मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

सन्तानको योजनापूर्व महिलाले सेवन गर्ने फोलिक एसिड कस्तो औषधि हो ?

काठमाडौँ– दम्पतीले सन्तानको योजना बनाउँदै गर्दा धेरै कुराहरुमा ध्यान पुर्‍याउनुपर्छ । तर हाम्रो नेपालको परिप्रेक्ष्यमा पूर्वयोजना बनाएर सन्तान जन्माउने दम्पती निकै कम छन् । बिना तयारी गर्भमा सन्तान रहेका थाहा भएपछि मात्रै दम्पती अस्पताल पुग्ने गर्छन् ।

गर्भवति भएपश्चात् मात्रै स्वास्थ्यमा ध्यान दिनुपर्ने र चेकजाँच गराउनुपर्ने हाम्रो मान्यता छ । जुन गलत बुझाइ रहेको स्वास्थ्य विज्ञहरु सुनाउँछन् । पछिल्लो समय फोलिक एसिड औषधिका बारेमा चर्चा परिचर्चा हुने गरेको छ । यसले शिशुको शारीरिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने चिकित्सकहरू बताउँछन् ।

सन्तानको योजना बनाउने दम्पतीले यो औषधिको विषयमा बुझ्न अत्यन्त आवश्यक छ । यसकारण ‘फोलिक एसिड कस्तो औषधि हो ?, यो कुन समयमा खाने ? र यसका स्वास्थ्यलाभहरुका विषयमा थापाथली प्रसूति गृहमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. कृर्तिपाल सुवेदीसँग जोय नेपालकर्मी सुस्मिता फुयाँलले गरेको कुराकानीको सम्पादित अंश:

फोलिक एसिड कस्तो औषधि हो ?

फोलिक एसिड एउटा भिटामिन हो । जुन शरीरमा नयाँ कोषहरु वृद्धि र विकास हुनका लागि आवश्यक हुन्छ । हाम्रो शरीरमा फोलिक एसिडको कमी भयो भने नयाँ कोषहरु विकास हुँदैन र मुखमा घाउ आउने, पेटमा घाउ,  अल्सर हुने गर्छ ।

गर्भधारणपूर्व यसको सेवन किन आवश्यक छ ? फोलिक एसिडले के काम गर्छ ?

फोलिक एसिडले खानेबित्तिकै काम गर्ने भन्दा पनि गर्भधारण गर्नुपूर्व करीब दुई–तीन महिनाअघि सेवन गरियो भने शरीरको रगतमा फोलिक एसिडको मात्रा लेबलमा पुग्छ । लेबलमा पुगेर बच्चा बसेपछि बच्चाहरुको कोषको एकदम  तीव्र गतिमा विकास हुन थाल्छ ।

यसले सेल्सहरु डिभाइड हुनथाल्छ र यो समयमा फोलिक एसिडको कमी भयो भने कोषहरुको वृद्धि विकास राम्ररी हुन पाउँदैन । बच्चाको शरीरको अङ्गहरु बन्ने भनेको शुरुको ती महिनामा नै हो । तीन महिनापछि सोही बनेको अङ्गहरु बढ्ने मात्रै हो ।

शुरुका तीन महिनामा मुटु, कलेजो, किड्नी सबै बनिसक्छ । बाँकी छ महिनामा ती अङ्गहरु ठूलो हुँदै जाने मात्रै हो । यसकारण शुरुको तीन महिनामा फोलिक एसिडको कमी भयो भने नशाको समस्या हुनसक्छ । हाम्रो टाउकोदेखि ढाडसम्म नशा स्पाइनल कर्डको वृद्धि विकासमा खराबी आउँछ ।

अर्को कुरा के छ भने हाम्रो शरीर चलाउने सम्पूर्ण नशाा टाउको र ढाडबाट निस्किन्छ । यो नै हाम्रो शरीरको मुल बनावट हो । यसकारण पनि गर्भधारणपूर्व फोलिक एसिडको सेवन गर्न आवश्यक छ ।    

फोलिक एसिड भिटामिन गर्भधारणको एक महिना अघि र कसैले दुई/तीन महिना अघि सेवन गर्ने भनिन्छ । वास्तवमा यसको सेवन गर्ने उपयुक्त र निश्चित समय कुन हो ?

हाम्रो नेपालको कुरा गर्नुपर्दा पहिलोकुरा त अधिकांश दम्पतीहरु गर्भरहेपछि मात्रै परामर्शको लागि अस्पताल आइपुग्नुहुन्छ । धेरै दम्पतीले सन्तानको योजना नबनाएरै गर्भधारण गर्नुहुन्छ । अब उहाँहरुले फोलिक एसिड सेवन गर्नुभएको हुँदैन ।

यसकारण गर्भ रहेपश्चात् पनि तीन महिनासम्म यसको सेवन गर्न हामी सल्लाह दिन्छौं । यो खानुपर्ने त्यस्तो निश्चित समय तालिका त तोकिएको छैन तर दुईदेखि तीन महिनाअघि फोलिक एसिडको सेवन शुरु गर्दा रगतमा यसको मात्रा पुग्छ र गर्भको बच्चामा समस्या निम्तन पाउँदैन । 

यो औषधि खानु र नखानुको फरकपन बताइदिनुहोस् न ।

हामीले हाम्रो खानपान जस्तैः हरियो सागपात, गेडागुडी, हरियो फलफुल लगायतका खानेकुराहरुबाट पनि फोलिक एसिड पाइरहेका हुन्छौं । तर आम मानिस जस्तो गर्भाअवस्थाको समयमा खानपानबाट पाइने फोलिक एसिडले पर्याप्त हुँदैन । यसको तललब गर्भधारण गर्नुपूर्व फोलिक एसिड सेवन नगरेका गर्भवतीबाट जन्मिएका सबै शिशु स्वस्थ हुँदैनन्, समस्या देखापर्छ भन्ने होइन । तर यसको सेवन नगर्दा कतिपय शिशुहरुमा समस्या देखिन सक्छ ।

दम्पतीले पूर्वतयारी गर्न र सकेसम्म फोलिक एसिडको सेवन गर्न हामी सुझाव दिन्छौं । यसको सेवन गरेर मात्रै गर्भधारण गर्नुभयो भने बच्चामा जन्मजात डिफेक्ट जस्तैः कतिपय बच्चाहरुको ढाडमा नशाको गुजुल्टो हुन्छ, कतिपयको टाउकोको राम्ररी विकास भएको हुँदैन । यसका साथै अन्य जन्मजात समस्या पनि हुनसक्ने सम्भावना रहन्छ ।

गर्भवती बाहेक अन्य आम मानिसको शरीरमा फोलिक एसिड हुन्छ या हुँदैन ? आवश्यक पर्छ कि पर्दैन ?

आम सामान्य मानिसहरुको शरीरलाई पुग्ने फोलिक एसिडको मात्रा खानपानबाटै पुगिरहेको हुन्छ । तर अन्य क्यान्सर भएका बिरामी, गर्भवती व्यक्तिहरुलाई पनि खानपानबाट प्राप्त हुने फोलिक एसिडको मात्राले पुग्दैन र औषधि नै सेवन गर्नुपर्छ ।

अन्त्यमा, सन्तानको योजना बनाइरहेका दम्पतीहरुलाई तपाईंको सुझाव के छ ?

यदि तपार्इंहरु सन्तानको योजना बनाइरहनुभएको छ भने गर्भ बसेपछि मात्रै होइन गर्भधारण गर्नुपूर्व नै चिकित्सकसँग परामर्श लिन आवश्यक छ । यसो गरेमा यदि दम्पतीमा थाइराइड, सिस्ट, मधुमेह जस्ता अन्य स्वास्थ्य समस्याहरु रहेछन् भने यसलाई निर्मूल बनाएर मात्रै गर्भ राख्न सकिन्छ । सकेसम्म फोलिक एसिडको सेवन गर्नुपर्छ ।      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?