मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बजारका पेय पदार्थमा पाइन्छन् हानिकारक तत्व, धेरै पिउँदा हुन्छन् यस्ता समस्या

काठमाडौँ- बजारमा पाइने कोल्ड ड्रिंक्स जाडो होस् या गर्मी जुनसुकै मौसममा पनि पिउने गरिन्छ । अझ गर्मीको समयमा त यस्ता कोल्ड ड्रिंक्स धेरै नै खपत हुन्छ । कतिपयले त तिर्खा लागेका बेला पानीको सट्टा कोल्ड ड्रिंक्स नै पिउने गरेको देखिन्छ । खाजा, मासुका परिकारसँग पेय पदार्थ खानेहरु पनि प्रशस्तै भेटिन्छन् । कतिपय सँस्कृतिमा चिसो पेयपदार्थ प्रतिष्ठा र सगुनको सामाग्री बनिसकेको छ ।

यस्ता पेय पदार्थमा हानिकारक तत्व पाइने चिकित्सकहरु बताउँछन् । धेरै मानिसहरू अहिले स्वस्थकर तथा पोषिलो दही, मोहीको सट्टा बजारको पाइने पेयपदार्थ पिउने गर्छन् । कतिपय अवस्थामा ग्रामिण क्षेत्रमा आफूसँग भएका दूध, दही जस्ता पोषिलो पेयपदार्थ बेचेर विभिन्न ब्राण्डका बजारी पेयपदार्थ पिउने गरेको पनि देखिन्छ ।

यस्ता पेयपदार्थले मोही, सर्वतलाई नै विस्थापित गर्दै गएका छन् । अति गुलियो र रसायन मिसिएका पेयपदार्थले दाँत, पेट, हाडजोर्नी लगायत शरीरका अन्य अंगहरूमा विभिन्न प्रकारका समस्याहरू उत्पन्न गराउने पोषणविद् डा. अरुणा उप्रेती बताउँछिन् । यस्ता पेय पदार्थ पिउनाले मोटोपन लगायत अनेक किसिमका रोगको शिकार भइने उनको भनाइ छ । धेरै मात्रामा पेयपदार्थ पिउँदा थुप्रै मानिसहरू कुपोषणले ग्रस्त छन् ।

सन् २०१३ मा अमेरिकन हार्ट एसोसिएसनले गरेको सम्मेलनमा प्रस्तुत गरिएको एक अध्ययन प्रतिवेदनका अनुसार सोडा वा कोल्ड ड्रिंक्सले विश्वभरिमा वर्षेनि १ लाख ८० हजार मानिसको मृत्यु हुने गरेको अनुमान गरिएको थियो । चिनीले भरिपूर्ण कोल्ड ड्रिंक्स पिउनेमध्ये केहीमा क्यान्सर भएको समेत अनुमान गरिएको छ ।

त्यस्तै, एक कोलड ड्रिंक्सको अध्ययन गर्दा त्यसमा क्यान्सर पैदा गर्ने तत्व मापदण्ड भन्दा निकै बढी भएको पाइएको तथ्य थियो । द सेन्टर फर इन्भायरमेन्ट हेल्थले सो पेयपदार्थलाई रंगयुक्त बनाउन उपयोग गरिने रसायन तोकिएभन्दा निकै बढी भएको र यसमा क्यान्सर उत्पन्न गर्ने तत्व पाइएको सार्वजनिक गरेको हो।

कोल्ड ड्रिंक्समा हुने हानिकारक तत्वहरू

क्याफिन
क्याफिन केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित गराउने र लत लगाउने तत्व हो । यसले कृत्रिम रुपमा शरीरलाई उत्तेजित गराउँछ र हृदयगती बढाउँछ । उत्तेजित अवस्थामा स्मरण शक्ति बढेको, स्फूर्ति बढेको, र थकाई मेटिएको अनुभव हुन्छ । तर यो क्षणिक हुन्छ ।

शारीरिक कसरतपछि चिसो पेयपदार्थ पिउँदा शरीरमा क्यालसियम र पोटासियमको कमी हुन्छ । जसका कारण मांशपेशीहरू सुन्निन सक्छन् र कसरतपछि यथास्थितिमा फर्कन धेरै समय लाग्छ । चिसो पेयपदार्थमा हुने क्याफिन र चिनी दुवैले क्याल्सियम नष्ट गर्ने र हाड खियाउने गर्दछन् ।

अम्लहरू
चिसो पेयलाई ताजा राख्न र स्वादिलो बनाउन साइट्रिक एसिड, फोस्फरिक एसिड र कहिलेकाहीँ म्यालिक र टारटारिक अम्लहरू राख्ने गरिन्छ । यी अम्लहरूले झोललाई सड्नबाट रोक्दछन् र मिठासलाई सन्तुलनमा राख्ने मद्दत गर्छ । अम्लहरूको कारणले नै चिसो पेय पिउँदा तिर्खा मेटिएको महशुस हुन्छ ।

चिसो पेय पिउँदा माथि तैरिएका फोका तथा फिँजले नै आनन्द दिन्छ । यी फोका र फिँज फोस्फोरिक अम्ल र कार्वनडाइअक्साइडबीचको प्रतिक्रिया भएर बन्दछन् । यी तत्वहरूका कारणले पेट पोल्ने र घाउ हुने गर्दछ । फोस्फोरिक अम्ललाई क्रोम धातुको खिया र मोटरको ब्यार्टी सफा गर्न प्रयोग गरिन्छ । यसको आधारमा यो अम्ल निकै पोल्ने खालको छ भन्ने स्पष्ट हुन्छ । धातुको खिया पखालने अम्लले हाम्रो शरीरको मासुलाई सजिलै पोल्न सक्दछ ।

वाष्पित पानी
चिसो पेय भनेको बास्ना, गुलियो स्वादलगायत फिँजहरू आउने ग्यासहरू राखिएको पानी हो । चिसो पेय बढी पिउनेको पिसावबाट बढी मात्रामा खनिज तत्वहरू जानसक्छ । शरीरबाट जति बढी खनिजको निष्कासन हुन्छ त्यती नै बढी हाड फुसफुसे भई कमजोर हुने, हड्डी वाथ हुने, सुन्निने, थाइराइड ग्रन्थीका कमजोरी हुने, मुटुको धमनीका रोगहरू हुने, उच्च रक्तचाप र सामान्यतया प्रौढावस्थामा देखिने गडबढी जस्ता स्वास्थ्य समस्याको जोखिम सामना गर्नुपर्ने हुन्छ ।

कृत्रिम बास्ना
चिसो पेयबाट आउने बास्नाहरू सबै कृत्रिम हुन्छन् । टारटजिन नामक रङ्गले सुन्तले पहेँलो रंग दिन्छ । यो रङ्गले छालामा डाबर उठ्ने, नाकबाट पानी बग्ने र आँखा रातो हुने जस्ता एलर्जी हुनसक्छ । यसलाई क्यान्सरको सम्भावित कारक पनि मानिएको छ ।

धेरैजसो चिसो पेयहरूमा सोडियम पनि राखिएको हुन्छ । डाइट सोडामा सोडियमको परिमाण ज्यादा हुन्छ । १८० मिली डाइट सोडामा ३१ मिलीग्राम सोडियमको परिमाण भेटिएको छ । सोडियम बढी हुँदा शरीरमा अनेक प्रकारका स्वास्थ्य समस्या हुन्छन् ।

चिनी
चिनी सबै चिसो पेयहरूमा पाईने एक प्रमुख तत्व हो । यसमा धेरैमात्रामा फ्रक्टोज वर्गको चिनी वा त्यस्तै विभिन्न स्वादहरू मिश्रित तरल पदार्थहरू राखिएको हुन्छ । अधिकांश चिसो पेयमा ४ देखि १५ चिया चम्चासम्म चिनी घोलिएको हुन्छ।

एक चियाचम्चा चिनीले १६ क्यालोरी शक्ति पैदा गर्छ  । १५ चम्चा चिनीमा २ सय ४० क्यालोरी अर्थात ५ चम्चा नौनी खाए बराबरको क्यालोरी उत्पन्न हुन्छ। बढी क्यालोरीयुक्त खाद्य वस्तुले शरीरको तौल वृद्धि गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?