मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कुपोषित बालबालिकालाई स्वस्थ बनाउँदै रुम्जाटार अस्पताल

काठमाडौँ- ओखलढुङ्गा जिल्ला अस्पताल रुम्जाटारले कुपोषणबाट ग्रसित दुई सय ५६ बालबालिकालाई स्वस्थ बनाएको छ । कुपोषित बालबालिकाको उपचार एवं स्याहारसुसारका लागि आवासीय पोषण पुनःस्थापना गृह स्थापना गरी अस्पतालले कुपोषित बालबालिकालाई स्वस्थ बनाएको हो । जिल्ला अस्पतालअन्तर्गत सञ्चालित पोषण पुनःस्थापना गृहबाट आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म दुई सय ५६ बालबालिकालाई पोषणयुक्त खाना र आवश्यक औषधोपचार तथा स्याहार सेवा दिइएको छ ।

बालबालिकालाई कुपोषणका कारण हुने बौद्धिक तथा शारीरिक अपाङ्गताबाट बचाउन तथा कडा रोग लाग्नबाट जोगाउन पोषण पुनःस्थापना गृह सञ्चालन गरी सेवा प्रदान गर्दैआएको अस्पताल प्रमुख डा साजन दुवालले बताए । स्वस्थ जीवनका लागि आवश्यक पोषणको महत्वसँगै कुपोषणका कारण हुनसक्ने मानव विकासको क्षतिबारे पनि नागरिकलाई जानकारी दिने गरेको डा दुवाल बताउँछन् ।

“कुपोषित बालबालिकालाई स्वस्थ बनाउन, कुपोषण हुन नदिन चेतना फैलाउने काम गरिरहेका छौँ”, उनले भने, “सामान्य हेलचेक्रयाँइ र समस्याबाट सुरु हुने कुपोषण दीर्घकालीन समस्या बन्ने तथा मानव जीवन नै समाप्त बनाउनेसम्मको घातक रोग भएकाले यसतर्फ ध्यान दिन जरुरी छ ।” बालबालिकामा कुपोषणको समस्या देखिए बेलैमा उपचार गराउन अभिभावकलाई डा दुवालको सुझाव छ ।

आवासीय पोषण पुनःस्थापना गृहमा कुपोषणले ग्रस्त भएका जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई राखेर आवश्यक निःशुल्क स्वास्थ्योपचारका साथै सन्तुलित आहारको व्यवस्था मिलाइएको छ । बालबालिकाको कुपोषणको उपचार तथा व्यवस्थापन, बालबालिकाको उचाइ र उमेरअनुसारको तौल पुर्‍याउन आवश्यक उपचारात्मक कार्य गर्न, बालबालिकाको हेरचाह गर्ने अभिभावकलाई समेत पोषणसम्बन्धी ज्ञान तथा सीप प्रदान गर्ने गरिन्छ ।

“यहाँ ओखलढुङ्गासहित छिमेकी जिल्ला खोटाङ, सोलुखुम्बुलगायत जिल्लाका नागरिक सेवा लिने आउने गरेका छन्”, डा दुवालले भने । पोषण पुनःस्थापना गृहमा कुपोषित बालबालिकाको हेरचाहका लागि उनीहरुका एक अभिभावकलाई राख्ने व्यवस्था छ । यहाँ राखिएका कुपोषित बालबालिकालाई उनीहरुको अवस्था हेरेर दैनिक आठदेखि १२ पटकसम्म आहारा खुवाउने गरिएको छ ।

केन्द्रबाट आव २०७७/७८ मा ३६, आव २०७८/७९ मा ७४, आव २०७९/८० मा ८२ र आव २०८०/८१ मा ५२ बालबालिकालाई सेवा प्रदान गरिएको थियो । चालु आव २०८१/८२ को चार महिनामा १२ बालबालिकाले सेवा लिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?