काठमाडौँ – नेपालमा उत्पादित बिजुली भारतपछि बङ्गलादेशतर्फ निर्यात सुरु भएको छ । नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रुपमा स्वीच अन गरी विद्युत् निर्यातको शुक्रबार शुभारम्भ गरेसँगै नेपालको विद्युत् व्यापार तेस्रो देशमा विस्तार भएको छ ।
नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बङ्गलादेशसम्म पुगेको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ । मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत–बङ्गलादेशबीचको बहरामपुर ‘भारत’–भेरमारा ‘बङ्गलादेश’चार सय केभी प्रसारण लाइनमार्फत बङ्गलादेश विद्युत् पुग्नेछ ।
यसवर्ष ‘सन् २०२४’ को वर्षायाममा विद्युत् निर्यात शुक्रबार राति १२ बजेसम्म एक दिन मात्र हुनेछ । त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ बाट बङ्गलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु हुनेछ । नेपाल विद्युत् प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको जुन १५– नोभेम्बर १५सम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बङ्गलादेशलाई बिक्री गर्ने सम्झौता अनुसार आज एक दिन मात्र विद्युत निर्यात हुने भएको हो ।
भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८ दशमलव ६० र २१ दशमलव ४० गरी ४० मेगावाट विद्युत् बङ्गलादेशतर्फ निर्यातका लागि बिहीबार स्वीकृति दिएको थियो ।
नेपाल–बङ्गलादेशबीच विद्युत् व्यापार डलरमा हुनेछ । प्राधिकरणले बङ्गलादेश विद्युत् बिक्री गरी प्रति युनिट ६.४० अमेरिकी सेन्ट ९शुक्रबारको विदेशी मुद्रा विनियम दर अनुसार ८ रुपैयाँ ६२ पैसा० पाउने छ । नेपालले विद्युत् बिक्रीबाट पहिलो पटक डलरमा आम्दानी गर्न लागेको हो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुँदै आएको छ । प्राधिकरणले शुक्रबार साँढे ११ घण्टा बङ्गलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यातबाट २८ हजार १६० डलर ‘ रु ३७ लाख ३ हजार चार सय ३३’ पाउने छ । बङ्गलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर बिन्दुमा पाउने छ ।
त्रिपक्षीय विद्युत् बिक्री सम्झौतापछि प्राधिकरणले गत २३ असोजमा बङ्गलादेश विद्युत् निर्यात स्वीकृतिका लागि आयोजनाको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएको थियो । भारतको केन्द्रीय विद्युत् प्राधिकरण बिहीबार स्वीकृति दिएपछि शुक्रबारबाट विद्युत् निर्यात सुरु गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया