मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शाहरुख खानदेखि विराट कोहलीसम्म: यी हुन् भारतमा सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटी

काठमाडौँ– बलिउडका किङ खान भनिने शाहरुख खान कर तिर्ने मामलामा पनि निकै अगाडि छन् । बलिउडमा उनको दबदबा र कमाइको हिसाबले मात्र होइन । कर तिर्ने मामलामा पनि उस्तै छ । सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटीमा शाहरुख खान शीर्ष स्थानमा आउँछन् ।

बलिउडले भारतमा मात्र नभएर विश्वमै ठूलो हिस्सा ओगटेको छ । भारतको मुम्बई विश्वकै धनी शहरहरूको सूचीमा आउँछ भने त्यहाँ कैयन् सेलिब्रेटीको बसोबास पनि रहने गरेको छ ।

आर्थिक वर्ष २०२३/२४ को कुरा गर्दा शाहरुख खानले कुल ९२ करोड रुपैयाँ कर तिरेर सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटी बनेका छन् । उल्लेखनीय छ कि, गत वर्ष शाहरुखका तीन फिल्म ‘पठान’, ‘जवान’ र ‘डंकी’ रिलिज भएका थिए, जसमा ‘पठान’ र ‘जवान’ले बक्स अफिसमा कमाइका अनेक रेकर्डसमेत तोडेको थियो ।

यस्तै अर्का अभिनेता विजय थलापति पनि कर तिर्ने मामलामा अगाडि छन् । दक्षिण भारतीय अभिनेता विजय थलापतिले गत आर्थिक वर्षमा झण्डै ८० करोड रूपैयाँ कर तिरेको भारतीय मिडियाले जनाएका छन् । हालै राजनीतिक पार्टी स्थापना गरेर फिल्मबाट टाढा हुने स‍ंकेत दिएका विजय शाहरुख खानपछि सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटी हुन् ।

कर तिर्ने मामिलामा तेस्रो स्थानमा ‘बिग बोस’ को होस्ट बनेर फेरि पनि मानिसको मनमा बसेका सलमान खान छन् । आर्थिक वर्ष २०२३/२०२४ मा सलमान खानले कुल ७५ करोड कर तिरे र यसरी कर तिर्नेहरूको सूचीमा उनी तेस्रो स्थानमा रहे

अभिनयका सम्राट मानिने र विगत २४ वर्षदेखि ‘कौन बनेगा करोडपति’ आयोजना गर्दै आएका अमिताभ बच्चन कर तिर्नेमा चौथो स्थानमा छन् । उनले सलमान खानभन्दा ४ करोड कम कर तिरेका छन् । अर्थात् ७१ करोड रुपैयाँ कर तिरेर बिग बीले शीर्ष ५ मा आफ्नो स्थान पक्का गरेका छन् ।

सबैभन्दा बढी कर तिर्ने व्यक्तिको शीर्ष ५ सूचीमा बलिउडका तीन र साउथका एक कलाकार छन् भने पाँचौं स्थानमा एकजना गैर–अभिनेता रहेका छन् । उनी अरु कोही होइनन्, चर्चित क्रिकेटर तथा बलिउड अभिनेत्री अनुष्का शर्माका पति विराट कोहली हुन् । उनले ६६ करोड रुपैयाँ कर तिरेर यो सूचीमा पाँचौं स्थान हासिल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?