काठमाडौँ– जो कोही पनि अरुभन्दा आकर्षक देखिन चाहन्छन् । अरुभन्दा भिन्न देखिनका लागि मानिसहरुले आकर्षक शैलीका पहिरन लगाउने चलन छ । हुन पनि कस्तो फेसनका पहिरन लगाउने भन्ने कुरा मौसम, समय, स्थानजस्ता कुराले पनि प्रभाव पारिरहेको हुन्छ ।
जाडो र गर्मी मौसममा लगाउने पहिरन फरक हुन्छ भने बिहान, दिउँसो र बेलुका लगाइने पहिरनमा पनि फरक हुन्छ ।
त्यसैगरी, उदार परिवेश रहेको समाजमा आधुनिक किसिमको पहिरन लगाउने चलन हुन्छ भने रुढीवादी शैलीको समाजमा परम्परागत शैलीको पहिरनलाई महत्व दिइन्छ । त्यसैगरी, पहिरन उत्पादन गर्ने कम्पनी, क्रयशक्ति, फेसनेबल पहिरनमा पहुँच, मनोरञ्जन उद्योगजस्ता कुराले पनि मान्छेको पहिरनचेतमा धेरै हदसम्म प्रभावित पारिरहेको हुन्छ ।
त्यस्तै, मान्छेको उमेरले पनि पहिरन चेतमा अति धेरै प्रभाव पारिरहेको हुन्छ । पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रचलनले एउटा ठाउँ वा देशमा चलेको फेसन ट्रेण्ड छोटो समयमा नै अर्को देशमा पनि फैलिन पुगेको देखिन्छ । आज हामी संसारका केही विशिष्ट पहिरनबारे जानकारी दिन गइरहेका छौँ ।
एथ्लिज्योर
अहिले किशोरकिशोरी र युवापुस्तामाझ एथ्लिज्योर भनिने फेसन ट्रेण्ड चलेको देख्न सकिन्छ । ‘एथ्लेटिक’ र ‘लिजर’ शब्द मिलाएर यो ट्रेन्डको नामकरण गरिएको हो । व्यस्त वा फुर्सदिलो जुनसुकै अवस्थामा पनि मान्छेलाई यस्तो पहिरन सुहाउँछ । यस ट्रेण्डमा प्रायः हुडी, योगा पाइन्ट, स्वेटपाइन्ट, ट्राकसुट, लेगिङ, टिसर्टजस्ता पहिरन पर्छन् ।
सुट
परम्परागत भएपनि सुट लगाउने चलन अझै बढिरहेको देखिन्छ । विशेषगरी औपचारिक कार्यक्रममा कोट, पाइन्ट र टाइमा ठाँटिएर जाने मान्छेको शान नै अर्को हुन्छ । सुट लगाउने मान्छे सभ्य, गम्भीर र आकर्षक देखिन्छ । सुट लगाउने चलन १७ औँ शताब्दीमा पश्चिमी युरोपबाट शुरु भएको ठानिन्छ । अहिले विश्वका हरेक कुनामा सुट लगाउने चलन छ ।
जिन्स
बाक्लो र प्रायः नीलो कपडाबाट बनेको जिन्सका पहिरन लगाउने चलन पनि विश्वभरी नै छ । जिन्सलाई पश्चिमा सँस्कृतिको विशिष्ट पहिरन मानिन्छ । सबै उमेर समूह, लिंग र जुनसुकै समयमा पनि लगाउन मिल्ने भएकाले यो पहिरन अझै पनि लोकप्रिय छ । अहिले जिन्स पाइन्टका साथै जिन्स ज्याकेट लगाउने चलन पनि छ ।
कोरियन फेसन
कोरियाली पप सङ्गीत केपपको विश्वव्यापी विस्तारका कारण कोरियाली फेसन पनि अहिले चर्चामा छ । बीटीएस, ब्लाकपिङ्क, मोमोल्याण्डजस्ता ब्याण्डका सदस्यले लगाउने पहिरनबाट प्रभावित भएर केपपका फ्यानहरुले यस्तो ट्रेण्ड पछ्याउने गरेका छन् । कोरियाली फेसन ट्रेण्डमा एशियाली सौन्दर्यचेतमा सुन्दर मानिने पश्चिमा शैलीका पहिरन समावेश छन् ।
गोपनिक फेसन
ग्रामीण क्षेत्र र उपनगरका रुसी युवाहरुले प्रायः ट्राकसुट लगाउन रुचाउँछन् । विशेषगरी रुसी युवामा जर्मन ब्राण्ड एडिडासका ट्राकसुट लोकप्रिय छन् । अझै पनि रुसका धेरै ठाउँमा एडिडासका ट्राकसुटमा एडिडासकै जुत्तामा ठाँटिएका देखिन्छन् । तत्कालीन सोभियत संघको अन्त्यतिर रुसी समाजमा रहेका ‘गोपनिक’ भनिने युवा समूहले यो फेसन ट्रेण्ड शुरु गरेको विश्वास गरिन्छ ।
हिपहप फेसन
हिपहप सँस्कृतिबाट प्रभावित फेसन अहिले पनि लोकप्रिय छ । खासगरी अमेरिकाको शहरी क्षेत्रमा बसोबास गर्ने काला जातीका युवाहरुले यो फेसनलाई लोकप्रिय बनाएको बताइन्छ । हिपहप सङ्गीतको विस्तारका कारण अहिले भने यो फेसन विश्वभरी नै लोकप्रिय बन्दै गएको छ । यो फेसनमा ठूला आकारका कपडा, टोपी, ट्याटु, गलामा विभिन्न धातुका माला, चश्मा, औँठीजस्ता पहिरन र आभूषण समावेश छन् ।
दक्षिण एसियाली पहिरन
दक्षिण एशियाली महिलाले परम्परागत रुपमा लगाउँदै आएका सारी, कुर्ता सुरुवाल, लेहङ्गाजस्ता पहिरनको लोकप्रियता बढ्दै गएको छ । अहिले बसाइसराइ र सूचना प्रविधिको विस्तारजस्ता कारण यी पहिरन पश्चिमा मुलुकमा पनि लोकप्रिय बन्दै गएका छन् । विशेषगरी पछिल्लो पुस्ताका दक्षिण एशियाली महिलाहरु चाडपर्व, विवाह र धार्मिक एवम् साँस्कृतिक समारोहमा, औपचारिक कार्यक्रममा यस्ता पहिरन लगाउन रुचाउँछन् ।
हिजाब
हिजाब मुसलमान महिलाले शीर ढाक्न लगाउने एक किसिमको कपडा हो । इरान, साउदी अरबजस्ता परम्परागत इस्लामिक देशमा महिलालाई अनुहार वा टाउको छोप्न अनिवार्य गरिएको छ । यद्यपि पश्चिमा मुलुकमा बसोबास गर्ने अरब वा इस्लामिक मूलका महिलाले फेसनका रुपमा दैनिक जीवनमा हिजाब लगाउने गरेका छन् ।
लिटिल ब्लाक ड्रेस
छोटकरीमा एलबीडी भनिने लिटिल ब्लाक ड्रेस महिलाहरुले लगाउने प्रायः कालो रंगको छोटो कपडा हो । खासगरी बेलुकीको समयमा डिस्को र क्लब जाने महिलाहरुले यस्तो किसिमको पहिरन लगाउन रुचाउँछन् । फेसन जगत्मा महिलाहरुले आफ्नो दराजमा कम्तीमा एक थान एलबीडी राख्नुपर्ने मान्यता रहेको छ ।
भिन्टेज पहिरन
विगतमा ट्रेण्ड चलेका तर अहिले खासै लोकप्रिय नभएका पहिरनलाई भिन्टेज पहिरन भन्ने गरिन्छ । अहिलेको समयमा पुरानो समयमा ट्रेण्ड चलेका पहिरन लगाउँदा मानिसहरुको माझमा अरुभन्दा भिन्न र आकर्षक देखिन्छ । सामाजिक सञ्जालको विस्तारले अहिले भिन्टेज पहिरन लगाउने चलन बढ्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया