काठमाडौँ– नेपालबाट माल्दिभ्समा पुगेका नेपाली कलाकार टोलीले देशको मौलिक सांस्कृतिक प्रस्तुति र ललितकला सिर्जना मार्फत नेपाललाई चिनाएका छन् ।
माल्दिभ्सस्थित ‘सियाम वल्र्ड माल्दिभ्स’ टापु रिसोर्टमा गत बिहीबार २१ तारिखमा रिसोर्टको वार्षिकोत्सवको अवसरमा नेपालसहित विश्वभरका विभिन्न मुलुकहरु सहभागी भएका थिए ।
नेपालबाट भने अभिनेता तथा चित्रकार सरोज लामिछानेसँगै शेरबहादुर सार्की र शशी महर्जनको नेतृत्वमा कलाकारहरुको टोली त्यहाँ पुगेका थिए । विभिन्न देशहरुले आ–आफ्नो मौलिक सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।
नेपालले भने चित्रकार लामिछानेको कला सिर्जना र सांस्कृतिक प्रस्तुतिलाई फ्युजनका रुपमा प्रस्तुत गरे । कलाकारहरु राजा कुमार गुप्ता, समीर मगर, प्रवीन ढकाल, विनय थापा, नविना फुँयाल, मुना लिम्बू, पूजा पुलामी मगर, ममता राजवंशी र रेनुश्का लामाले नेपाली मौलिक गीतमा नृत्य प्रस्तुत गरिरहँदा चित्रकार लामिछानेले ब्लाइन्ड लाइभ चित्र कोरेका थिए । उनले चित्रमा नेपालको अनुपम प्रकृति र राष्ट्रियतालाई चित्रण गरेका थिए ।
नेपालमा पनि आँखामा पट्टी बाँधेर पाँच मिनेट भित्रैमा नै प्रत्यक्ष चित्र तयार पार्ने लामिछानेको उता पनि चौतर्फी चर्चा भयो । लामिछानेको चित्र सिर्जना क्षमतासँगै नेपाली कलाकारले प्रस्तुत गरेको विशुद्ध मौलिक नृत्य र भेषभुषाले निर्णायक टोलीको मन जितेको चित्रकार लामिछानेले जोय नेपालसँगको कुराकानीको क्रममा खुसी साटे ।
उक्त प्रतियोगितामा नेपालले पहिलो स्थान हासिल गर्दा फिलिपिन्स र इन्डोनेसिया क्रमशः द्वितीय र तृतीय भए । डा.वसन्त शर्मा र वर्षाना भित्रीकोटेको कोरियोग्राफ रहेको नृत्यतर्फभने केशव राजवंशी कोरियोग्राफरको भूमिकामा थिए । जितसँगै नेपाली टोली पाँच सय डलर रकम समेत हात पारेका छन् ।
सियाम वल्र्डको निमन्त्रणामा माल्दिभ्समा करिब डेढ महिना अघि पुगेका नेपाली टोली अझै उतै रहने लामिछाने बताए । ‘यता कला र कलाकारलाई असाध्यै सम्मान गरिने रहेछ,’ उनले भने, ‘हाम्रो टिपिकल कल्चरल पर्फमेन्स र ब्लाण्ड लाइभ पेन्टिङको फ्युजनलाई उहाँहरुले निकै मन पराउनुभयो ।
उहाँहरुकै आग्रहमा अझै केही समय हामी यतै रहनेछौं ।’ लामिछानेका अनुसार त्यता उनलाई अहिले चित्र तथा मुहार चित्रहरु बनाउन भ्याइनभ्याइ छ । नेपाल र नेपाली कला र संस्कृतिलाई माल्दिभ्सले दिएको मायाप्रति उनले खुसी व्यक्त गरे । ‘हामीले आफ्नो कलासँगै देशलाई समेत चिनाउन पायौं । यसकारण हामी एकदम खुसी छौं,’ उनले भने ।
लामिछाने विगत एक दशकदेखि कला क्षेत्रमा सक्रिय छन् । आँखामा पट्टी बाँधेर पाँच मिनेटमै लाइभ चित्र कोर्नेमा उनलाई नेपालकै पहिलो कलाकार मानिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न कला गतिविधिसँगै उनी अहिले फिल्म, सर्ट फिल्म, विज्ञापन तथा म्युजिक भिडियोहरुमा समेत उत्तिकै व्यस्त छन् ।
बलिउड फिल्म ‘उचाइ’मा अनुपम खेरको डुब्लिकेट बनेर सिने क्षेत्रमा डेब्यु गरेका उनले त्यसपछि नेपाली फिल्मी क्षेत्रमा समेत प्रवेश पाए । उनले ‘के घर के डेरा,’ ‘महापुरुष,’ ‘दिमाग खराब,’ ‘उपहार,’ ‘ज्याइँसाब’ लगायत फिल्ममा अभिनय गरेका छन् ।
लामिछानेका अनुसार कार्यक्रममा फ्रान्स, नेदरल्याण्ड, श्रीलङ्का, भारत, बङ्गलादेश, पाकिस्तान, चीन, केन्या, रसिया, साउथ अफ्रिका, इजिप्ट, मोरोक्को, ताइवान, अष्ट्रेलियालगायतका देशहरु सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया