काठमाडौँ– ‘जीवन्त नेपाल म्युजिक अवार्ड’का लागि आवेदन खुला गरिएको छ । अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा हुन लागेको अवार्डका लागि इच्छुक स्रष्टाले मङ्सिर ३० गतेभित्र फारम भरिसक्नुपर्ने आयोजकले जनाएको छ ।
२०७८ सालदेखि शुरु गरिएको अवार्ड वितरण कार्यक्रमको यो तेस्रो संस्करण हो । पहिलो संस्करण काठमाडौँस्थत सोल्टी होटलमा र दोस्रो संस्करण गत वर्ष पुसमा जमलस्थित राष्ट्रिय नाचघरमा भएको थियो ।
तेस्रो संस्करण भने नेपाल बाहिर गर्ने आयोजकको तयारी छ ।
कोषका अध्यक्ष सिजम सिञ्जालीका अनुसार आधुनिक, लोक, पप, लोकदोहोरी, राष्ट्रिय भाव, गजल, भाषाभाषी, फिल्म गीत गरी करिब २५ विधामा अवार्ड प्रदान गरिनेछ ।
त्यस्तै, गायक, गायिका, गीतकार, सङ्गीतकार, वाद्यवादक, सङ्गीत संयोजक, छायाकार, म्युजिक भिडियो निर्देशक, सम्पादक, कोरियोग्राफर, मोडल, मेकअप आर्टिस्ट, ड्रेस डिजाइनरलगायतका विधामा अवार्ड प्रदान गरिने जनाएको छ ।
कोषका अनुसार सामाजिक क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तित्वहरुलाई जीवन्त सम्मान समेत प्रदान गरिने भएको छ ।
कार्यक्रममार्फत रामेछापस्थित सैलुङ, खाँडादेवी र अग्लेश्वरी जस्ता पर्यटकीय स्थलको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ भन्ने आयोजक पक्षको विश्वास छ । अग्लेश्वरी हिलमा निर्माण गरिने बुद्धको मूर्ति निर्माण कार्यका लागि समेत कार्यक्रमले सहजीकरणको वातावरण बनाउँछ भन्ने अपेक्षा छ ।
आवेदनका लागि अग्लेश्वरी हिल्सको आधिकारिक वेबसाइट र फेसबुक पेज तथा अग्लेश्वरीको नयाँ बानेश्वर थापागाउँस्थित कार्यालयमा उपस्थित भएर फारम भर्न सकिने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया