काठमाडौँ– वरिपरि चारैतिर सेताम्मे हिमाल, बीचमा विशाल ताल, माथि रङ्गीन आकाशमा लुकामारी खेल्ने बादल । यो दृश्य दोलखामा रहेको च्छो रोल्पा तालको हो । जुन पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ पर्दै आएको छ ।
सामुद्री सतहबाट ४ हजार ५ सय ८० मिटर उचाईमा रहेको यो ताल आफैँमा सुन्दर मात्रै छैन, प्राकृतिक रुपमा पनि प्रख्यात छ । जहाँ जानको लागि करिब चार देखि पाँच दिनको समय छुट्याउनुपर्ने हुन्छ । दोलखाको उत्तरी क्षेत्रमा रहेको रोल्वालिङ उपत्यकामा रहेको यो ताल नेपालको सबैभन्दा ठूलोमध्येको हिमताल हो ।
वरिपरि रहेको हिमालको हिउँ पग्लेर जमेको पानीबाट बनेको यो हिमतालले सबै हिमालको प्रतिबिम्ब पनि उतारेको हुन्छ । जाडोयाम पानीभन्दा हिउँले भरिने तालमाथि हिँड्न नै सकिन्छ । तर यो निकै जोखिम पनि हुन सक्छ । किनकी घाम लागेको बेला हिउँ पग्लेर पानी हुन सक्छ । साथै डुब्ने जोखिम हुन्छ । तर हिउँमा हिँड्न मिल्ने भएकाले यस हिमताललाई सानो अन्र्टाटिका भनेर पनि सम्बोधन गर्ने गरेको पाइन्छ ।
यहाँ जानको लागि एक दिन सवारी साधनको यात्रा गरी तीन दिन पदयात्रा गर्नुपर्ने हुन्छ । काठमाडौँबाट दोलखाको गोँगर खोलासम्म एक दिन बसमा यात्रा गरी स्थानीय होटलमा बास बस्न सकिन्छ । भोलिपल्ट देखि आफ्नो पैदल यात्रा शुरु हुन्छ ।
गोँगर खोलाबाट शुरु भएको यात्रा विभिन्न गाउँ हुँदै च्छो रोल्पाको यात्रा तय गर्नुपर्छ । यात्राको क्रममा आउने आकर्षक झरनाले पर्यटकको मन त लोभ्याउँछ नै । यसका साथै झरनाबाट आउने मीठो सङ्गीतले यात्रामा क्रममा हुने थकानलाई पनि मेटाउन सहयोग गर्छु । केही बेरको यात्रा पछि सिमीगाउँ भन्ने ठाउँमा पुगिन्छ । सिमीगाउँबाट कतै झोलुगे पुल, कतै काठको पुल त कतै उकालो र ओरालोले तपाईंका यात्रालाई थप रोमाञ्चित बनाउँछ ।
स्वदेशीभन्दा विदेशी पर्यटकलाई लक्षित गरी सडकहरु निर्माण गरिएको छ । पैदलमार्गमा ढुङ्गालाई मिलाएर विछ्याइएको छ । यसले यात्रालाई थप सहज बनाउँछ ।
बाटोमा हरियाली जङ्गलसँगै विभिन्न जडिबुटीहरुको खानी भेटिन्छ । विशाल पहाडलाई साक्षी राखी यात्रा गर्नुको मज्जा नै बेग्लै हुन्छ । यात्राको क्रममा बेदिङ्ग गाउँ भेटिन्छ । जुन गौरीशंकर हिमालको काखमा बसेको गाउँ हो । यो गाउँ शेर्पा समुदायको बहुल्यता रहेको छ । सामुन्द्रिक सतहबाट ४१८३ उचाई रहेको यो गाउँको पशुपालन र पर्यटन मुख्य पेशा हो । यहाँ वरिपरि हिमालले ढाकेको छ । हिमाली उपत्यका रहेको बेदिङ्ग गाउँको दृश्य निकै सुन्दर छ ।
बेदिङ्ग गाउँको पछि हाम्रो गन्तव्य नाँ गाउँतर्फ अघि बढ्छ । यो च्छो रोल्पा जाने अन्तिम गाउँ हो । नाँ गाउँबाट करिब साढे दुईदेखि तीन घण्टा पदयात्रा पछि च्छो रोल्पा क्षेत्रमा पुगिन्छ । पदयात्रामा कहिले गौरी शंकर हिमाललाई काखमा राखेर त कहिले दायाँबायाँ अग्ला हिमाललाई साक्षी राखेर यात्रा गर्नुको मज्जा नै बेग्लै हुन्छ । अझ हिमालको टुप्पोमा झुल्किदै गरेको प्रकाशको किरणले बनेको छायाँले यात्रालाई कम रमाइलो बनाउँदैन ।
कहिले ठाडो उकालो, ठूलो चट्यानबाट बनेको बाटो त कहिले ओडारको बाटो हुँदे यात्रा गर्नुपर्छ । हिउँ पर्ने समयमा हिउँसँगै लडाइँ गर्दै यात्रा गर्नु मज्जा आउँछ नै । साथै चिसो आभास पनि हुन्छ ।
तीन दिनको लामो पदयात्रापछि पुगिने च्छो रोल्पाको दृश्यले तपाईंको थकान सबै भुलाउँछ । अझ त्यहाँको प्राकृतिक बनावट, वरिपरिको सेताम्मे अग्ला हिमालले आँखासँगै मनलाई पनि आनन्दित बनाउँछ ।
यो ताल १ सय ५४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जुन गौरीशंकर संरक्षित क्षेत्रअन्तर्गत रहेको छ । २७० मिटर गहिरो रहेको यो तालको लम्बाई ३ दशमलव ४५ किलोमिटर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया