काठमाडौँ– कलाकार गोविन्द साह ‘आजाद’सँग ललितकला संवाद गरिएको छ ।
नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान समसामयिक चित्रकला विभागको आयोजनामा मङ्गलवार साहसँग संवाद गरिएको हो । कार्यक्रममा कलाकार साहले आफ्नो कलायात्रा र कलाकर्मसँग जोडिएका जीवनका विभिन्न पाटा तथा जीवनभोगाइका अनुभवहरूलाई प्रस्तुत गरेका थिए ।
कलाकार साहले ललितकला क्याम्पसको अध्ययनदेखि बङ्गलादेश र बेलायतमा कला अध्ययन गर्दाको अनुभव समेत सुनाए । उनी झण्डै दुई दशकदेखि बेलायतमा छन् ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाकार साहसँग गरिएको ललितकला संवादबाट उनका कलायात्रा तथा जीवनसङ्घर्षका बारेमा जान्न पाउँदा खुसी लागेको बताए । साहले युरोपलगायत विश्वका विभिन्न देशमा आफ्नो कला प्रभाव सशक्त रूपमा छोडेका छन् ।
कलाकार तथा कला समीक्षक प्राज्ञ रमेश खनालले नेपाली कलामा कलाकार साहले सशक्त ढङ्गले आफूलाई चिनाउन सफल भएको सुनाए । उनका अनुसार नेपाली कलाको उपस्थितिलाई संसारभर चिनाउन आजादले विशेष भूमिका खेलेका छन् ।
कार्यक्रममा प्रतिष्ठानका समसमायिक चित्रकला विभाग प्रमुख संजय बान्तवाले कलाकार साहसँग ललितकला संवाद गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ प्राज्ञपरिषद् सदस्यहरू प्रदिप अधिकारी, दिनेश्वर महतोलगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया