काठमाडौँ– ‘नारायण गोपाल स्मृति सम्मान–२०८१’ नेपाली सङ्गीत क्षेत्रका अग्रज सर्जक शिवशंकर थापा, बुलु मुकारुङ र कुमार बस्नेतलाई प्रदान गरिने भएको छ ।
स्वर सम्राट नारायण गोपालको पूण्य स्मृतिमा ‘नारायणगोपाल संगीत कोष’ले हरेक वर्ष सङ्गीतका सर्जकहरुलाई सम्मान गर्दै आएको छ । हालै बसेको कोषको बैठकले गरेको निर्णय अनुसार यी तीन जना सर्जकलाई सम्मानका लागि चयन गरिएको हो ।
गीत लेखनतर्फ गीतकार थापा, सङ्गीततर्फ संगीतकार मुकारुङ र गायनतर्फ गायक बस्नेतलाई मङ्सिर १९ गते नारायणगोपालको ३४ औं पुण्य स्मृतिको अवसरमा सम्मान अर्पण गरिने कार्यक्रम तय गरिएको छ ।
तीनै जना सर्जकहरुलाई जनही ५१ हजार रुपैयाँ नगद पुरस्कारसहित ताम्रपत्र र दोसल्ला ओढाइ सम्मान गरिने छ । नारायण गोपाल सङ्गीत कोषको आयोजनामा नेपाल साङ्गीतिक सङ्घ, गीतकार संघ र रेडियो नेपालसँगको सहकार्यमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मान तथा साङ्गीतिक समारोह हुने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया