काठमाडौँ- स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना पराजित भएको छ। बार्सिलोनालाई लास पाल्मासले स्तब्ध पारेको हो । अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई पाल्मासले २-१ गोलले पराजित गरेको छ ।
पाल्मासले खेलमा सुरूवाती अग्रता लिएको थियो । पहिलो हाफ बराबरी खेलको दोस्रो हाफमा पाल्मासका सान्द्रो रामिरेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ६१ मिनेटमा बार्सिलोनाका कप्तान राफिन्हाले गोल फर्काएर बराबरी गरे ।
तर, ६७ मिनेटमा पाल्मासका फाबियो सिल्भाले अर्को गोल थपेर टोलीलाई २-१ को नतिजामा ल्याए । त्यसपछि बार्सिलोनाले पाल्मासविरूद्ध गोल गर्न नसकेपछि खेल २-१ को अन्तरमा सकिँदा बार्सिलोनाले महत्वपूर्ण तीन अंक गुमायो ।
१५ खेल खेलेको बार्सिलोना ३४ अंक साथ अझै शीर्ष स्थानमै छ । १५ खेल नै खेलेको पाल्मास १५ अंकका साथ खेल तालिकाको पन्ध्रौं स्थानमा छ ।
१५ खेल खेलेको एथलेटिको मड्रिड ३२ अंक साथ लिगको दोस्रो स्थानमा छ । साबिक विजेता रियल माड्रिडले १३ खेलमा ३० अंक हासिल गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया