काठमाडौँ- एकाइसऔँ संस्करणको रेडियन्ट ग्यास बिडिसिए–एक दिवसीय क्रिकेट प्रतियोगिता २०८१ आजदेखि हुने भएको छ । दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको आज बिहान ९ बजे उद्घाटन हुनेछ । उद्घाटनपश्चात् पहिलो खेलमा कालाशैनी क्रिकेट क्लब र महारूद्र क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ । जिल्ला क्रिकेट सङ्घको आयोजनामा सञ्चालित प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनोट प्रतियोगिताका रूपमा लिइएको छ ।
यही मङ्सिर ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिता प्लेट र इलाइट च्याम्पियनसिप गरेर दुई चरणमा सञ्चालन हुने सङ्घका सचिव सिद्धराज बोगटीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा मङ्सिर ११ देखि प्लेट र मङ्सिर २० देखि इलाइट च्याम्पियनसिपका खेलहरू सञ्चालन हुनेछन् । प्लेट च्याम्पियनसिपमा सहभागी हुने ११ टोली रहेका सचिव बोगटीले जानकारी दिए ।
प्लेट च्याम्पियनसिपको विजेता टोली इलाइट च्याम्पियनसिपका लागि छनोट हुनेछ । गत संस्करणमा सेमिफाइनल पुगेका चार टोली र यो वर्षको प्लेट च्याम्पियनसिपको विजेता समूह इलाइट च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् ।
निङ्लाशैनी क्रिकेट क्लब, दशरथचन्द क्रिकेट एकेडेमी, त्रिपुरा क्रिकेट क्लब र एनआरवाइसी टिम गत वर्ष सेमिफाइनलमा पुगेका थिए । मङ्सिर २० गतेदेखि सुरू हुने इलाइट च्याम्पियनसिपको पहिलो खेलमा त्रिपुरा र प्लेट च्याम्पियनबीच भिडन्त हुनेछ । प्रतियोगिताका शीर्ष दुई टोली मङ्सिर ३० गते उपाधिका लागि भिड्नेछन् । यो प्रतियोगिता पहिलोपटक टर्फ पिचमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया