काठमाडौँ– न्युजिल्याण्डको संसदमा एक जना आदिवासी सांसदले परम्परागत ‘हाका’ नाचेको घटनाले संसारभर चर्चा पायो । टे पार्टी माओरीकी सांसद हाना रावहिटी मइपी क्लार्कले संसदमा सरकारले प्रस्तुत गरेको वाइटाङ्गी सन्धीलाई पुनर्परिभाषित गर्ने विधेयकको विरोधमा हाका नाचेकी थिइन् ।
उनले संसदको कारवाही चल्दै गर्दा उक्त विधेयक च्यात्दै हाका नाचेको भिडियो एकाएक संसारभरी भाइरल बन्न पुग्यो । उनले हाका नाच्न थालेपछि उनीसँगै माओरी मूलका अरु सांसदले पनि उनलाई हाका नाचेर साथ दिए । माओरी मूलकी हाना न्युजिल्याण्डको इतिहासमा सन् १८५३ यताकै सबैभन्दा कान्छी सांसद हुन् ।
संसदमा उनले हाका नाचेको यो पहिलो घटना भने होइन । गत वर्षको डिसेम्बर महिनामा पनि उनले आफ्नो पहिलो संसदीय सम्बोधनका क्रममा संसदमै हाका नाचेकी थिइन् । माओरी भाषा र सँस्कृति संरक्षण र प्रवद्र्धन गर्ने अभियानमा पनि सक्रिय छिन् ।
न्युजिल्याण्ड हेराल्डका अनुसार खासमा उनी न्युजिल्याण्डको इतिहासकै पहिलो सांसदकी सन्तन्तीसमेत हुन् । उनका हजुरबुवा टाइटिमु माइपी न्गा टामाटोआ नामक माओरी अधिकारवादी संस्थाका सदस्यसमेत रहेका थिए भने हजुरबुबाकी बहिनी हाना टे हेमारा माओरी भाषा संरक्षणमा सक्रिय थिइन् ।
माओरीहरु न्युजिल्याण्डका आदिवासी समुदाय हुन् । माओरीहरु दक्षिण प्रशान्त महासागरका टापु मुलुकहरुमा बसोबास गर्ने पोलिनेशियन मूलका हुन् । उनीहरु १३ औँ शताब्दीतिर न्युजिल्याण्डका दुई ठूला निर्जन टापुमा आइपुगेको विश्वास गरिन्छ । शताब्दीऔँसम्म एक्लो ठाउँमा हुर्किको माओरी समुदायले आफ्नै सामाजिक मान्यता, भाषा, सँस्कृति र जीवनशैलीको विकास गरेका थिए ।
हाल न्युजिल्याण्डको ५३ लाखमध्ये झण्डै १० लाख अर्थात् करिब करिब २० प्रतिशत जनसङ्ख्या माओरी समुदायको रहेको तथ्यांक छ । टे पाटी माओरी नामक राजनीतिक दलले संसदमा यो समुदायको प्रतिनिधित्व गर्छ । माओरीलाई छुट्याइएका ७ मध्ये ६ सिटमा यो पार्टीले जित हासिल गरेको छ । साँस्कृतिक हिसाबमा न्युजिल्याण्डको समाजमा माओरीको प्रभाव निकै ठूलो छ । न्युजिल्याण्डमा बोलिने अङ्ग्रेजी भाषाका कतिपय शब्द माओरी भाषाबाटै आएका छन् । हाका नृत्यलाई त न्युजिल्याण्डको पहिचान नै मानिन्छ ।
हाका नाच माओरीले युद्धको तयारीस्वरुप प्रस्तुत गर्ने एक किसिमको नृत्य हो । यो नृत्यमा वीररसका गीत गाउँदै भुईँमा खुट्टा बजार्ने, छाती पिट्ने, जिब्रो निकालेर विरता देखाइन्छ । खासमा परापूर्वकालमा युद्धको समयमा दुश्मनलाई डर देखाउनका लागि हाका नाच्ने चलन थियो । अहिले पनि विभिन्न औपचारिक र अनौपचारिक कार्यक्रममा हाका नाच्ने चलन रहिआएको छ । विवाह, अन्तिम सँस्कार, दिक्षान्त समारोहजस्ता अवसरमा हाका नाच्ने गरिन्छ । अझै पनि न्युजिल्याण्डको रग्बी टिमले खेल खेल्नुअघि हाका नाच्ने गर्छ ।
वाइटाङ्गी सन्धीलाई पुनर्परिभाषित गर्न ल्याइएको विधेयकको विरोध गर्न दशौँ हजार माओरी र न्युजिल्याण्डका आम जनता सडकमा उर्लिएर ‘हिकोइ’ यात्रामा समेत निस्किए । माओरी भाषामा ‘हिकोइ’ भन्नाले र्याली वा प्रदर्शन भन्ने बुझिन्छ । विधेयकको विरोधमा न्युजिल्याण्डका कुना कुनाबाट हिकोइ हिँडेका दशौँ हजार मानिसहरु राजधानी वेलिङ्टनस्थित संसद भवनअघि भेला भएका थिए ।
हिकोइमा किवी समाजमा रहेका हरेक क्षेत्रका मानिसहरुको सहभागिता थियो । हिकोइमा आदिवासी माओरी, आप्रवासी, गोरा जातिका युवा, वृद्धवृद्धा, बालबालिका सबै तप्का र पृष्ठभूमिका ४२ हजारभन्दा धेरै मानिसहरु सहभागी भएका थिए । यस हिकोइसँगै सरकारलाई वाइटाङ्गी सन्धीलाई पुनर्परिभाषित गर्ने विधेयक फिर्ता लिन चरम दबाब पैदा भएको छ ।
बेलायती साम्राज्य र ‘राङ्गाटिरा’ भनिने स्थानीय माओरी मुखियाबीच सन् १८४० मा भएको सम्झौतालाई वाइटाङ्गीको सन्धी भन्ने गरिन्छ । माओरी र अंग्रेजी भाषामा लेखिएको यो सन्धीलाई असमान मानिन्छ । यो सन्धीमार्फत औपचारिक रुपमा न्युजिल्याण्ड र त्यहाँ बसोबास गर्ने माओरी समुदाय बेलायती साम्राज्यको मातहतमा आएका थिए ।
यो सन्धीको अङ्ग्रेजी सँस्करणमा सारा माओरी मुखियाहरु तत्कालीन बेलायती महारानी भिक्टोरियाको मातहतमा रहने उल्लेख गरिएको छ भने माओरी भाषामा मुखियाहरुको राङ्गाटिरा अर्थात् आत्मनिर्णय वा राजनीतिक अधिकार भने यथावत नै रहने उल्लेख गरिएको छ ।
यसै सन्धीका आधारमा बेलायतले न्युजिल्याण्डमा आफ्नो औपनिवेशिक शासन विस्तार गरेको थियो । यद्यपि आफ्नो समुदायले कहिल्यै पनि बेलायती शासनसमक्ष आफ्नो सार्वभौमिकता हस्तान्तरण नगरेको माओरी पक्षको दाबी रहँदै आएको छ । यसै कारण माओरीहरु अझै पनि न्युजिल्याण्डमा आफूहरुका लागि विशेषाधिकार कायम हुनुपर्ने माग गर्दै आएका छन् ।
यो सन्धीमा हस्ताक्षर भएको १० वर्ष नबित्दै माओरीहरुको ९० प्रतिशत भूमिमा बेलायती साम्राज्यले कब्जा जमाएको थियो । माओरीमाथि दमन, ज्यादती र क्रुरताका घटना भइरहन्थे । माओरी सँस्कृति र भाषाको प्रभाव घट्दै गयो । माओरीलाई गोरा जनताजति अधिकार पनि थिएन ।
सन् १९४७ मा न्युजिल्याण्ड बेलायती शासनबाट सार्वभौम भएपनि माओरीमाथिको दमन भने कम भएन । सन् १९५० देखि सन् २०१९ सम्म न्युजिल्याण्डका २ लाखभन्दा धेरै जनामाथि राज्य र चर्चको हेरचाह गृहमा यातना दिइएको घटना सार्वजनिक भएको थियो । गत नोभेम्बर महिनामा त्यहाँका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले यसबारे जनतामाझ औपचारिक रुपमा आम माफी पनि मागिसकेका छन् ।
सन् १९७५ मा मुलुक स्वतन्त्र भएपनि भूमि अधिकार अझै नपाएको भन्दै माओरी समुदायले विशाल हिकोइ आयोजना गरेका थिए । त्यसबेला आयोजित हिकोइमा हजारौँ माओरीको सहभागिता थियो । त्यो हिकोइलाई माओरी अधिकारका लागि कोशेढुङ्गा मानिन्छ । त्यसपछि न्युजिल्याण्ड सरकारले माओरी समुदायप्रति नरम नीति अख्तियार गर्न शुरु गर्यो ।
पछि न्युजिल्याण्डमा बन्ने नियम कानुनमा सन्धीको मूल मर्मलाई मध्यनजर गर्न थालियो । अहिले पनि न्युजिल्याण्डमा कतिपय अवस्थामा माओरी समुदायलाई विशेष अग्राधिकारकै व्यवस्था गरिएको छ । यद्यपि अझै पनि माओरीहरु न्युजिल्याण्डमा सबैभन्दा पिछडिएको समुदायमा पर्छन् ।
न्युजिल्याण्डका कतिपय दक्षिणपन्थी आलोचकहरु भने माओरी समुदायलाई दिइएको अग्राधिकारले ‘कानुनका आँखामा सबै बराबर’ भन्ने मान्यतालाई स्थापित नहुने दाबी गर्दै आएका छन् । यसका लागि माओरी समुदायले पाउने अग्राधिकार कटौती हुनुपर्ने उनीहरुको माग छ । गत वर्ष सम्पन्न आम निर्वाचनपछि न्युजिल्याण्डमा दक्षिणपन्थी सरकार गठन भएको छ ।
न्युजिल्याण्ड नेशनल पार्टी, एक्ट न्युजिल्याण्ड पार्टी र न्युजिल्याण्ड फस्र्ट पार्टीको गठबन्धनले अहिलेको सरकार चलाइरहेका छन् । एक्ट न्युजिल्याण्ड पार्टीका नेता तथा उपप्रधानमन्त्री डेभिड सेमुर आफैँ माओरी समुदायका हुन् । उनै सेमुरले संसदमा ल्याएको सन्धी सिद्धान्त विधेयक भनिने वाइटाङ्गी सन्धीका सिद्धान्त विधेयकलाई लिएर अहिले व्यापक असन्तुष्टि पैदा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया