काठमाडौँ- महाभारत कालमा गुप्तबास बसेका बेला पाँच पाण्डवले १०० आँखा भएकी सतीदेवीको पूजा आराधना गरेको किम्बदन्ती जोडिएको झापाको सताक्षीधामले देश विदेशका धार्मिक पर्यटक आकर्षण गरेको छ । शिवसताक्षी नगरपालिका–११ स्थित चुरे पहाडको फेदीमा घना जङ्गल माझ रहेको सताक्षीधाममा सताक्षीदेवीको पूजा गर्न आउने दर्शनार्थीको वर्षौँदेखि भिड लाग्दै आएको छ ।
हाल धाम परिसरमै गोलोक गोवर्द्धन गौशाला र रुद्राक्षको मालाद्वारा निर्मित ५१ फिट अग्लो शिवलिङ्गले धामको आकर्षण अझ बढेको छ । एक दशकअघि आचार्य नन्दकिशोर भारद्वाजले चार वटा गाईपालन गरेर धाममा गौशालाको थालनी गरेका थिए । घनघोर जङ्गलमा कुटी बनाएर भारद्वाजले सुरु गरेको त्यही गौशाला अहिले विस्तार भएर पर्यटकीय आकर्षणको केन्द्र बन्न पुगेको स्थानीय पत्रकार विनोद सापकोटा बताउँछन् ।
“हिउँद होस् या बर्खा, यहाँ आउने पर्यटकको कहिल्यै कमी भएन”, उनले भने, “अहिले धाममा रु एक अर्बभन्दा बढी लगानीमा धार्मिक पर्यटकीय पूर्वाधार निर्माण भइसकेका छन्, विदेशबाट आउने पर्यटकलाई पूजा, ध्यान र भ्रमण गर्नका लागि बस्ने र खाने ठाउँको कुनै कमी छैन ।” पूर्वपश्चिम राजमार्गको झिलझिले चोकबाट पाँच किलोमिटर उत्तरमा रहेको धाम पुग्नका लागि कोशी प्रदेश सरकार र नगरपालिकाले दुई वर्षअघि नै कालोपत्र सडकको निर्माण र विद्युत् तथा खानेपानीको सुविधा पुर्याएका छन् ।
धाम क्षेत्रभित्र एकैपटकमा एक हजारभन्दा बढी मानिस अट्ने विशाल आवास गृह निर्माण गरिएको छ । गौशालाका अध्यक्ष नन्दकिशोर भारद्वाजले गौशालामा हाल एक हजार पाँचभन्दा बढी गाईगोरु संरक्षण भइरहेको बताए । गौशालामा नेपाल र भारतका विभिन्न ठाउँमा पाइने रैथाने र भारतको मथुरा वृन्दावनमा पाइने रैथाने गोवंशका गाईसमेत पालिएका छन् ।
गौशालामा संरक्षित जुरो भएको गाई हेर्न धर्मावलम्बी आउने गरेका छन् । वृद्धावस्थाका कारण सडकमा छाडिएका र बेच्नका लागि लगिएका बेला उद्धार गरिएका गाईलाई गौशालामा उपचार र संरक्षण गरेर राख्ने गरिएको छ । यहाँ गाईगोरुको उपचारको भरपर्दो व्यस्था रहेको छ । गौशालासँगै मठमन्दिरका ठूला संरचना र हरिदेव संस्कृत विद्यालय रहेको धाममा लक्ष्मी नारायण, सताक्षीमाता, शिवालय, बराह, राम दरबार र द्वापर ज्योतिलिङ्ग लगायतका दर्जनौँ मठमन्दिर सुशोभित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया