काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गरेको छ । रोमाञ्चक खेलमा लुम्बिनीले दिएको १ सय ९२ रनको विशाल लक्ष्य विराटनगरले एक बल बाँकी छँदै ८ विकेट गुमाएर भेट्टायो ।
विराटनगरका लागि लोकेश बमले ४७ बलमा ७१ रन बनाए । त्यसैगरी, बसिर अहमदले ४० र मार्टिन गप्टिलले २८ रन बनाए ।
लुम्बिनीका दुर्गेश गुप्ताले ३ तथा रामन सिमण्ड्स र साद बिन जफारले समान दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९१ रन बनायो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । २९ बलको सामाना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे । त्यसैगरी लुम्बिनीका टम मुर्सले ३० रन जोडे ।
विराटनगरका कप्तान सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले समान १ विकेट लिए । लुम्बिनीका ४ ब्याटर रन आउट भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया