काठमाडौँ – हामीमध्ये अधिकांश जब बजारमा स्याउ किन्न जान्छौँ । तब मुस्ताङको स्याउलाई नै रोज्छौँ । मुस्ताङको स्याउ नभएपछि मात्रै अन्य राम्रा स्याउतिर ध्यान दिन थाल्छौँ । मुस्ताङको स्याउ खोज्ने हामीले कहिल्यै स्याउको बगैँचा घुमेका छौँ ? विशेष गरी यहाँको मार्फा गाउँको बारेमा कहिल्यै जानकारी लिन खोजेका वा घुमेका छौँ ?
अझ स्याउ फल्ने समय र टिप्ने समयमा जाने हो भने गाउँले मात्रै होइन स्याउको बगैँचाले पनि हामी सबैको ध्यान तान्छ । यो गाउँ मुस्ताङको घरपझोङ गाउँपालिकाभित्र रहेको छ ।
यस गाउँ मुस्ताङ जाने बाटोमा पर्छ । मुस्ताङ जाने बाटोबाट केही समय हिँडेपछि यहाँ पुग्न सकिन्छ । जहाँ एक दिन मज्जाले घुम्नको लागि आकर्षक गन्तव्यहरुसमेत रहेका छन् । तपाईं मुस्ताङ घुम्न जाँदा आफ्नो यात्रालाई एक दिन लम्ब्याएर मार्फा गाउँमा मज्जाले घुम्न सक्नुहुन्छ ।
म्याग्दी र मुस्ताङ जिल्लाको सीमाना क्षेत्र घासा कटेको केही समयमा मार्फा गाउँ आउँछ । बाटोमा केही दृश्यले मार्फाको संकेत गरे पनि वास्तविक गाउँ भने केही भित्र रहेको छ । मुख्य सडकलाई छोडेर करिब १० मिनेट पैदल गएपछि मार्फा गाउँ आउँछ । जहाँको दृश्य र घरहरुले तपाईँलाई बेग्लै आभास गराउँछ ।
थकाली समुदायको बसोबास रहेको मार्फाका केही दलित समुदाय पनि रहेको छ । यहाँको जीवनशैली, रहनसहन र मौलिक संस्कार थकाली समुदायको नै रहेको छ । यहाँ थकाली समुदायले जोकोहीको मनलाई लोभ्याउँछ । यसका साथै यहाँको मौलिक घर, गल्ली, कला संस्कृति, गुम्बा तथा गुफाले पनि पाहुनको मन लोभ्याउँछ ।
यहाँ बस्न तथा खानको लागि गाउँका व्यक्तिहरुले नै होटल तथा कोसेली घर सञ्चालनमा ल्याएका छन् । यहाँ एक दिन बसेर आफ्नो गन्तव्यमा पनि जान सकिन्छ ।
यहाँको घरहरु अन्य स्थानको तुलनामा फरक छन् । माटो र ढुङ्गाको मिश्रणबाट बनेका पुराना घरहरु रहेका छन्् । घरको छानो पनि माटोले नै बनाइएको छ । छानोको सुरक्षाको लागि दाउराहरु राखिएका छन् । जसले माटो उडाउन, बिस्कुन सुकाउन सहयोगी भुमिका खेल्दछ ।
माटोकै भवन भए पनि यहाँको घरहरु भूकम्प र पानीबाट सुरक्षित रहेको पाइन्छ । हिमालको काखमा रहेकोले यहाँ खासै पानी नपर्ने भएकोले घरहरु टिकाउ भएको पाइन्छ । यहाँको बाटोहरुमा ढुङ्गा बिछ्याइएका छन् । यहाँको गल्लीहरुलाई स्थानीयहरु मिलेर सफा बनाएर राखेका छन् । जहाँ बस्तीको सुरक्षा र संरक्षणकै लागि मुखियाको व्यवस्था समेत गरिएको छ । मुखियाकै आधारका मार्फा बस्ती चलेको छ ।
यहाँको अर्को आकर्षण भनेको स्याउको बगैँचा हो । यहाँको बगैँचामा लटरम्म फलेका स्गाउको बोटहरु देख्न सकिन्छ । ती स्याउ बगैँचामा गएर फोटो कैद पनि गर्न सकिन्छ । स्याउको बगैँचा ठूलो भएकाले यसलाई स्याउको राजधानीको रुपमा पनि चिनिने गरिन्छ ।
‘मा’ को अर्थ मेहनती र ‘र्फा’को अर्थ मानिस हो । मेहनती मानिसहरु बस्ने भएकाले यो गाउँको नाम मार्फा गाउँ रहन पुगेको हो । मार्फा गाउँको मुख्य पेशा भनेको स्याउ उत्पादन नै हो । यहाँको स्याउ कोसेलीको रुपमा दिनुको साथै जुसहरु पनि बनाइने गरिन्छ । यसको लागि गाउँकै उद्योग समेत सञ्चालनमा रहेको छ । स्याउ बगैँचासँगै यहाँको अर्को आकर्षण भनेको गुफा र गुम्बा हो ।
यहाँ माटो ढिस्कोबाट बनेको आकर्षक गुफा छ । जुन गुफा डाँडामा रहेको छ । यो ग्ुफा सयौँ वर्ष पुरानो रहेको मान्यतासमेत रहेको छ । गुफामा मागेको कुरा पुरा हुने जनविश्वाससमेत रहेको छ ।
यहाँ सम्तेलिङ नामक गुफा पनि रहेको छ । जसलाई धार्मिक सम्पदाको रुपमा पनि लिने गरिन्छ । यो गुफा गाउँको पाखा क्षेत्रमा रहेको छ । तीन सय वर्ष परानो भिर गुफामा विभिन्न मनोकामना राखी पूजासमेत गर्ने गरिन्छ ।
यहाँको गल्लीबाट धौवलागिरी हिमालको बेस क्याम्पसम्म पनि जान सकिन्छ । सोही बाटोलाई पैदल मार्गको रुपमा प्रयोग गरिन्छ । यसका साथै यो गाउँमा विभिन्न फिल्महरुको सुटिङ पनि भएका छन् । ती क्षेत्रमा स्थानीय पहिचान झल्कने पहिरनमा फोटो कैद गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया