मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सङ्गीत

ग्लोबल ट्रेण्डिङमा नेपाली गीतको लहर

काठमाडौँ– तीन साताअघि सार्वजनिक भएको गायक सुशान्त केसीको गीत ‘बार्दली’ अहिले युट्युबको ट्रेन्डिङ नम्बर एकमा छ ।

आइतबार भने यो गीतले ग्लोबल ट्रेन्डिङमा ९३ औं स्थान ओगटेको थियो । यो समाचार तयार पार्दासम्म यो गीत ग्लोबल ट्रेण्डिङको ९० औं स्थानमा उक्लेको छ ।

केसीकै शब्द तथा सङ्गीत रहेको यस गीत ग्लोबल ट्रेण्डिङमा परेको चौथो गीत हो ।

गीत सङ्गीतले डिजिटल प्रविधिको युगमा फड्को मारेपछि यो सुन्नभन्दा हेर्नेतिर बढी केन्द्रित भयो । हेरिने भएपछि यसमा आउने भिडियोको समेत मान्यता बढ्यो । तसर्थ डिजिटल प्रविधिमा गीत सुन्न र हेर्न सकिने भएपछि विश्वभर नेपाली गीतले फड्को मारेको देखिन्छ ।

विश्वका कुनै पनि कुनामा बसेर विभिन्न प्लेफर्ममार्फत नेपाली गीत सुनिने र हेरिने भएकै कारण अहिले एक पछि अर्को नेपाली गीतहरु ग्लोबल ट्रेण्डिङमा परिरहेका छन् । सङ्गीत क्षेत्रकै विज्ञहरुको आधारमा भन्ने हो भने ग्लोबल ट्रेण्डिङको शुरुवात लोकगीत ‘कश्मीरे पछ्यौरी’ले नै गरेको देखिन्छ ।

बाबुकृष्ण परियार र दीपिका बयम्बुको स्वर रहेको यस गीतको रचना निश्चल दवाडीले गरेका हुन् । यो गीत सार्वजनिक भएको छ महिनापछि मात्र चर्चामा आएको हो । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध खुला गरेपछि एकाएक यो गीत चर्चामा आएको थियो ।

त्यस्तै, ग्लोबल ट्रेण्डिङमा परेको अर्को नेपाली गीत ‘रुकुम मैकोट’ हो । दुई महिनाअघि युट्युबमा अपलोड गरिएको सो गीत फिल्म ‘खुस्मा’मा समावेश छ । यो गीतको भिडियो अहिले पनि ग्लोबल ट्रेण्डिङको ९८ औं स्थानमा छ । केही दिनअघिसम्म यो गीत ६० औँ स्थानमा रहेको थियो । सुरेन्द्र रानाको शब्द रचना रहेको गीतमा एसडी योगी र शान्ति श्री परियारको स्वर समावेश छ ।

‘कश्मीरे पछ्यौरी’ र ‘रुकुम मैकोट’ यी दुवै गीतमा समावेश मौलिक ठेट शब्द र भिडियोमा समेत झल्किएको मौलिकपनालाई दर्शकले निकै रुचाएका छन् । दशैं तिहारको छेकोमा सार्वजनिक गरिएको हेमन्त शर्माको ‘आउँथ्यो दशैं’ बोलको गीत समेत ग्लोबल ट्रेण्डिङमा परेको थियो ।

ग्लोबल ट्रेण्डिङ सर्जकका लागि प्रोत्साहन हो: गायक बाबुकृष्ण परियार

‘कश्मीरे पछ्यौरी’ बोलको लोक गीतले ग्लोबल ट्रेण्डिङको ढोका खोल्ने काम गर्‍यो । यस मानेमा यस गीतका प्रस्तुतकर्ता, गायक तथा मोडल बाबुकृष्ण परियार प्रशन्न छन् । ग्लोबल ट्रेण्डिङमा परेको आफ्नो गीत नै पहिलो हो भनेर उनको दाबी भने छैन । आम सङ्गीत जमात र सञ्चार माध्यमका आधारमा नै उनले हो मा हो मात्र मिलाएका छन् ।

पछिल्लो समयमा ग्लोबल ट्रेण्डिङमा जुन सर्जकको गीत परेपनि त्यसबाट मौलिक सिर्जना गर्ने सर्जकहरुलाई निकै प्रोत्साहन मिलेको गायक परियार सुनाउँछन् । ‘गीत ग्लोबल मार्केटमा पुगेपछि अवश्य पनि गीतसँगै त्यसको सर्जक पनि पुगिने नै भयो ।

यसले त सर्जकलाई खुशी दिने नै भयो,’ उनी भन्छन्, ‘हाम्रो पनि यस गीतबाट पहिलो अनुभव नै भयो । यसले हामीलाई अर्को राम्रो सिर्जनाको लागि प्रोत्साहन गरेको छ ।’ अरु सर्जकहरुलाई समेत ग्लोबल बजारमा गीतसङ्गीत लैजान अझै थप प्रोत्साहन भएको उनको बुझाइ छ ।

‘कश्मीरे पछ्यौरी’प्रति उनी मात्र नभएर सम्पूर्ण टिम नै आशावादी थिए । सार्वजनिक भएको छ महिनासम्म टिमले गीतको प्रतिक्रियाका लागि पर्खेका थिए । अर्को गीत सिर्जनाका लागि परियारलाई सुझाव आउन थालेपनि उनले भने ‘कश्मीरे पछ्यौरी’लाई कुरिबसेका थिए । छ महिनापछि गीतप्रति आएको प्रतिक्रियाले भने उनी मात्र नभएर टिम नै चकित परे ।

राम्रो सिर्जना भएमा दर्शक तथा श्रोताको मनमा बस्ने परियारको मत छ । यसबाट आर्थिक रुपमा समेत सर्जकलाई सहज हुने उनको अनुभवले बताउँछ । उनका अनुसार ‘कश्मीरे पछ्यौरी’लाई श्रोता÷दर्शक समक्ष ल्याउन साँढे चार लाख रुपैयाँ हारहारीमा खर्च भएको थियो ।

खर्चकै हिसाबले हेर्ने हो भने लगानी खेर नगएको उनी सुनाउँछन् । सिर्जनालाई बजार र मुल्यमा निर्धारण गर्ने पक्षमा त उनी छैनन् । यद्यपि राम्रो सिर्जना भएमा त्यसबाट मुल्य समेत आउने कुरामा उनी ढुक्क छन् । पछिल्लो गीत सङ्गीतको बजार नियाल्दा उनलाई मात्र नभएर अन्य सर्जकहरुलाई समेत यसमा आउनलाई हुटहुटी जगाएको भने पक्कै देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?