काठमाडौँ– नेपाली चित्रकला सिर्जना र कला लेखनमा स्थापित मदन चित्रकारसँग कला वार्ता गरिएको छ ।
लाजिम्पाटस्थित सिर्जना कलेज अफ फाइन आट्र्सले मङ्सिर १८ गते मङ्गलबार गरेको ‘कला वार्ता’मा चित्रकारको आफ्नो कला यात्राका विविध पक्षमाथि प्रकाश पारे ।
कला सिर्जना र कलाकारको व्यक्तित्वलाई आम मानिस माझ पुर्याउने उद्देश्यले सिर्जना कलेजले कलाकारहरुसँग कला वार्ता गर्दै आएको छ । वार्ताकै क्रममा कलायात्रालाई उनले एउटा साधारण मानिसको असाधारण कथाको रुपमा व्याख्या गरे ।
उनका अनुसार सिर्जनामा रेखाहरूले जीवनको चित्र कोर्छन् र रङहरूले भावनाको गहिराइ बताउँछ । यसले लेखनले इतिहासका पाना पल्टाउने समेत काम गर्छ । चित्रकार अग्रज कलाकार तेजबहादुर चित्रकारका छोरा हुन् ।
मुम्बईमा कला शिक्षापश्चात् नेपाल आएर उनले कला सिर्जनासँगै कला प्राध्यापन र कला लेखनलाई निरन्तरता दिने काम गरिरहेका छन् । उनले विशेषत दृष्टान्त चित्र तथा चित्रकथाहरू सिर्जना गरेका छन् ।
साहित्यिक पुस्तकका आवरण कलादेखि पाठ्यपुस्तकहरूका उनका सिर्जनाहरु छन् । नेपाली सम्पदा स्थलहरू र प्रकृतिका दृश्यहरू, रेखाचित्रहरुलाई उनले उतारेका छन् ।
यथार्थवादी शैलीसँगै अमूर्त कला मार्फत उनले मानवीय भावनाको गहिराइ र चेतनाको सौन्दर्यलाई समेत उजागर गरेका छन् । उनी सिर्जना कलेजमा ११ वर्ष प्रिन्सिपलको रुपमा रहे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया