काठमाडौं – इङ्लिस प्रिमियर लिगको अङ्क तालिकामा लिभरपुलले अग्रतालाई अझ फराकिलो बनाएको छ। लिभरपुलले आइतबार राति भएको खेलमा साउथ ह्याम्पटनलाई ३–२ ले हराउँदै अग्रता बढाएको हो।
खेलको पहिलो हाफको ३० औं मिनेटमा डोमिनिक जो बोस्जकीको गोलमा लिभरपुलले अग्रता लियो। मध्यान्तरभन्दा ठिक अघि पाएको पेनाल्टीलाई उपयोग गर्दै साउथ ह्याम्पटन खेलमा फर्किएको थियो।
एडम आर्मस्ट्रङको प्रहार लिभरपुलका गोलरक्षक काहोमिन केलरले बचाए पनि रिबाउन्डमा उनले गोल गरे। ५६ औ मिनेटमा माटुयस फर्नान्डेजले आकर्षक गोल गर्दै साउथ ह्याम्पटनलाई अग्रता दिलाएको खेलमा ६५ औ मिनेटमा मोहम्मद सलाहले बराबरी गोल गरे। उनले नै अन्त्यमा ८३ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई उपयोग गर्दै जित दिलाए ।
अर्को खेलमा म्यानचेस्टर युनाइटेड र इप्सविच टाउन बीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ। सो खेलको ८१ औँ मिनेटमा मार्कस रासफोर्डको गोलमा म्यानचेस्टरले अग्रता लिएको थियो । इप्सविचका लागि मध्यान्तर अघि ओमारी हाउटचिन्सनले गोल गरे ।
१२ चरणको समाप्तिमा लिभरपुलको ३१ अङ्क छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २३ अङ्क छ । म्यानचेस्टर युनाइटेड १६ अङ्कसहित १२ औँ स्थानमा छ । इप्सविच ९ अङ्क सहित १८ औ स्थानमा छ भने साउथहम्टन ४ अङ्क सहित पुछारमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया