काठमाडौँ– वि.सं.२०२४ सालमा मुम्बईस्थित सर जे.जे. स्कुल अफ आर्टस्मा अध्ययन गरेर स्वदेश फर्केपछि नेपालमा कला विस्तार र विकास गर्नुपर्छ भन्ने आत्मबल बोकेर हिँडेका थिए, शशीविक्रम शाह ।
तीनताका मुम्बईमा कला अध्ययन गरेर फर्केकाहरु धेरै भएपनि कलालाई व्यवस्थित रुपमा कसरी अगाडि लैजाने भन्ने बलियो संस्था र समूहको अभाव थियो । शाहको जस्तै धारणा बोकेर हिँडेका थिए कलाकारहरु कृष्ण मानन्धर, इन्द्र प्रधान र वत्सगोपाल वैद्य ।
यी चारै जना आपसमा सल्लाह गरेर सबैको नामको पहिलो अक्षरबाट २०२८ सालमा ‘स्किव–७१’ कला समूह बनाए । यी चारैजनाको जुगलबन्दीमा आधुनिक कलाले बेग्लै मोड लियो ।
स्किबकै कारण नेपालको आधुनिक कला विस्तारले फड्को मार्यो भन्दा कुनै फरक नपर्ला । यो समूहमा रहेका प्रधान दीवंगत भएपनि शाहसँगै मानन्धर र वैद्य अझै कला सिर्जनामा सक्रिय छन् ।
कला र सिर्जनाको सवालको कुरा चल्दा आधुनिक कलाका शिखर व्यक्तित्व शाहले हालै नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा भएको ‘ललितकला संवाद’मा आफ्नो कलायात्रा र जीवनका अन्तरङ्ग कुराकानीको क्रममा ‘स्किव’ कला समूहबारे स्मरण साझा गरे ।
८५ वर्षीय शाहसँग प्रतिष्ठानले ‘ललितकला संवाद’ मार्फत उनको कलायात्राबारे आम कलाप्रेमीहरुमाझ पुर्याउने जमर्को गरेको थियो ।
शाहलाई सुन्नकै लागि प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, प्रतिष्ठानका पूर्व सदस्य सचिव विपिन घिमिरे, सिद्धार्थ आर्ट ग्यालरीका अध्यक्ष सङ्गीता थापा, अग्रज कलाकार कृष्ण मानन्धर, वैकुण्ठ श्रेष्ठ, गीतकार एवं चलचित्र निर्देशक यादव खरेललगायत व्यक्तिहरु कार्यक्रममा उपस्थित थिए ।
उपस्थित हार्तम्छाली, माथेमा, घिमिरे, मानन्धरलगायतकाले शाहको कला सिर्जना र यसप्रतिको लगावबारे खुलेर चर्चा गरे । शाहले मुम्बईमा आफ्नो कला यात्रादेखि बेलायतको टेट म्युजियममा आफ्नो पहिलो कला प्रदर्शनी, भारत, जापानलगायतका देशमा पुग्दा तथा अध्यापन गर्दाको प्रसङ्गको समेत विस्तारमा चर्चा गर्दै प्रतिष्ठानप्रति कार्यक्रमका लागि धन्यवाद ज्ञापन गरे ।
आधुनिक कलामा विशेषत घोडाको बिम्वमा तीन दशकभन्दा लामो समयदेखि चित्र सिर्जना गर्दै आएका शाहको जन्म १९९६ सालमा काठमाडौँ भोटेबहालमा भएको हो ।
चुडाविक्रम र ईश्वरी शाहको कान्छो सन्तानका रुपमा जन्मेका उनको प्रारम्भिक शिक्षा दरवार स्कूलबाटै भयो । दरवार हाइस्कूल अध्ययनकै क्रममा रेखाचित्रहरु रुचि राखेका उनले अतिरिक्त विषयमा चन्द्रमान सिंह मास्के, तेजबहादुर चित्रकार जस्ता गुरुहरुबाट चित्रकलाबारे सिके । एसएलसीपछि पनि उनले चित्रकला विषय नै लिएर अध्ययन गरे ।
पछि २०१९ सालमा भारत सरकारको छात्रवृत्तिमा सर जे.जे. स्कूल अफ आर्टस्मा कला अध्ययन गर्न गएपछि उनको कला यात्रा विस्तारित रुपमा अगाडि बढ्यो । नेपाल आएपछि नै शाहलगायतको समूहले स्किव समूह स्थापना गरेका थिए ।
मुम्बईबाट फर्केर उनले ललितकला क्याम्सपमा एक दशकभन्दा लामो समय अध्यापन समेत गरे भने त्यहाँ क्याम्पस प्रमुख भएर कला अध्ययन संस्थालाई समेत मजबुत बनाउने काम गरे । त्यस्तै, उनी लाजिम्पाटस्थित सिर्जना कलेज अफ फाइन आर्टस्का प्रिन्सिपलका रुपमा समेत रहे । उनी तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्रज्ञा परिषद सदस्यका रुपमा समेत रहे ।
घोडा र शाहको चित्रको चिनारी भए पनि उनले रेखाचित्र र कार्टनुहरु समेत बनाएका छन् । घोडा नै चित्रण गरेर उनले मुर्तिकला समेत सिर्जना गरेका छन् । यद्यपि शशीविक्रम शाह भन्ने बित्तिकै आम कलाप्रेमीहरुको मानसपटलमा घोडा इंगित उनको चित्रकला नै झल्को आउँछ । शाहले घोडालाई धार्मिक, मानवीय, सामाजिक र राजनीतिक दृष्टिकोणबाट समकालीन समयका रुपमा समेत चित्रण गरेका छन् ।
शारीरिक होस् या भौतिक युद्ध, त्रास, भय र संवेगहरुलाई समेत उनले घोडामार्फत नै देखाएका छन् । उनको घोडा यो समयको बेथिति, विसङ्गतिविरुद्धको विद्रोह, गर्जन र चिन्तन पनि हो । जापानको फुकुआका प्रदर्शनी (सन् १९८०)पछि मात्र शाहमा घोडाचित्रप्रति लगाव बढेको थियो ।
शाहकै अनुसार उनको घोडा समय र समाजको सूचक समेत हुन् । उनी घोडालाई कल्की अवतारका रुपमा अथ्र्याउँछन् । मानव सभ्यताको सङ्कटमा कल्की अवतारको स्वरुपमा भगवान विष्णु आइपुग्छन् त्यसरी नै घोडा पनि सँगसँगै तीव्र रुपमा आइपुग्छन् भन्ने उनको चित्रहरुले बुझाउँछ ।
मानवीय युद्ध, भोक जस्ता विषयलाई उनले आफ्नो ‘दशअवतार’ जस्ता सिरिजमा अभिव्यक्त गरेका छन् । जुन उनको कलाकृतिहरु जापानस्थित ‘फकुओका म्युजियम’मा पुगिसकेको छ । विभिन्न धर्मशास्त्रमा मनुष्य जातिको आदिदेव सूर्यलाई तान्ने घोडाको प्रतीक चित्र संसारभर कोरिएको देखिन्छ ।
गायत्री, उष्निक, अनुष्टभ, वृहति, पगति, त्रिष्टुभ र जगाति गरी सात थरिका घोडालाई इन्द्रेणी रङका रुपमा उनले चित्रण गरेका छन् । घोडाको अर्थ शक्ति र साहस पनि हो ।
शारीरिक रुपमा केही कमजोर देखिएपनि शाह मानसिक रुपमा अझै उनको चित्रहरुमा कोरिएको घोडा जस्तै तेज छन् । जुन उनके तेज गत साताकाे आइतबार प्रतिष्ठानको सभाकक्षमा देखिएको थियो । कार्यक्रममा उनले आफ्नो कुरा राख्दै गर्दा सहभागीहरुलाई उत्सुक मात्र होइन, हलै गुञ्जिने गरी हँसाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया