काठमाडौँ– गत बुधवार शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार विवादमा तानिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा अवार्ड प्रदान गरिएको सो समारोह निष्पक्ष नभएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको हो ।
अवार्ड समारोहमा फिल्म ‘बुलाकी’ सर्वोत्कृष्ट फिल्म घोषित भएको थियो । यस्तै उत्कृष्ट अभिनेता ‘प्रसाद २’ बाट विपिन कार्की र उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘दिमाग खराब’ बाट स्वस्तिमा खड्कालाई प्रदान गरिएको थियो ।
वि.सं. २०८० मा प्रदर्शनमा आएका फिल्ममध्ये ‘बुलाकी’ लाई उत्कृष्ट फिल्म घोषणा गर्दा कतिपयले ‘जारी’ माथि अन्याय भएको भन्दै विरोध गरेका छन् ।
सुरक्षा पन्तको शीर्ष भूमिका रहेको फिल्म ‘बुलाकी’ मा कर्णालीकी एक निःसन्तान महिलाको कथा प्रस्तुत गरिएको छ । व्यावसायिक असफल भए पनि यो फिल्मले सकारात्मक समीक्षा पाएको थियो ।
फिल्म ‘जारी’ ले कुनै पनि विधामा अवार्ड नपाएको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ । फिल्म निर्देशक एवम् समीक्षक दीपेन्द्र लामाले ‘जारी’ लाई सरकारी अवार्ड नदिनु घोर अन्याय भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘उत्कृष्ट चलचित्र, निर्देशन, पटकथा, अभिनेता, अभिनेत्री, छायांकन र सम्पादन कुनै पनि विधामा जारीलाई सरकारी अवार्ड नदिइनु चाहिँ घोर अन्याय हो, राष्ट्रिय फिल्म अवार्डका निर्णायक समितिको फिल्म लिट्रेसी निकै नै दयनीय रहेछ, छर्लङ्ग भयो ।’
यस्तै अर्की कलाकार स्मिता लामिछानेले आदिवासी जनजातिले जति राम्रो फिल्म बनाए पनि अवार्ड नदिने नियम भएको भन्दै प्रश्न उठाएकी छिन् ।
उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छिन्, ‘दिमाग खराबमा स्वस्तिमा खड्काले भन्दा जारी फिल्ममा मिरुना मगरले अभिनय राम्रो गर्नुभएको थियो । स्वस्तिमा खड्काको अभिनय औसत थियो । एउटा अवार्ड मिरुना मगरलाई दिँदा के जान्थ्यो? कि आदिवासी जनजातिले जति राम्रो फिल्म बनाए पनि अवार्ड नदिने नियम छ कि के हो? जारीलाई किन यसरी हेपेको होला?’
फिल्म ‘घर ज्वाइँ’ का निर्देशक अनिल मगरले पनि स्मिताको भनाइमा सहमति जनाउँदै आफ्ना फिल्म गुनासो व्यक्त गरेका छन् ।
‘यसपालिको राष्ट्रिय चलचित्र अवार्ड मेरो घरज्वाइँ फिल्मको सेन्सर कथा जस्तै भएछ । उपेन्द्र सुब्बाको फिल्ममा सरकारले भन्ने अपशब्द राख्नुभएछ क्यारे, सरकारले कुनै अवार्ड दिएन ।,’ उनले लेखेका छन् ।
उनले एक फिल्म फेस्टिभलले आफ्नो फिल्म मागेको र भाषाभाषीको फिल्म भनिदिने हुन् कि भनेर आफूले नदिएको स्पष्ट पारेका छन् ।
नेपालमा हुने अवार्ड कार्यक्रम प्राय: विवादमा तानिने गर्छन् । अवार्ड समारोह ‘पैसामा बिक्ने गरेको’ आरोप लाग्ने गरे पनि राष्ट्रिय अवार्डमा पक्षपात नहुनुपर्ने भन्दै एक थरीले गुनासो गर्दै आइरहेका छन् ।
निर्माता अविरल थापाले निर्णायक टिमलाई गाली गर्दै सामाजिक सञ्जालमा लेख्छन्, ‘अवार्ड बाँडेको देख्दा पनि खित्का छाडेर हाँस्न मन लाग्छ ।’
यसपटक निर्णायक टिममा बद्री अधिकारी संयोजक र सदस्यमा रविचन्द्र अधिकारी, सुशील पोखरेल, सोमप्रसाद खतिवडा, गौरीशंकर धुजु, सबनम मुखिया र दीपा पाण्डे बस्नेत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया