार सीप सिकेर व्यावसायिक रुपमै अगाडि बढ्ने उद्देश्यले हालै मात्र महिला पञ्चेबाजा समूहको गठन गरिएको हो ।
समूहमा १८ जना सदस्य भएपनि प्रारम्भिक चरणमा १० जनाले मात्र बाजा सिकिरहेका छन् ।
‘सबैजना एकै चोटी सिक्नलाई हामीलाई बजेटले पुग्दैन,’ उनले भनिन्, ‘अहिलेलाई १० जनाले सिकेपछि फेरि बाँकीलाई हामी सिकाउँछौं ।’
पञ्चेबाजा प्रशिक्षणकै लागि समूहलाई गाउँपालिकाले दुई लाख रुपैयाँ बजेट छुट्याएको छ । आएको बजेटले प्रशिक्षणमै खर्च हुने भएपछि समूहले ऋण गरेर पञ्चेबाजाको एक सेट किनेको ढलकुटीले सुनाइन् । उनका अनुसार प्रशिक्षणकै क्रममा समेत समूहमा निकै उत्साह छाएको छ ।
यसले महिलाहरुको जागरणमा समेत थप टेवा पुर्याउँछ भन्ने उनको विश्वास छ । ‘बाजा बजाउन सिकेपछि म लगायत दिदीबहिनीहरु हात बाँधेर बस्नुपर्दैन । हामीले नयाँ ठाउँ घुम्न र नयाँ कुरा सिक्न सक्छौं । सिकेर केही गर्नुपर्छ भन्ने आँट हामीले लिएका छौं,’ उनले भनिन् ।
ढलकुटीले सिन्धुली कलाघर समूहमा महिलाहरुले बाजा बजाएको सामाजिक सञ्जालमा देखेकी थिइन् । त्यतिबेला देखि नै उनले आफूले पनि त्यसरी बाजा बजाउने सपना देखेकी थिइन् । उनको सपनामा उनी जस्तै घर धन्दामा सीमित भएका महिला दिदीबहिनीहरु जोडिए ।
उनीहरुको सपनालाई साकार पार्न शिवभक्ति दलित संघका नेता दीपेन्द्र सुर्खेतीले सहजीकरणको भूमिका निभाए । सुर्खेतीकै सहजीकरणमा ढलकुटीको समूह सिन्धुली कलाघरका कलाकारहरुलाई भेट्न त्यहाँसम्म पुगेका थिए ।
सिन्धुली कलाघर पुगेपछि प्रशिक्षिणको योजना बनेको उनले सुनाइन् । त्यही योजना गाउँपालिकामा सुनाएपछि उनीहरुको समूहलाई बजेट प्राप्त भयो । अहिले उनी लगायत प्रशिक्षणमा सहभागीहरु सबै घरधन्दा भ्याएर आउँछन् ।
प्रशिक्षणमा सहभागीहरु सबै विवाहित नै छन् । ढलकुटी पनि तीन सन्तानहरुलाई खानापिना गरी घरधन्दा सकाएर प्रशिक्षणका लागि आउँछिन् । सीप सिकेपछि घरधन्दा मात्र नभएर केही आर्थिक आर्जन गर्न सक्छु भन्ने हिम्मत उनले बोकेकी छिन् ।
उनको हिम्मतलाई श्रीमान्ले पनि साथ दिएको उनले बताइन् । १० दिनसम्म सिकेको कुरालाई अभ्यासकै आधारमा अगाडि लैजान्छु भन्ने उनको प्रण छ ।
छ दिनको सिकाइ निकै उत्साहजनक रहेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले बताए ।
उनले भने, ‘गाउँपालिकामा महिला दिदीबहिनीहरुको यस्तो उत्साहजनक उपस्थितिले निकै खुसी लागेको छ । यो त नसोचेको सिकाइ भइरहेको छ । उहाँहरुका लागि दिइएको बजेट त थोरै छ । तर यसमा हामीले अझै सहकार्य र सहायताका लागि सोच्नुपर्छ ।’
प्रशिक्षणले मौलिक बाजा संरक्षणसँगै यो सीप व्यावसायिक रुपमा अगाडि बढोस् भन्ने अध्यक्ष भुजेल चाहन्छन् ।
समूहमा सिक्छु र केही गर्छु भन्ने उच्च मनोकाङ्क्षाकै कारण छ दिनमै सिकाइमा निकै राम्रो भएको प्रशिक्षक रम्तेलले सुनाइन् । ‘सीप सिकेर व्यावसायिक रुपमै अगाडि बढ्छौं’ भन्ने समूहको कटिबद्धता सिकाइमा उनले देखेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया