भैरहवा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा आज पनि बयान हुने भएको छ ।
मंगलबार करिब पाँच घण्टा भएको बयान आज बिहान १० बजेदेखि सरकारी वकिलको कार्यालयमा पुनः शुरु हुने रुपन्देही प्रहरीले जनाएको छ । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा बयान भइरहेको छ ।
बयान सकिएपछि गएराती लामिछानेलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको थियो ।
मंगलबारको बयानमा लामिछानेले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै यो विषय जीवी राईलाई थाहा भएको र आफूलाई राजनीतिक पूर्वाग्राहले फसाइएको बयानका क्रममा बताएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।
लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।
लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।
प्रहरीले सहकारी ठगी मुद्दामा बढीमा २५ दिन, सङ्गठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धीकरण मुद्दामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया