मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य/जीवनशैली

नवदम्पतीले पहिलो सन्तानको योजना बनाउँदा के कुरामा ध्यान दिने?

विवाहपश्चात् सन्तान जन्माउनु प्राकृतिक प्रक्रिया नै हो । नेपालको सन्दर्भमा प्रा:य दम्पतीहरुले विवाह भएको एक देखि दुई वर्षको समयावधि भित्रमा सन्तान जन्माइसकेका हुन्छन् । तर अधिकांश दम्पतीले पहिलो बच्चा योजना बनाएर भन्दापनि बिनायोजना अनुरुप नै सन्तान जन्माइरहेका हुन्छन् ।

गर्भधारण पश्चात् बच्चा जन्मिने समय र जन्मपश्चात् पनि आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या निम्तन सक्छ । यसकारण नव दम्पतीका लागि सन्तानको योजनाका विषयमा महत्वपूर्ण विषयको बारेमा सुमेरु अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. सुमी मुनकर्मीसँग जोय नेपालकर्मी सुस्मिता फुयाँलले गरेको कुराकानी:

नवदम्पतीले पहिलो सन्तानको योजना बनाउनुपूर्व के –कस्ता कुराहरुमा ध्यान दिनुपर्छ ?

विवाहित दम्पतीले सन्तानको तयारी गर्नुअघि योजना बनाउनुपर्छ । हाम्रो समाजमा गर्भवती भएपछि एकैपटक डाक्टरकोमा जँचाउन जाने चलन छ । तर सन्तानको योजना बनाउनुअघि नै दम्पतीहरु चिकित्सकको परामर्शमा आउनु राम्रो हो । शहरका मानिसहरुमा समेत यसबारे सचेतना देखिँदैन । बिना तयारी गर्भवती हुँदा आमा र शिशुको स्वास्थ्यमा कतिपय अवस्थामा जटिलता देखिन सक्छ । \

स्वास्थ्य परीक्षणपछि आधारभूत प्रक्रिया पुर्‍याएर गर्भवती हुँदा यस्ता जटिलता कम गर्न सकिन्छ । यसकारण सन्तानको योजना बनाउनुअघि आएका दम्पतीहरुलाई हामीले केही महत्वपूर्ण सुझाव दिने गरेका छौँ । शुरुमा हामीले दुवैको हेल्थ हिस्ट्रीबाट उनीहरु र परिवारका सदस्यमा केही समस्या भएनभएको सोधीखोजी गर्छौं  ।

गर्भवती हुनुअघि महिलाको शरीरमा कुनै समस्या रहेछ भने परीक्षणबाटै थाह हुन्छ । परीक्षणका क्रममा महिलामा उच्च रक्तचाप, मधुमेह, थाइराइड, मृगौला या मुटुसम्बन्धी कुनै रोग भए नभएको पत्ता लगाउन सकिन्छ । यस्तो समस्या भए शतर्कता अपनाउन सकिन्छ । यी रोगहरुलाई निर्मूल बनाएर मात्रै सन्तानको योजना राख्न सुझाइन्छ ।

यसैगरी पुरुषको हकमा पन कुनै भित्री रोगहरु छ की या कुनै अन्य रोगहरुको औषधि लिइरहनुभएको छ की भन्ने कुरा मुख्य रहन्छ । यदि दम्पतीले कुनै अन्य रोगहरुको औषधि लिइरहेको, उपचार गराइरहेको अवस्था छ भने रोग निर्मूल बनाएर मात्रै सन्तानको योजना बनाउँदा राम्रो हुन्छ ।

यदि महिला पुरुष दुवैमा केही स्वास्थ्य समस्याहरु छैन भने गर्भवती हुने तीन महिना अघिदेखि नै फोलिक एसिडको सेवन गर्नुपर्छ । जसले बच्चा स्वस्थ जन्मन सहयोग गर्छ ।

सन्तानको तयारीमा रहेकी महिलाको के–के परीक्षण गरिन्छ ?

सर्वप्रथम गर्भवती हुन चाहने महिलाको स्वास्थ्य परीक्षण गरिन्छ । मोटोपन भएकाहरुले तौल घटाएर मात्रै गर्भवती हुन उपयुक्त हुन्छ । किनभने मोटो अवस्थामा गर्भवती हुँदा गर्भ खेर गइरहने सम्भावना रहेकाले तौल घटाउन सल्लाह दिइन्छ । ज्यादा दुब्लो महिलाहरुमा एनिमिया हुन सक्छ । आवश्यक सन्तुलित आहार नपुगेको भए त्यसतर्फ ध्यान दिनुपर्छ ।

त्यस्ता महिलाहरु गर्भवती भएमा बच्चाको तौल कम हुने, महिना नपुगी व्यथा लाग्ने हुन सक्छ । एनिमिया भएका महिलालाई तत्काल गर्भवती हुने योजना नबनाउन चिकित्सकको सल्लाह रहन्छ । तीनदेखि पाँच महिनामा तौल सन्तुलनमा राख्न र त्यसपछि मात्रै गर्भवती बन्न भनिन्छ ।

यस्तै, थाइराइड, डाइबिटिज भएका महिलाहरुको गर्भधारणमा समस्या आउनसक्छ यसकारण आमा बन्नु अगावै पूर्व तयारी र परीक्षण नितान्त आवश्यक छ । अर्को मुख्य कुरा के छ भने महिलामा महिनावारी नियमित भइरहेको छैन । महिनावारीमा गडबडी भइरहेको छ भने पनि गर्भ रहन समस्या हुन्छ । यसकारण परीक्षण आवश्यक छ ।

पहिलो सन्तानको योजना बनाउने उपयुक्त उमेर कुन हो ?

२४ देखि ३०–३२ वर्षको उमेर आमा बन्ने उपयुक्त उमेर हो । किनकी यो उमेरमा महिलामा अण्डा र पुरुषको शुक्रकिट बन्न समस्या हुँदैन । पुरुषहरुमा पनि शुक्रकिटको मात्रामा कमी आउने जस्ता समस्याहरु लगभग हुँदैन ।

एक स्वस्थ महिलाले गर्भधारण पूर्व के–कस्तो तयारी गर्नुपर्छ ?

गर्भवती हुने योजना बनाएका महिलालाई शुरुमा केही सप्लिमेन्ट दिने गरिन्छ । पहिलो त अनिवार्य रुपमा फोलिक एसिड दिइन्छ । गर्भवती हुनुभन्दा तीन महिना अघिदेखि नै यसको सिफारिस गर्ने प्रचलन छ । फोलिक एसिडले बालबालिकामा न्युरोलोजिकल अर्थात् स्नायु सम्बन्धी समस्या हुन नदिन महत्वपूर्ण भूमिका खेल्छ । अर्को भनेको गर्भवती हुनुअघि जीवनशैली सुधार पनि उत्तिकै आवश्यक छ ।

गर्भवती हुने महिलाको मदिरा पिउने, धूमपान गर्ने आदत छ भने त्यसलाई चटक्कै छाड्नु राम्रो हो । कम्तीमा पनि तीन महिनाअघि यस्ता कुलत त्यागेर प्रेग्नेन्सी प्लान गर्नु उचित हुन्छ । कुलत नछाडेकै अवस्थामा गर्भवती भएमा बच्चामा खराबी देखिने सम्भावना रहन्छ । साथै पुरुषहरुले पनि मधपान, धुम्रपान, लागुपदार्थ त्याग्नुपर्छ ।

पछिल्लो पुस्ताका धेरै दम्पतीहरु सन्तान नहुने समस्या भोगिरहेका छन् । आखिर के–कस्ता कारणहरुले गर्भ रहन समस्या हुने गर्छ ?

पहिलो कुरा त महिलाहरुमा महिनावारीमा गडबडी भइरहेको छ । महिनावारी नियमित छैन भने पनि गर्भ रहन समस्या हुनसक्छ । यस्तै, पुरुषको शुक्रकिटमा कमी र कमजोरी छ भने पनि गर्भ रहन समस्या हुन्छ । यसैगरी मद्यपान, धुम्रपानको सेवन गर्ने व्यक्तिहरुमा शुक्रकिट र अण्डाको उत्पादन राम्रो नहुने हुँदा पनि यस्ता समस्याहरु भइरहेका छन् ।

मोटोपनले पनि प्रजनन स्वास्थ्यमा असर पु¥याउँछ भनिन्छ । यो कतिको सत्य हो ?

यो सत्य हो । महिला पुरुष दुवैको हकमा मोटोपनले प्रजनन् स्वास्थ्यमा असर पुर्‍याउन सक्छ । मोटोपनले मेटाबोलिज्म घटाउँछ । शरीर मोटो हुँदा अण्डा र शुक्रकिटको गुण्स्तरमा पनि कमी आउने हुनाले तौल घटाएर मात्रै सन्तानको योजना बनाउँदा राम्रो हुन्छ ।

आमा–बाबु बन्न तयारी अवस्थामा रहेका नवदम्पतीहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

मुख्य कुरा त नवदम्पतीहरुले स्वस्थ जीवनशैली अपनाउन आवश्यक छ । मधपान, धुम्रपान, लागु पदार्थ लगायत निकोटिन भएका चीजहरुको सेवन बन्द गर्नुपर्छ । नियमित व्यायाम गर्ने बानी बसाल्नुपर्छ, शरीरलाई फिट र स्वस्थ बनाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?