काठमाडौँ– यस वर्ष ७३ औं संस्करणको ‘मिस युनिभर्स–२०२४’को ताज डेनमार्ककी २१ वर्षिया भिक्टोरिया जैरले जितिन् ।
भिक्टोरियाले फाइनल राउण्डमा प्रस्तुत गरेको जवाफले सबै निर्णायकहरुको मन जित्यो र उनले ताज हात पारिन् । प्रतियोगिताको अन्तिम चरणको जवाफमा उनले भनेकी थिइन्, ‘तपाईं जहाँबाट आउनुभएको हो, तपाईंको विगतले कुनै फरक पार्दैन । तपाईं सधैं यसलाई नै तपाइँको बलमा परिणत गर्न रोज्न सक्नुहुन्छ । यसले तपाईं को हो भनेर कहिल्यै परिभाषित गर्दैन ।’
उनले अझै थप्दै भनेकी थिइन्, ‘तपाईं लडिरहनु पर्छ । म आज यहाँ उभिएको छु, किनकि म परिवर्तन चाहन्छु । म इतिहास बनाउन चाहन्छु र त्यो म आज राति गर्दैछु । त्यसैले कहिल्यै हार नमान्नुहोस् । तपाईंले के गर्न जाँदै हुनुहुन्छ । सधैं आफैंमा र आफ्ना सपनाहरूमा विश्वास गर्नुहोस् ।’
शनिबार राति मेक्सिको सिटीमा भएको भव्य ग्राण्ड फिनालेमा सुन्दरी जैरले १२० भन्दा बढी सुन्दरीहरुलाई पछि पार्दै उक्त ताज हात पारेकी हुन् । उनले डेनमार्कबाट पहिलोपटक मिस युनिभर्सको ताज जितेर इतिहास समेत रचेकी छिन् । प्रतियोगितामा १३० देशका सुन्दरीहरु सहभागी थिए ।
डेनमार्कको राजधानी क्षेत्रको ग्रिब्स्कोभ, सोबोर्गमा सन् २००४मा जन्मेकी भिक्टोरिया पेशेवर नर्तकका साथै उद्यमी समेत हुन् । उनको बाल्यकालको हुर्काइ भने कोपेनहेगनमा भएको थियो ।
व्यापार र मार्केटिङमा स्नातक डिग्री हासिल गरेकी उनले एक कुशल वकिल बन्ने लक्ष्य लिएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया