काठमाडौँ- अमेरिकामा हालै सम्पन्न निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपतिमा विजयी भइसकेका छन् । ट्रम्पको विजयीसँगै जेडी भान्सले उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् । अमेरिकामा उपराष्ट्रपतिसँग कम शक्ति भएपनि यो पद निकै प्रभावशाली मानिन्छ ।
जिम्मेवारीमै रहँदा राष्ट्रपतिको मृत्यु भएमा वा राष्ट्रपतिले पद त्याग गर्नुपरेमा उपराष्ट्रपतिले अमेरिकी कार्यपालिकाको नेतृत्व लिने प्रावधान छ । जेडी भान्सले पनि ट्रम्प प्रशासनमा निकै प्रभावशाली भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । निर्वाचनमा विजयी भएसँगै चारैतिर ट्रम्पको चर्चा चुलिएको छ । ट्रम्पको विजयीले जेडी भान्स छायाँमा त परेका होइनन् भन्ने प्रश्न पनि उठिरहेको छ ।
ओहायोमा जन्मेका जेडी भान्सको बाल्यकाल निकै उतारचढावमा बितेको थियो । युवा अवस्थामा केही समय सैन्य सेवा गरेका उनले केही वर्ष कानुन व्यवसायीका रुपमा पनि बिताएका थिए । क्यालिफोर्नियामा पुगेर प्रविधि क्षेत्रमा लगानीसम्बन्धी काम गरेका उनले त्यहाँबाट ठूला र प्रभावशाली व्यक्तिसँग सम्बन्ध विस्तार गरेका थिए । राजनीतिमा सक्रिय हुने इच्छाअनुसार उनी एकाएक ओहायोबाट प्रतिनिधित्व गर्ने सिनेटरसम्म बन्न सफल भए । अब उनी उपराष्ट्रपति बनेका छन् ।
जेम्स डोनाल्ड बोमानको जन्म ४० वर्षअघि ओहायोको मिडिलटाउनमा निम्न वर्गीय परिवारमा भएको थियो । जेडी तीन वर्षको हुँदा उनका पिताले परिवार त्यागेर हिँडे । जेडीकी आमा बेभरली भान्स पेशाले नर्स थिइन् ।
पछि बेभरली लागूऔषध दुव्र्यसनको कुलतमा फसिन् । पेशाले नर्स बेभरली डाक्टरले सिफारिस गर्ने औषधिको सहज पहुँच थियो । उनका दिन रात नसामै बित्दथे । उनले आफ्ना सन्तानलाई उचित समय दिन सकिनन् । जेडी १२ वर्षको हुँदा बेभरली पक्राउ पक्राउ परेकी थिइन् । जेडी भान्सले आफ्नो आत्मवृत्तान्त ‘हिलिबिली एलिजी’ मा आफ्नो प्रारम्भीक जीवनबारे लेखेका छन् ।
उनकी आमाले जीवनमा पाँच पटक विवाह गरिन् । एक पटक उनले तेस्रो पतिका रुपमा बब हामेलसँग विवाह गरेकी थिइन् । हामेलले जेडीको पालनपोषणको जिम्मा समेत लिए । हामेललाई उनलाई आफ्नो थर समेत राख्न दिए । बबलाई डोनाल्ड नाम पटक्कै मन पर्दैनथ्यो । त्यसैले जेडीको नाम जेम्स डेभिड हामेल रहन गयो ।
तर, बब र बेभरलीको विवाह लामो समयसम्म टिक्न सकेन । कुलतमा फसेकी बेभरलीको अवस्था दिन प्रतिदिन बिग्रिँदै गएसँगै जेडीको पालनपोषणको जिम्मा जेडीका मावली हजुरबुबा हजुरआमालाई दिएकी थिइन् । उनका मावली थर भान्स थियो । पछि जेडीले आफ्नो थर फेरेर भान्स नै राखे ।
१७ वर्षको उमेरमा जेडीले डिल्मान फूड्स नामक स्थानीय किराना पसलमा क्यासियरको काम गर्न थाले । मिडिलटाउन उच्च शिक्षा सकेसँगै सन् २००३ मा अमेरिकी मरिन कोरमा भर्ती भए । उनी सैन्य पत्रकारका रुपमा मरिन कोरमा भर्ना भएका थिए । सज् २००५ मा उनी ६ महिनाका लागि इराकमा तैनाथ भएका थिए । यद्यपि इराकमा रहँदा उनले कुनै लडाइको अनुभव भने गर्नुपरेन । सन् २००७ मा उनी कर्पोरलको पदमा रहँदा मरिन कोरबाट बाहिरिए ।
सन् २००७ मै उनी ओहायो विश्वविद्यालयमा भर्ना भए । उनले त्यहाँ राजनीतिशास्त्र र दर्शनशास्त्रमा स्नातक अध्ययन गरे । त्यसपछि उनी येल कानुन विद्यालयमा भर्ना भए । येल कानुन विद्यालयबाट दीक्षित भएर उनी रिपब्लिकन सिनेटर जोन कोर्निनका लागि काम गर्न थाले ।
त्यसपछि केही समयका लागि उनले सिड्ली अस्टिन नामक कानुनी सेवा प्रदायक संस्थामा कर्पोरेट वकिलका रुपमा काम गरे । पछि उनी क्यालिफोर्नियातिर लागे । क्यालिफोर्नियामा रहँदा उनले अमेरिकी भुक्तानी सेवा प्रदायक कम्पनी पेपालका सहसंस्थापक एवम् उद्यमी पिटर थिलको कानुन फर्ममा पनि काम गर्ने अवसर पाएका थिए ।
क्यालिफोर्नियामै रहँदा उनले प्रविधिको क्षेत्रमा काम गर्ने मौका पनि पाए । क्यालिफोर्नियामा रहँदा उनले विभिन्न प्रविधि कम्पनीमा अनुभव मात्रै हासिल गरेनन्, प्रभावशाली व्यक्तिहरुसँग पनि सम्बन्ध विस्तार गर्ने अवसर पाए ।
सन् २०१७ र २०१८ तिर उनले अमेरिकी टेलिभिजन सीएनएनका लागि काम पनि गरेका थिए । क्यालिफोर्नियामा रहँदै उनलाई राजनीतिमा प्रवेश गर्ने इच्छा थियो । औपचारिक रुपमा राजनीतिमा प्रवेश गर्ने तयारीअनुसार उनी सन् २०१९ मा अमेरिकी पूर्वसैनिकको हकहितका लागि काम गर्ने विथ हनर फण्ड नामक राजनीतिक कार्यसमिति (सुपरप्याक) मा पनि आबद्ध भए । सन् २०१९ मै उनले रकब्रिज नेटवर्क नामक राजनीतिक सञ्जाल थालेका थिए । सन् २०२० मा उनी अमेरिकन मोमेन्ट नामक अर्को कन्जरभेटिभ संस्थामा जोडिन पुगे ।
सन् २०१८ मै उनले डेमोक्र्याटिक सिनेटर शेरोड ब्राउनविरुद्ध ओहायोबाट प्रतिनिधित्व गर्ने सिनेटको सिटमा रिपब्लिकन पार्टीका तर्फबाट चुनाव लड्नेबारे विचार गरेका थिए । तर उनले उम्मेदवारी भने दिएनन् । त्यसपछि सन् २०२० मा हुन लागेको सिनेट निर्वाचनमा ओहायोबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन सिनेटर रब पोर्टम्यानले उम्मेदवारी नदिने घोषणा गरेका थिए ।
भान्सले पनि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारी दिए । पार्टीको आन्तरिक निर्वाचन जितेसँगै भान्स सिनेटका लागि औपचारिक रुपमा रिपब्लिकन उम्मेदवार बन्न सफल भए । भान्सलाई चुनावमा सहयोग गर्न पिटर थिलले १ करोड डलर सहयोग गरेका थिए । भान्सले डेमोक्र्याटिक उम्मेदवार टिम रायनलाई पराजित गर्दै सिनेटर बन्न सफल भए । चुनावमा भान्सले ५३ प्रतिशत मत ल्याउँदा रायनले केबल ४७ प्रतिशत मत ल्याएका थिए ।
भान्सले सन् २०२३ को जनवरी महिनामा डोनाल्ड ट्रम्पलाई राष्ट्रपतीय निर्वाचनमा समर्थन गर्ने घोषणा गरेका थिए । उनको समर्थनलाई महत्व दिँदै ट्रम्पले भान्सलाई उपराष्ट्रपतिको टिकट दिए ।
भान्सको उमेर कम भएकाले युवा मतदातालाई रिझाउनका लागि ट्रम्पले उनलाई उपराष्ट्रपतिको टिकट दिएको विश्वास गरिन्छ । गत नोभेम्बर ५ मा सम्पन्न निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भएसँगै भान्स उपराष्ट्रपति बनेका छन् । अब आगामी जनवरी २० मा शपथ ग्रहण गरेसँगै उनले औपचारिक रुपमा उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया