काठमाडौँ- चितवनको पर्यटकीय क्षेत्र सौराहामा रहेर नेपालसहित विभिन्न देशका चिकित्सक र नर्सहरुले ‘क्रिटिकल केयर’ मेडिसिन सम्बन्धी कार्यशालामा अनुभव आदानप्रदान गरेका छन् । क्रिटिकल केयरमा काम गर्ने चिकित्सकहरुको संस्था ‘नेपलिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन’ र ‘क्रिटिकल केयर नर्स एशोसिएसन अफ नेपाल’को आयोजनामा भएको कार्यशालामा उनीहरुले बृहत छलफल गरेका हुन् ।
सोसाइटीको छैठौं अन्तर्राष्ट्रिय सम्मेलन र एसोसिएसनको तेस्रो राष्ट्रिय सम्मेलनमा उपस्थित भएका चिकित्सक नर्सहरुले कार्यपत्र प्रस्तुत गर्दै त्यसमाथि छलफल गरेका हुन् । सोसाइटीका अध्यक्ष प्राडा शितल अधिकारीका अनुसार कार्यशालामा नेपालसहित भारत, फिलिपिन्स, बङ्गलादेश, श्रीलङ्का, थाइल्याण्ड, न्यूजिल्याण्ड र बेलायतमा सघन उपचार कक्षमा कार्यरत चिकित्सक नर्सहरुको सहभागिता रहेको थियो ।
सोसाइटीका कार्यशाला संयोजन गरेका डा हेमराज पनेरुका अनुसार दुई दिनमा ६० चिकित्सकको र ४० नर्सहरुका कार्यपत्र प्रस्तुत गरी ती कार्यपत्रमाथि छलफल गरिएको थियो । पनेरुले छलफलका क्रममा सरकारका तर्फबाट गर्नुपर्ने नीतिका बारेमा समेत सुझाव दिनसक्ने गरी निष्कर्ष तयार पारेको बताए ।
एसोसिएसनका तर्फबाट कार्यशाला संयोजन गरेकी परिस्मा ताम्राकारले छलफलमा आफूहरुले आर्जन गरेका प्राविधिक र व्यवहारिक ज्ञानलाई एक अर्कोमा आदानप्रदान गर्न सहयोगी बनेको बताइन् । यो कार्यशालाबाट फर्किएपछि जो कोहीलाई काममा उर्जा मिल्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया