काठमाडौँ– काठमाडौँ महानगरपालिका अन्तर्गत वडा नम्बर १५ ले तामाङसेलो र डम्फु तालिम सञ्चालन गर्ने भएको छ ।
वडा अध्यक्ष ईश्वरमान डङ्गोलले आइतबार नै सूचना जारी गर्दै यसबारे जानकारी गरेका हुन् । १५ वडा क्षेत्रभित्र बसोबास गर्ने सबै जातिका इच्छुक व्यक्तिहरुले मङ्सिर १४ गतेभित्रमा वडा कार्यालयमा सम्पर्क गरी तालिममा सहभागी हुन पाउनेछन् ।
तामाङ समुदाय मात्र नभएर नेपालको मौलिक बाजाको संरक्षण र संवर्धन गरी नयाँ पुस्तामा पुर्याउन ‘तामाङ डाजाङ’ले गरेको प्रस्तावलाई वडाले पारित गरेको डाजाङका अध्यक्ष तथा सेलो गायक फूलकुमार बोम्जनले बताए ।
उनका अनुसार वडाले तालिमका लागि २५ वटा डम्फू उपलब्ध गराउने भएको छ । १०/१० जनाको समूह बनाएर तालिम सञ्चालन गरिनेछ ।
‘स्वयम्भू विजेश्वरी १५ वडा र डाजाङको सहकार्यमा तालिम सञ्चालन गर्न लागिएको हो,’ उनले भने, ‘स्वयम्भू किमडोलमा तामाङहरुको पुरानो बस्तीमा तामाङ संस्कृति र संस्कार हराउँदै गएको अवस्थामा यस तालिमले तामाङ भाषा, इतिहास, सभ्यता र परम्परा ब्युँताउनेछ ।’
उनका अनुसार डम्फुमा तामाङहरुको आदिम संस्कृति, पौराणिक इतिहास र रीतिथितिहरु जोडिएका छन् ।
वडा नम्बर १५ ले जारी गरेकाे सूचना :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया